साढे दुई महिनादेखि खेर गएको न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साढे दुई महिनादेखि खेर गएको न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

लमजुङ । साढे दुई महिनादेखि खेर गएको लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङदी ‘ए’ ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई महिनादेखि खेर गएको थियो । हाल आयोजनाको बिजुली २२० केभी मर्स्याङदी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।

सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठूलीबेसीबाट ताराचोक जाने बाटो ङादी नदी तीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिनेछ ।

आयोजना सम्पन्न गर्न आयोजनाको करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ । भुलभुले-मर्स्याङदी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ । बुटवल पावर कम्पनी (बिपिसी) को ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो ।

कोरोना संक्रमणका कारण लकडाउनका कारण आयोजनाको व्यावसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);