एजेन्सी, ३ चैत। स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक/एक गोल गरे । हुयस्काका लागि राफा मिरले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता २–० को बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा राफाले पेनाल्टीमा गोल गर्दै हुयस्कालाई २–१ को स्थितिमा ल्याए । खेलको ५३ औं मिनेटमा ओस्कारले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४–१ को जित दिलाए ।
जितसँगै बार्सिलोना २७ खेलमा ५९ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको हुयस्का तालिकाको पुछारमा रहेको छ ।