एजेन्सी, ११ फागुन । बेलायतले लामो समयदेखि कायम रहेको लकडाउन क्रमशः खुकुलो बन्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले देशवासीलाई सम्बोधन गर्दै ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् ।
लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी गराइसकेको बीबीसीले जनाएको छ ।
नयाँ घोषणाअनुसार मार्च ८ देखि स्कुलहरु खुलाइनेछ । त्यस्तै, मार्चको २९ देखि पार्क, निजी बगैंचालगायतमा ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइनेछ । टेनिस, बास्केटबल लगायत आउटडोर खेल स्थल पनि सुचारु गरिनेछ ।
अप्रिल १२ देखि सुरु हुने लकडाउन खुला गर्ने दोस्रो चरणमा हाल बन्द रहेका अत्यावश्यकबाहेकका सबै अत्याधिक जमघट हुने व्यवसाय सुचारु हुनेछन् ।
त्यसपछि सर्वसाधारणको अत्याधिक जमघट हुने सार्वजनिक स्थलहरु खुला गरिनेछ । अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ ।
तेस्रो चरणमा मे १७ देखि धेरै व्यवसायहरु खुल्नका साथै सामाजिक सम्पर्क माथिका अधिकांश बन्देज हटाइने भएको छ । यस्तै चौथो चरणमा जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइने बताइएको छ ।