काठमाडाैं, २४ माघ । शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हिमपात सँगै बर्षा भएको छ । उपत्यकामा अपरान्हबाट मौसममा बदली भई बर्षा र हिमपात भएको हो । राजधानीको फुलचोकी, शिवपुरी, चन्द्रागिरि, नगरकोटलगायतका स्थानमा हिउँ परेको छ । हिउँ परेको खबरसँगै हिउँ खेल्न जानेहरुको संख्या बढेको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई विभिन्न स्थानमा वर्षा र हिमपात भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गरेको र सो प्रणालीका कारण शनिबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली आएको महाशाखाले जनाएको छ ।
राजधानीको मौसममा केही दिनयता बदली भएको र गर्मी मौसम सुरु हुन हल्का बर्षा र हिमपात भएको महाशाखाले जनाएको छ । त्यस्तै, काठमाडौं उपत्यका बाहिर मकवानपुरको दामन, नुवाकोट ककनी, म्याग्दी, जुम्ला, काभ्रेमा पनि हिमपात भएको छ ।
केहिदिनसम्म मौसमी बदली हुने भएकाले बालबालिका तथा बृद्घबृद्घाहरुले सचेत रहन मौसमविदहरुले आग्रह गरेका छन् ।