एजेन्सी, २६ पुष । स्पेनमा पछिल्लो ५० वर्षयता भएको सबैभन्दा ठूलो हिमपातका कारण मुलकभर नै जनजिवन अस्त व्यस्त बनेको छ । फिलोमेना नामको आँघि जिब्राल्टरको सामुद्रिक क्षेत्रबाट उत्तरतिर लागेपछि लगातार हिमपात भएको स्पेनको मौसम विज्ञान बिभाग एईएमईटीले जनाएको छ ।
स्पेनका मिडियाहरुले शताब्दीमा नै देखिएको सबैभन्दा खराब हिमपात भनी उल्लेख गरेका छन् । सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको समाचार संस्थाहरुले जनाएका छन् । स्पेनका हवाई उडानलगायत सहरका धेरै सडकहरू बन्द भएका छन् ।
हिमपातका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने सयौं सवारी चालकहरू अलपत्र परेका छन्। राजधानी म्याड्रिड अलवा अल्बासेट, कुएन्का, टोलेडो, गुआडालाजारा, भ्यालेन्सिया, कास्टेलन, तारागोना,टेरुएल र सारगोजामा ८ इन्चसम्म हिउँ जम्ने अनुमान छ ।
मौसमविद्हरुले अझै केही समयसम्म भारी हिमपात हुनसक्ने बताएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकहरूलाई यात्रा नगर्न र आपतकालिन सेवाहरूको निर्देशन अनुसरण गर्न आग्रह गर्नुभएको छ । उहाँले हिउँमा फसेकालाई उद्धारकार्य जारी राखेको बताउनु भएको छ ।