सरकारका क्रियाकलापहरूमाथि महासंघले निगरानी गरिरहेकाे छ : अध्यक्ष शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

सरकारका क्रियाकलापहरूमाथि महासंघले निगरानी गरिरहेकाे छ : अध्यक्ष शर्मा

काठमाडाैं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनैपनि गतिविधि नगर्न चेतावनी दिनुभएको छ । पत्रकारहरू जहिले पनि ‘वाचडग’ को रूपमा रहने उल्लेख गर्दै उहाँले सरकारका क्रियाकलापहरूमाथि महासंघले निगरानी गरिरहेको बताउनुभएको हो ।

सोमवार महासंघको स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि बोल्द उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम कतैबाट भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको हिसावले सशक्त रूपमा उभिने स्पष्ट पार्नुभयो । शर्माले नागरिक अगुवा संस्थाहरूको एलायन्स ‘पाफर्ड’ र नेपाल बार एशोसिएशनसँगको सहकार्यमा महासंघ अगाडि बढ्ने पनि जानकारी दिनुभयो । कतिपय कानूनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानूनहरू आउन लागेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयाे ।

उहाँले सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानून ल्याउन आग्रह गर्नुभयो । पत्रकारको श्रम अधिकारको विषयमा महासंघले कुनैपनि हालतमा ‘कम्प्रोमाइज’ नगर्ने उहाँले बताउनुभयो । हाल धेरै मिडिया हाउसहरू आर्थिक रूपमा धराशायी भएको उल्लेख गर्दै उहाँले राज्यले मिडिया क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघले देशभरका पत्रकारहरूलाई एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दै श्रम अधिकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आफ्नो अभियान जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Leave a Reply