काठमाडौं, ३० मंसिर । पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गर्नुअघि आज क्षमा पूजा गरिदैं छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि बन्द गरिएकोमा पुनः खुला गर्नुपूर्व आज क्षमा पूजा गर्न लागिएको हो ।
आज क्षमापूजा गरिने र बुधबारदेखि स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा क्षमा पूजा हुने कोषको भनाई छ ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराएर दर्शन गराएर त्यही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइने बताइएको छ । मन्दिर बुधबारदेखि खुले पनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन ।