आजबाट रिले अनशन, सोमबारबाट आन्दोलन चर्काउने
काठमाडौं, २८ मंसिर । बिगत वर्षकै उत्पादनको मूल्य नपाएको भन्दै उखु किसानहरुले आन्दोलनको आव्हान गरेका छन् । आज आइतबारबाटै गत बर्षसम्मकै उखुको बक्यौता रकम भुक्तानीको माग राख्दै माईतीघर मण्डलामा उखु किसानहरुले रिले अनसन शुरु गरेका छन् ।
आइतबारदेखि आन्दोलन गर्ने तयारीका साथ उनिहरु बस नै रिजर्भ गरेर उखु किसानहरु काठमाडौंमा ओईरिएका छन् । बिगतकै बर्षहरुको उखु खरिद गरेवापत चिनी मिलहरुले किसानको झण्डै ९० करोड रकम बक्यौता भुक्तानी गरेका छैनन् ।
गत बर्षको पुसमा समेत उखु किसानहरुले काठमाण्डौ केन्द्रित आन्दोलन चलाएका थिए । एक महिनासम्म आन्दोलन चलाएका किसानहरुसँग सरकारले उद्योगबाट रकम असुल गरिदिने सम्झौता गरेपछि घर फर्किएका किसान यतिबेला सरकारले आफुलाई झुक्याएको भन्दै पुनः आन्दनेलनमा उत्रिएका हुन् । उसो त जिल्लामा पटक पटक आन्दोलन गरेपनि सम्झौता अनुसार रकम प्राप्त गर्न नसकेपछि किसानहरुले गत कात्तिक २३ गते उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टलाई भेटेरै ज्ञापनपत्र बुझाएका थिए ।
पछिल्लो समय उखु किसानहरुसँग कुनै राय नै नलिई उखुको उत्पादन लागत नै नउठ्ने गरि सरकारले उखुको समर्थन मुल्य तोकेका कारण पनि उनिहरु सरसँग असन्तुष्ठ थिए । उखु किसानले उखुको समर्थन मुल्य प्रति क्विण्टल न्युनतम रु ६ सय ४४ हुनु पर्ने माग राख्दै आएका भएपनि सरकारले प्रति क्विण्टल रु ५ सय ४४ मात्रै तोके पछि किसानहरु सरकारसँग आक्रोशित छन् ।




