काठमाडौँ, १७ असोज । आफ्नो व्यापार प्रवर्धन गर्नका लागि व्यापारी वा कर्पोरेट हाउसले विभिन्न खालका आर्कषक अफरहरु ल्याउँछन् । एउटा सामान किन्दा अर्को सामान सित्तैमा भन्ने अफरलाई चनौती दिँदै एउटा यस्तो अफर बजारमा आएको छ जुन सुन्दै हर कोहीले जिब्रो टोक्छन । एउटा यस्तो अनौठो अफर आयो घर किन्दा श्रीमती सित्तैमा।
इण्डोनेसियामा घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ । एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषहरुले आफुलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन्।
यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ। तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ।’
विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसँगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ । यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ। जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।
एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ। कतिपयले उनलाई घोचपेच गरेर खिल्ली उडाइरहेका छन् । यो समाचार प्रकाशित भएपछि यस बारेमा सोध्नका लागि आफ्नो घरमा प्रहरी समेत आएको र मान्छेले दिएका प्रतिक्रिया र पत्रकारका व्यवहारबाट आफु दुखी बनेको उनी बताउाछिन् । एजेन्सी