दोलखा, १६ असोज । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखालाका कारण एकजनाको मृत्यु समेत भएको छ ।
गौरीशंकर – ९ सिमीगाउँमा फैलिएको झाडापखालाका कारण आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको हो । गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । बिरामी परेकामध्ये तीनजना सिकिस्त छन् ।
गौरीशंकर गाउँपालिका–९ सिमीगाउँबाट मानिस बिरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए । उनले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र करिव २० जना बिरामी भएको खबर आएकाले स्वास्थ्यकर्मीको टोली पठाइएको बताए ।