एजेन्सी , ७ मंसिर । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल म्याड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल भिल्लाले रियल म्याड्रिडलाई १–१ गोलको बराबरीमा रोकेको हो ।
भिल्लाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा चित्त बुझाएको हो । खेलको दोस्रो मिनेटमा मारीयानो डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई १–१ गोलको बराबरीमा ल्याएका हुन् ।
यसैगरी अर्काे खेलमा बार्सिलाना एटलेटिको म्याड्रिडसंग १–० गोल अन्तरबाट पराजित भएको छ । यान्नीक काररास्कोको एकमात्र गोलसंगै एटलेटिको म्याड्रिडले बार्सिलोनालाई पराजित गरेको हो ।
ला लिगामा रियल सोसिएडाड पहिलो, एटलेटिको म्याड्रिड दोस्रो स्थानमा रहेका छन् । यसैगरी साविक विजेता रियल म्याड्रिड चौंथो स्थानमा रहँदा बार्सिलोना दशौ स्थानमा रहेको छ ।