काठमाडौं, १५ असोज । सरकारी कामको सिलसिलामा महंगा नीजि विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले प्राइसको राजीनामा स्वीकृत गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । साथै जे राइटलाई कार्यवाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको ह्वाइट हाउसले जनाएको छ । कामको सिलसिलामा महंगो यात्रा गरेको भन्दै ट्रम्पको मन्त्रिपरिषद्का अरु तीनजना सदस्य पनि निगरानीमा रहेका छन् ।
गत मे महिनायता २६ वटा नीजि उडान गरेर राज्यकोषको ४ चार लाख डलर खर्च गरेकोमा प्राइसले क्षमायाचनासमेत गरे । यसअघि राष्ट्रपति ट्रम्पले प्राइसबाट आफू ’निराश बनेको’ प्रतिक्रिया दिएका थिए ।