काठमाडाैं,३० कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा शुभकामना सन्देश जारी गर्दै एकता मार्फत् नै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने उल्लेख गर्नुभएको छ ।
जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै उहाँले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गर्नु भएको छ ।
साथै उहाँले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गर्नुभएके छ ।
शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।