कपिल अधिकारी , रुपन्देही, १३ असोज । अस्ट्रिज चरा प्रजातिको सबैभन्दा ठूलो पन्छी हो । अस्ट्रिज अफ्रिकन ओरिजिन जंगली चरा भए पनि यसलाई व्यावसायिक रुपमा पहिलेदेखि नै पाल्न सुरु गरिएको हो । नेपालमा पहिलोपटक अस्ट्रिजपालन सुरु गरेको नेपाल अस्ट्रिज प्रालि, गंगोलियाले अहिले सात हजार अस्ट्रिजहरु पाल्दै आएको छ ।
अस्ट्रिज चरा उड्न सक्दैन तर प्रतिघण्टा ७० देखि ८० किलोमिटर दौडिन सक्छ । रुपन्देहीको गंगोलियामा ०६४ सालदेखि १५ सयवटा अण्डा र केही चल्लाबाट थालिएको यो व्यवसायी अहिले निक्कै फस्टाइसकेको छ । अहिले नेपाल अस्ट्रिचले गंगोलियामा २२ बिघा, सूर्यपुरामा ९० बिघा र दाङमा एक सय ६२ बिघामा व्यावसायिक अस्ट्रिजपालन गर्दै आएको छ । अस्ट्रिचको मासु रातो हुन्छ तर यसमा अरु पशुपन्छी, खसी, राँगा, कुखुरा र माछाहरुमा भन्दा कम कोलस्टेरेल हुने तथा चिल्लो पदार्थ हुँदैन । भिटामिन, मिनरल तत्वहरु प्रशस्त पाइने भएकाले बिरामीले समेत खान सक्ने हुँदा विश्व बजारमा अस्ट्रिजको मासुको माग धेरै छ ।
प्वाँख, छाला, बोसो, अण्डा तथा यसको हड्डी बहुउपयोगी भएकाले पनि अस्ट्रिज साच्चिकै बहुउपयोगी चराको रुपमा लिईन्छ । एउटा बयस्क अस्ट्रिजले दिनमा ५ किलोसम्म अर्थात् २ सय ५० देखि ३ सय रुपैयाँ सम्मको दाना–घाँस खान्छ । नौदेखि १४ महिनाको अस्ट्रिज १ क्विन्टलसम्मको हुन्छ तर व्यावसायिक रुपमा १४ महिनासम्मको अस्ट्रिज उपयुक्त मानिन्छ । नेपाल अस्ट्रिजले फार्मको लगानी अझै वृद्धि गर्दै फार्ममै अस्ट्रिजको स्वाद चखाउने गरी टुरिजमको रुपमा विकास गर्न लागेको बताएको छ । ८० वर्ष आयू र ५० वर्षसम्म उत्पादन दिन सक्नु नै यसको व्यावसायिक आकर्षण भएको व्यवसायी बताउँछन् । नेपाल अस्ट्रिज आफँैले चल्ला उत्पादन गरी आगामी वर्षका लागि हुर्काउँदै गरेको छ । नेपालमा पहिलो पटक सुरु गरेको अस्ट्रिज नेपाल प्रालीले हालसम्म झण्डै तीन अर्व रुपैयाँ लगानी भएको जनाएको छ ।