गोपाल पोखरेल, उदयपुर, १२ असोज । उदयपुरको रौतामाई गाउँपालिकाका रौता, आँपटार, खाँबु, साउने, चिलाउने लगायतका स्थानमा बसोबास गर्ने कृषक तेजपत्ताको व्यावसायिक खेतीमा लागेका छन् । केही वर्ष अघिसम्म खसीबोकाको घाँसको रुपमा मात्रै प्रयोग हुँदै तेजपत्ता कृषकको प्रमुख नगदेबाली बन्दै गएपछि गाउँपालिका कार्यालयले तेजपत्ताखेती विस्तार गर्न कृषकलाई थप प्रोत्साहित गर्ने योजना बनाएको छ ।
अघिल्लो वर्ष प्रतिकिलो १७ रुपैयाँमा बिक्री गरिएकोमा यो वर्ष प्रतिकिलो २२ रुपैयाँसम्ममा बिक्री गरिरहेको कृषक बताउँछन् । हरेक वर्ष मूल्य बढ्दै गएको र बजारको समस्या नभएकाले कृषकले तेजपत्ताको व्यावसायिक खेती व्यापक बनाएका हुन् ।
जंगलमा प्राकृतिक रुपमा उम्रिएको तेजपत्तालाई व्यवसायीकरण गरी अहिले रौतामाई गाउँपालिकाका प्राय सबै कृषकले दुई सयदेखि ५ सय बोट तेजपत्ता रोपेका छन् । यसअघि, परम्परागत रुपमा संकलन गरी बिक्री गर्दै आएका कृषकले गत वर्षदेखि पातको गुणस्तर निर्धारण गरी प्रतिकिलो ३५ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । औषधि र मसलाका लागि बहुउपयोगी मानिने विश्वकै सबैभन्दा उत्तम सिनामोमन तमला जातको तेजपत्तासमेत यो क्षेत्रमा पाइने भएकाले रौतामाई गाउँपालिकाको प्रथम गाउँपरिषद्ले उन्नत जातको तेजपत्ताको बेर्ना तयार गरी कृषकलाई निःशुल्क वितरण गर्ने तयारी गरेको छ ।
उदयपुरमा वार्षिक करिब एक हजार २ सय टन तेजपत्ता उत्पादन हुने गरेको छ । यहाँको तेजपत्ता काठमाडौं, विराटनगर र भारतका विभिन्न क्षेत्रमा निकासी हुने गरेको छ । सडक र यातायातको अभावमा समयमै बजारसम्म ढुवानी गर्न नसक्दा जिल्लाको बाँस्बोटे, ताम्लिछा, बलम्तालगायतका गाविसको तेजपत्ता अझै पनि खेर जाने अवस्थामा रहेको कृषक बताउँछन् ।