एजेन्सी, १९ कार्तिक । मंगलबार राति जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहा र साडियो मानेले समेत एक एक गोल गरे । खेलको १६ औं मिनेटमा जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए ।
उनले ३३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । दोस्रो हाफ सुरु हुने बित्तिकै दोस्रो मिनेटमा सलाहाले लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मानेले लिभरपुलका लागि चौथो गोल गरे ।
५४ औ मिनेटमा जोटाले च्याम्पियन्स लिगमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए । सोही समूहको अर्को खेलमा डच क्लब अजाक्सले एफसी मिडलिजेन्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
समूहमा शीर्ष स्थानको लिभरपुलले ९ अंक जोडेको छ । डच क्लब अजाक्स ४ अंक सहित दोस्रो स्थानमा छ । एटलान्टा समेत समान अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।