एजेन्सी, १८ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स क्वालिफायरमा प्रवेश गरेको छ ।
शेख जायद स्टेडियममा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीको जितमा अजिन्का रहाणेले ६०, शिखर धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७, पृथ्वी शले ९, मार्कुस स्टोनिसले १० र ऋषब पन्तले ८ रन बनाए । बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै एबी डी भिलियर्सले कप्तान विराट कोहलीले २९, शिबम दुबेले १७ र जोस फिलिपेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।
जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा ओगटेको छ ।