एजेन्सी, ११ कार्तिक । युरोपीयन च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज इंग्ल्याण्डको म्यानचेस्टर सिटी र फ्रेन्च क्लब मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ ।
सिटीले समूह चरणको दोस्रो खेलमा मार्सेलीसँग उसैको मैदानमा खेल्नेछ । सिटी र मार्सेलीबीचको खेल नेपाली समयअनुसार राती पौने २ बजे सुरु हुनेछ ।
फ्रान्सेली भूमिमा मैदान उत्रदा सिटी लगातार दोस्रो जित हातपार्ने दाउमा हुनेछ । सिटीले समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३–१ ले हराएको थियो । सिटीविरुद्ध घरेलु मैदान मार्सेभने पहिलो जितको खोजीमा हुनेछ ।
मार्सेली पहिलो खेलमा ग्रिसको ओलम्पियाकोससँग १–० ले पराजित भएको थियो । त्यसैले घरेलु मैदानमा सिटीलाई हराएर मार्से पहिलो अंक जोड्ने प्रयासमा छ । यहि समूहको अर्को खेलमा पोर्चुगालको पोर्टो र ग्रिसको ओलम्पियाकोज बीच खेल हुनेछ ।