काठमाडौं, ६ कार्तिकः बडादशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ ।
आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ । शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ ।
अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् ।