काठमाडाैं, २६ असाेज । नक्कली जग्गाधनी बनेर जग्गा बिक्रीका लागि ५० लाख रुपैयाँ बैना लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललितपुर महानगरपालिका कुसुन्तीका केवल प्रताप जंगबहादुर राणालाई पक्राउ गरेको हो ।
मालपोतको कर्मचारीसँगको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी वीरगञ्जको ५ कठ्ठा १५ धुर ९ कन्वा जग्गा अर्कैलाई बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिएको आरोपमा सीआइबीले पक्राउ गरेको हो ।
राणाले कमलादेवी राजभण्डारीको नाममा पर्साको वीरगञ्ज महानगरपालिका–५ मा रहेको उक्त जग्गा मालपोतका कर्मचारीसमेतको मिलेमतोमा मुकेश राजभण्डारीको नाममा २०७६ फागुन १९ मा राजीनामा पास गराएका थिए । त्यसपछि उक्त जग्गा वीरगञ्ज महानगरपालिका–४ का गिरधारी लाल अग्रवाललाई बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिएको सीआईबीले जनाएको छ ।
राणाले आफ्नो नाम मुकेश राजभण्डारी, उमेर ५० वर्ष र ठेगाना ललितपुर महानगरपालिका ३ कायम गरी ललितपुर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पनि लिएको खुलेको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ। राणा विरुद्ध राजीव राजभण्डारीले लिखत र ठगीसम्बन्धी कसूर मुद्धामा जाहेरी दिएका थिए ।




