मेघौली विमानस्थल प्रयोगविहीन बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

मेघौली विमानस्थल प्रयोगविहीन बन्दै

चितवन, २३ असाेज । चितवन भरतपुरमा रहेको मेघौली विमानस्थल हाल सुनशान छ । हवाइ सेवा संचालन हुन नसक्दा यहाँका भौतिक संरचनाहरुमा माकुराले जालो बुन्न थालेको छ। विमानस्थल गौचरणमा परिवर्तन हुन थालेको छ। एकताका अत्याधिक उडान हुने विमान स्थाल यतिबेला प्रयोगविहीन भएको छ ।

भरतपुरस्थित मेघौली विमानस्थल यतिबेला प्रयोगविहिन् भएको छ । साढे ५ दशकपहिलेदेखि उडान सेवा शुरु भएको मेघौली विमानस्थल यतिबेला सुनशान भएको छ । विसं २०१७ तिर तत्कालीन राजा महेन्द्रले विदेशी पाहुना सहित यही विमानस्थल ओर्लेर शिकार खेल्न आउँने गर्दथे । तर, पर्यटकीय मेघौली क्षेत्रमा २०२२ देखि विमान सेवा संचालनमा आउन थालेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको स्थापना हुनु भन्दा ७ वर्ष अघि २०२२ मा टाईगर टप्स जंगल लजको स्थापना भएसंगै पर्यटक अवागमनका लागि यो विमानस्थल स्थापना भएको हो । २०६२/०६३ पछि परिवर्तित राजनीतिक परिवर्तनले निकुञ्ज भित्रका होटल तथा लजहरु संचालनमा बन्देज लगाइएको हो । राजनीतिक परिवर्तनसंगै यस विमानस्थलको सेवा पनि बन्द भएको हो ।

विमानस्थल बन्द भएसंगै मेघौली लगायत पश्चिम चितवनमा मानवीय चहलपहल छैन । मानवीय चहलपहल नहुँदा पर्यटकीय गतिविधि रोकिएका हुन् । राज्यको करोडौ खर्च गरेर खडा गरिएका विमानस्थलको संरक्षण र त्यसको उपयोगमा राज्य बेखबर छ ।

भरतपुर महानगरको वडा नम्बर २७ मा मेघौली विमानस्थल वर्षाैदेखि अभिभावकविहीन् बन्दै आएको छ। राज्यले आफ्नो सम्पत्तीको उपयोग गर्न सकेको छैन । एउटै स्थानीय तहमा दुई विमानस्थल भरतपुर र मेघौली भएको हुँदा ओझेलमा परेको तर्क पनि गरिदै आएको छ।

यद्यपी घना बस्तीको बिचमा अवस्थित भरतपुर विमानस्थलको विकल्पका रुपमा समेत मेघौली विमानस्थललाई लिने पनि गरिएको छ। तर यसको उपयोगमा कसैको ध्यान पुगेको छैन । उडान सेवाको हिसाबले तुलनात्मक रुपमा यसको बिस्तार गर्नुपर्ने हो । यसतर्फ सबैको ध्यान जानुपर्ने जनप्रतिनिधिहरुको प्रतिक्रिया छ ।

साढे ५ दशक पहिले सेवा दिन शुरु गरेको विमानस्थल क्रमश राज्यको नजरबाट टाढा पर्दै गएको छ। ऐतिहासिक तथा पर्यटकीय महत्वले समेत जोडिएकोले सरकारले विमान स्थल संचालनमा ध्यान दिन आवश्यक छ।

Leave a Reply

ताजा समाचार