भारतप्रति नेपालीको इख कहिल्यै देखिएन, इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन रे !

भारतले नेपाललाई पटक पटक दुःख दिएको छ । यो दुःख सरकारी स्तरमा मात्र सीमित छैन, जनस्तरमा र न्यूनतम समवेदना समेतलाई मर्माहत गर्ने प्रकारले दिइएको छ । समय क्रमसँगै नेपालीहरुको विगत बिर्सिदिने आदतको लाभ नै भन्नुपर्छ, अहिले पनि नेपालीहरु विगतलाई पन्छाएर भारतीयहरुलाई मनग्य लाभ दिइरहेका छन । नेपालीहरुको इखालु स्वभाव वर्तमानमा देखिन छाडेको छ । इख नभएको मान्छे र विष नभएको सर्प उस्तै हो भन्ने पुरानो आख्यान नेपालीहरुमा चरित्रार्थ हुँदै गएको देखिन्छ ।

पटक पटकको नाकाबन्दीदेखि लिएर आफूले खाने भन्छाको सामानमा विषादी छ कि छैन परीक्षण गर्छु भन्न समेत नदिने भारतीयहरुको उत्पादन निर्वाध रुपमा खाइ दिनु नेपालीहरुको लागि दैनिकी नै बनेको छ । तिम्रो देशमा केही पनि फलाउन सक्दैनौ भन्दै, भारतीय संचार माध्यमहरुमा उफ्रिउफ्रि गालीबेइज्जती गरेको देख्दा पनि अहिलेसम्म नेपालीलाई चेत आएको छैन । माग्ने देशका माग्ने जनता भन्दै विभिन्न फोरमहरुमा भनिने शव्दहरु अहिलेसम्म नेपालीले बुझ्न समेत सकेका छैनन् । राष्ट्रियताको लागि बाहुबल लगाउने हामी नेपालीहरुको कथा हाम्रो माइतीघर मण्डलामा सीमित छ ।

यो अभियानको फल के सोचे जस्तो होला ? या कर्म लैनचौर रिझाउन गरिने नित्य कर्म मात्र त होइन ? झण्डा उचालेर उफ्रने अभियन्ताको नाम स्वयंम लैनचौरले नै आफ्नो मान्छे भन्दै प्रकाशमा ल्याउन थालेको छ । यसलाई के भन्ने ? लैनचौरको पेट्रोल हालेर झण्डा बोक्दै मोटरसाइकल ¥याली गर्नेहरु कति राष्ट्रवादी हुन सक्लान ? उनीहरुको अन्तरआत्मा नेपाली मनको छ कि छैन ? कहीं नेपाली झण्डा उनीहरुको मागी खाने भांडो त भइरहेको छैन ? यसले सिंगो समाजलाई नै चुनौती त खडा गरिरहेको छैन, सोचनीय छ । यदि हामी राष्ट्रवादी बन्ने हो भने, हाम्रो गन्तव्य र कर्तव्य अलग हुन जरुरी छ ।

देशभरिबाट करीव दुईसय जनाजति जुझारु मान्छेहरुले संगठित रुपमा कृषिलाई कर्म भूमि ठान्दै व्यवसायिक कृषि प्रणाली अपनाउन सकियो भने झण्डै एक वर्षमा काठमाडौंलाई आत्मनिर्भर गराउन सक्छौं । उत्पादनको प्रचुरतासँगै हामीले सम्बन्धित विभागीय मन्त्रीदेखि सरकारसम्मलाई कामले घेराबन्दी गर्दै आफ्नो बजारमा नियन्त्रण कायम गर्न सक्यौं भने, यो सबैभन्दा ठूलो राष्ट्रवाद हुनसक्छ । हामीले छुटृै पोस्ट खडा गरेर नारायणगढबाट काठमाडौंतर्फ आउने भारतीय तरकारी तथा फुलपूmलको गाडीहरुलाई छिर्न नदिन सक्छौं । देशका विभिन्न भागहरुमा ५ सय रोपनीदेखि एक हजार रोपनीसम्म वा एकसय विगाहदेखि एक हजार विगाहसम्मको जग्गा लिजमा लिइ व्यवसायिक खेती अपनाउँदै एक हजार नागरिकलाई परिचालन गर्न सक्यौ भने ३-४ वर्षमा पूरै नेपाललाई तरकारी र खाद्यन्नमा आत्मनिर्भर बनाउन सकिन्छ ।

हामीलाई विदेशी मल होइन, हाम्रो माटो अनुसारको कम्पोष्ट मल चाहिएको छ । विदेशी किटनाशक औषधि होइन, हाम्रै जडीवुटीको हरबल प्रोडक्टबाट किटनाशक औषधि बनाउन सकिन्छ । जुनसकै व्यवस्था आएपनि, जस्तोसुकै सरकार बनाए पनि, जुन दिनसम्म नेपालीको चेतनामा यो माथि भनिएका कुराहरु घुस्दैन, तबसम्म देश विकास हुँदै हुँदैन । राष्ट्रवादी पनि बनिदैन । हामी धनी पनि हुँदैनौ । हाम्रो खाडीमा जानुपर्ने दैनिकीमा परिवर्तन पनि आउँदैन ।

काठमाडौंका केही ठाउँहरुमा उफ्रेर आफूले केही नगरीकन राजनीतिक नाराकै भरमा देश विकास हुने भए यस्तो अभ्यास हामीले धरेै गरिसक्यौं । आन्दोलनमार्फत पटक पटक राजनीतिक परिवर्तन गरिसक्यौं । १७ हजार मानिस पनि मारिसक्यौं । संसारकै महँगो संविधान पनि ल्याइसक्यौं । घरघरै सांसद र मन्त्री हुने रमाइलो व्यवस्थाको अभ्यास पनि गरिरहेका छौं । प्रत्येक नेपाली २।४ घण्टा भाषण गर्न सक्ने भइसकेका छौं ।

यी सबै बावदूद पनि देश विकास हुन नसक्नु भनेको अर्थतन्त्र उन्मुख हाम्रो सोच बन्न नसक्नु हो । संभावनाको हिसाबले संसारकै धनी देश नेपाल गलत चिन्तन र सोचका कारण संसारकै गरीब मुलुकमा परिणत हुँदा पनि हामी इखालु बन्न नसक्नु वास्तवमा बिडम्बना नै हो । अत्यन्त उर्बर भूमि हामीसँग छ । काम गर्नेलाई पैसाको कमी छैन । सबै बैंकहरु कृषि क्षेत्रमा जान लालायित छन् । संसार हाम्रो अर्गानिक प्रोडक्टको प्रतिक्षामा छ । अर्काको देशमा तारिफ गर्न लायक पसिना बगाउन सक्ने, भन्दै कहलिएका हामी नेपालीको पसिना हाम्रो धर्तिले पाउन सक्यो भने, नेपालको विकासको निमित्त राजनीतिको आशा गर्नु पर्दैन ।

राजनीतिलाई गाली गर्नु भन्दा आफ्नो भूल साधार गर्नु नै सबैको लागि श्रेयस्कर हुन सक्छ । संसारका विकसित देशहरु कुनै न कुनै घटनाको प्रतिशोधसंगै विकसित भएका छन् । नेपालले पनि भारतसँग सकारात्मक प्रतिशोधको बाटो अपनाउन सक्यो भने, विकृति विसंगति आफसेआफ घट्ने छन् । खुराफातिहरु पाखा लाग्ने छन् । आत्मनिर्भर समाज बन्नेछ । देशले काँचुली फेर्नेछ ।

Leave a Reply