ललित सिंह
बझाङ, ८ असोज । कुनै बेला नेपाल र चीनको सिमा जोडिएका नेपालका जिल्लाबाट बर्षातको समयमा सातु लिएर भोट जाने र त्यहाँका स्थानिय खम्पा जातीहरुसंग सातु साटेर ऊन र नुन लिएर फर्किने चलन धेरै पुरानो भै सकेको छ ।
समयक्रम सँगै तकलाकोट संगको यो सम्बन्ध नुन र ऊनमा मात्र सिमित रहेन । अहिले दैनिक ज्यालादारी काम, खाद्यान्न र तरकारी लगायत दैनिक उपभोगका सामाग्री देखी लत्ताकपडा र ठुला ठुला व्यापार व्यवसायका लागि पनि तिब्बतमा नेपाली युवाहरुको आकर्षण बढ्दै गएको देखिन्छ । कोहि आफैँ त कोहि भेडाच्याङग्रा र चौरी मार्फत भारी बोकी राम्रै आम्दानी गरि रहेका छन् ।
बझाङ काँडाका किन्थ्या बोहरा जेठको सुरुमै आफ्ना साथीहरुको साथमा ताक्लाकोट छिरे । तिब्बत स्थित पुराङ जिल्लामा बर्खा भरी मालबाहक गाडी लोड अनलोड गर्ने, ऊन केलाउने, भारी बोक्नेकाम गरेका उनले ४ महिनाको अवधीमा उनले झण्डै २ लाख नेपाली रुपैया कमाएको बताए । दशै र तिहारको लागि असोज पहिलो हप्तातिर उनी नेपाल फकिर्ने तयारीमा रहेको उनकी श्रीमती झिम्की बोहरा बताउँछन् । घर आउँदा दशैका लागि परिवारलाई लत्ताकपडा र केही खाद्यान्न अनि बचेको नगद बोकेरै ल्याउने उनका परिवारहरुको आशा छ ।
गत बर्ष बैशाखको पहिलो हप्ता साथिहरु संग तिब्बत छिरेका हुम्ला डाँडाफयाका जयभक्त शाही संग पनि ताक्लाकोटमा राम्रै कमाई हुने गरेको अनुभव छ । भन्सारमा भारी वारपार गर्ने देखि उनले उच्च हिमालमा फल्ने बाली जौ काट्ने र चुट्ने काम पनि गरे । ५ महिनाको अवधिमा उनले झण्डै ४ लाख नेपाली रुपैया कमाएको सुनाए । खर्च कटाएर प्रतिव्यक्ति ३ दखि ४ लाख सम्म चार महिनाको अवधिमा कमाई सकेका उनीहरुको विगत ४ बर्ष देखि बर्षाको समयमा ताक्लाकोटमा गरेको कमाईले हिउँदमा परिवार पाल्ने गरेको सुनाउँछन ।
विभिन्न भौतिक संरचना निमार्णको कामले तिब्रता पाए संग यो क्षेत्र सिमावर्ती जिल्लाका नेपालीहरुको लागि आर्कषक रोजगारीको केन्द्रका रुपमा विकास भएको छ । नेपाल चीन सिमा क्षेत्रका वासिन्दाका लागि प्रवेश अनुमति पत्रले सिमा क्षेत्र बाट ३० किलोमिटर सम्मको दुरीमा प्रवेश गर्न पाउने भए पछि सो क्षेत्र भित्र हजारौँ नेपाली युवाहरुले काम गरिरहेका छन् । सबै भन्दा बढी हुम्ला, दार्चुला र बझाङ जिल्लाबाट दक्ष र अदक्ष कामदारको रुपमा आउने गरेको पुराङ जिल्ला पब्लिक सेक्युरीटी व्यूरोले जनाएको छ ।
स्थानिय प्रशाशनले प्रत्येक ३ महिनामा नविकरण गर्ने गरि दिइने कामदार अनुमति पत्रको व्यवस्था सहज भएका कारण पनि आफुहरुलाई सजिलो भएको नेपाली कामदारहरु बताउँछन् । एक त भिसा लगाउनु नपर्ने र अर्को पैसा पनि खर्च नहुने हुँदा तिब्बत नेपालीहरुको रोजगारको गन्तव्य बन्दै गएको छ । भनेको काम गर्न मिल्ने र अरु देश जस्तो प्रक्रियागत अप्ठ्यारो पनि नहुने हुदाँ नेपाली युवाहरु आर्कषित हुन थालेका छन् । विदेशको तुलनामा राम्रै कमाई पनि हुने भएकाले ताक्लाकोटको तिब्बत तिर जाने गरेको बझाङ काडा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धार्मीको भनाई छ । दैनिक १ सय २० देखि १ सय ५० युयान (करिब १९ सय देखी २५सय नेपाली रुपैया) भन्दा बढी कमाई हुने र चाहेको बेला घर फर्किन सकिने भएकोले खाडी मुलुक भन्दा ताक्लाकोट कामदारहरुका लागि अति उत्तम रहेको नेपाल चीन उद्योग व्यापार संघका सचिव जगत तामाङले बताए । उनले भने धेरै पैसा खर्च गरेर खाडी मुलुक जानु भन्दा कम पैसा खर्च गरी तिब्बतमा काम गरे खाडीको भन्दा बढी पैसा कमाउन सकिन्छ । मन लागेको समयमा घर आउने जाने गर्दा पनि केहि भिसा लगाउनु पर्दैन ।




