काठमाडौं, ५ भदौ । आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्व । देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका तीजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्नेका रुपमा लिइन्छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसेर तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।
तिजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य बर प्राप्त होस भन्ने कामनाका साथ ब्रत वस्ने गर्छन् । भने कसैले मन शान्तिका लागि ब्रत बस्ने गरेको पाइन्छ । तिजका दिन बिहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेपनि यो वर्ष कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण असर परेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज मनाउन आग्रह गर्नुभएको छ । आज एक शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी चाड मनाउन आग्रह गर्दै यो वर्ष भेटघाट र जमघट गर्न सकिने अवस्था नभएकोले घरमै मनाउन आग्रह गर्नुभएको हो ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुले स्वास्थ्य मापदण्डका नियम पालना गरी सतर्कताका साथ तीज पर्व मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।