काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठक आज बस्दै छ । १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि मिति तोक्दै सर्दै आएको बैठक आज बिहान ११ बजे बनलुवटारमा बस्ने भएको हो ।
पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद कायम भएसँगै अनिर्णयको बन्दी बन्दै आएको स्थायी कमिटी बैठकमा आज पनि यहि बिषयले प्रवेश पाउने आकलन गरिएको छ ।
स्थायी कमिटिी बैठक कसरी संचालन गर्ने भन्ने विषयमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको दाहाल निकट नेताहरुले बैठक नरोक्ने र बहुमतिय आधारमा निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेसँगै आजको बैठकलाई महत्वका साथ हेरिएको छ । यसैबीच स्थायी कमिटी वैठक पूर्व अध्यक्षद्वय ओली र दाहालबीच छलफल हुने जनाइएको छ ।