एजेन्सी, ११ साउन । इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम चरणका १० खेल आज हुँदैछ । आज २० वटा क्लबले अन्तिम खेल खेल्दैछन् ।
लिगको शीर्ष स्थानमा रहने दुई टोलीको टुंगो लागिसकेको भएपनि शीर्ष ४ मा रहने दुई टोलीका लागि आजको खेल महत्वपूर्ण छ । यो सिजनको प्रिमियर लिगको उपाधि भने लिभरपुलले हात पारिसकेको छ ।
शीर्ष ४ को दुई स्थानका लागि म्यान्चेष्टर युनाइटेड, चेल्सी र लेस्टर सिटी प्रतिष्पर्धामा छन् । आजको खेलले रेलिगेसनमा पर्ने तेस्रो टिमको पनि टुंगो लगाउनेछ । अहिले तेस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडले पाँचौं स्थानको लेस्टर सिटीसँग प्रतिष्पर्धा गर्दैछ । यदी लेस्टरलाई हराएमा म्यान्चेष्टर युनाइटेड र चेल्सी स्वत शीर्ष चारमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनेछन् ।
चेल्सीले उल्भरह्याम्टन वान्डरर्ससँग खेल्दैछ । उल्भ्स ५९ अंकसहित छैटौं स्थानमा छ । यदी म्यान्चेष्टर युनाइटेड र चेल्सी दुबै आफ्नो खेलमा पराजित भएमा लेस्टर सिटी च्याम्पियन्स लिगमा स्थान बनाउनेछ भने चेल्सी युरोपा लिगमा सिमित हुनेछ । प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ देखि शुरुहुने छ भने खेल २०२१ को मे २३ मा सकिने छ ।
प्रिमियर लिगको उपाधिको छिनोफानो भइसकेको अवस्थामा अहिले सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट कसले पाउछ भन्नेमा सबैको चासो रहेको छ ।
गोल्डेन बुटको दौडमा यस सिजन लेष्टर सिटीका फरवार्ड जेमी भार्डी शीर्षमा रहेका छन् । भार्डीले यस सिजन २३ गोल गरिसकेका छन् । त्यसैले उनलाई सर्वाधिक बलियो दाबेदार मानिएको छ ।




