एजेन्सी, ११ साउन । उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ । दक्षिण कोरियासंगको सीमावर्ती केसाङ सहरमा एक जना कोरोना संक्रमित व्यक्ति भेटिएका उत्तर कोरियाली संचारमाध्यमले जनाएका छन् ।
कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले शीर्ष अधिकारीहरुको आकस्मिक बैठक बोलाएर उक्त शहरमा स्वास्थ्य आपतकाल घोषणा गर्दै लकडाउन गर्न निर्देशन दिनुभएको जनाइएको छ । संक्रमण पुष्टि भएपछि ती व्यक्तिलाई क्वारेन्टीनमा राखिएको छ ।
तीन वर्ष अघि दक्षिण कोरिया गएका ती व्यक्ति यही जुलाई १९ मा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाको केन्द्रीय अनुसन्धान ब्यूरोले संक्रमितको अवैध प्रवेशबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि त्यहाँ कोरोनाका कुनै घटनाहरू नभएको बताउँदै आएको थियो । तर विश्लेषकहरूले भने त्यस्तो सम्भव नहुने बताउँदै आएका छन ।
शासक किमले पनि कोरोनासंग जुझ्ने मामिलामा आफ्नो देशले ’प्रशंसायोग्य सफलता’ हासिल गरेको दाबी गर्दै आउनुभएको थियो । किमले संक्रमितलाई उत्तर कोरिया प्रवेश गर्न दिने अधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको जनाइएको छ ।