काठमाडौं, १० साउन । राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनुपर्ने पर्ने आवाज फेरी एक पटक उठेको छ ।
वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको तथा वि.स. २०७६ साल जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घान गर्नुभएको गणतन्त्र स्मारक र निर्माणको क्रममा रहेको गणतन्त्र संग्रहालय नारायणहिटीबाट हटाउनुपर्ने आवाज सत्तारुढ दलभित्रैबाट उठेको हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताउनभुयो । नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भएपनि गलत तरिकाले बनाइएको उहाँको भनाई छ । राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाएर अन्य ठाउँमा निर्माण गर्नुपर्ने नेता नेपालको भनाई छ ।
पटक पटक गणतन्त्र स्मारक हटाउनुपर्ने धारणा राख्दै आउनुभएका नेता नेपालले बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताउनुभयो । नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पुरानो जग देखिने गरी विकास गर्नुपर्ने धारणा उहाँको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले भन्नुभयो, ‘‘गणतन्त्र स्मारक त्यहाँ राख्नु उपयुक्त छैन । त्यसका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ, गणतन्त्र संग्रहालय । जसमा जनताको आन्दोलन र सामाजिक आन्दोलन देखि लिएर सबै कुरा बेग्लै किसिमको संग्रहालय गणतन्त्र आइसकेपछिको नेपालले बनाउनुपर्छ । नारायणहिटीलाई राजा महाराजले पुरानो इतिहासको सम्पूर्ण झलक देखिने गरी बनाउनुपर्छ । त्यहाँ अरु कुनै कुराहरु गर्नुहुँदैन ।’’