मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध, सयौं यात्रु अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध, सयौं यात्रु अलपत्र

काठमाडौं, ७ साउन । अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध हुँदा दर्जनौं सवारी साधन र सयौं यात्रु अलपत्र परेका छन् ।

बाग्लुङ नगरपालिका–३ बोक्सेमा पहिरो जाँदा मङ्गलबार रातिदेखि लोकमार्गमा सवारी आवातजावत ठप्प छ । लोकमार्ग अवरुद्ध हुँदा बाग्लुङको पश्चिम क्षेत्रका साथै गुल्मी र रुकुम हिँडेका पैदल यात्रु अलपत्र परेका छन् ।

बाग्लुङका टीका काउचाले बाटो पूरै बेहाल रहेको बताउनुभयो। ‘बाटोको पूरै बेहाल छ’, उहाँले भन्नुभयो, ‘प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीहरू यहीँ छन्, आँखै अगाडि यस्तो बाटो हुँदा पनि चासो छैन।’

बाग्लुङ हुँदै पश्चिम रुकुमसम्म पुग्ने सवारी आवागमनमा समस्या उत्पन्न भएर सयौँ सवारी साधन र यात्रुको बिचल्ली भएको छ ।

‘हामी बिहान ५ बजे आएका हौं, यत्रो बेर यहीँ छौ’, एक जना चालकले भने, ‘तर, बाटो मर्मत गर्न जेसीभी आउने कुरो छैन, मान्छे अपलत्र परेका छन् र खाना खान पाएका छैनन्।’

पहिरोले बाटो अवरुद्ध हुँदा कोरोनाका विरामी बोकेको एम्बुलेन्ससमेत रोकिएको छ । सानो स्काभेटरले पहिरो पन्छाउन सम्भब नभएपछि डोजर पठाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जनाएको छ ।