समृद्धिको सपना : भाँडभैलोको राजनीति (भिडियोसहित)

सम्पादकिय
काठमाडौं, ३ साउन । झण्डै दुुइ तिहाइको जनमत सहित सत्तारुढ नेकपा विवादको भूमरीमा फस्न जाँदा देशले जुन दुर्गति भोग्नु परिरहेको छ, अब यो पार्टीले जनता माझ ठुलो राजनीतिक मूल्य चुकाउनु पर्ने निश्चित छ । जनताले यसको हिसाब राखेका छन, राख्ने नै छन् । प्रजातन्त्रमा प्रतिपक्षको भूमिकालाई पनि जनताले महत्वका साथ हेरिरहेका हुन्छन, प्रतिपक्ष सधैभरि सत्तापक्षको बैकल्पिक शक्ति हुने भएकोले पनि, जनताको चासोको केन्द्र भन्दा बाहिर उनीहरु पनि हुदैनन । तर विडम्वना, यतिखेर नेपालको राजनीतिक वृत्तका यी दुबै शक्तिहरु जनताको आखाँमा निकम्मा सावित हुँदैछन् ।

प्रतिपक्ष नेपाली काँग्रेस पनि जनताको दरिलो भरोसाको केन्द्र बन्नेतर्फ अघि बढनु त कुरै छोडिदिउँ, सामान्य सोच पनि बन्न सकेको छैन । सत्तारुढ दल भित्रको खिचातानी र अकर्मण्यताको अवस्थालाई प्रतिपक्षी दलले आफ्नो लागि उर्वर अवस्था मान्न सक्नुपर्ने हो । हरेक कारणबाट जनतालाई साथ दिंदै जनताको ध्यान आफूतर्फ आकृष्ट गर्न सक्नुपर्ने हो ।

हरेक क्षेत्रमा भएको विकार र विकृती बाट पीडित जनताहरुलाई एकीकृत गर्दै उनीहरुको पिडामा मलम पट्टी लगाउनु पर्ने हो , जनआवाजलाई मुखरित गर्नको निमित्त उनीहरुको साथमा आफुरहेको आभाष दिलाउन सक्नुपर्ने हो । तर विडम्वना, यी सबै कुराहरुतर्फ सोच्नुत कहाँ हो कहाँ सत्तापक्ष जस्तै प्रतिपक्ष पनि आफ्नै दल भित्रको बुडयौली समस्या र खिचातानी मै समय बिताइरहेको छ ।

मूलत सत्तापक्ष र प्रतिपक्षका दश बाह् जना वृद्ध नेताहरुको चक्रव्यूहमा फसेको नेपालको राजनीति यतिसम्म विकृत हुँदै गएको छ ,कि यिनीहरुकै कारण जनतामा प्रजातन्त्रप्रति नै वितृष्ण पैदा भएको छ । नीति र सिद्धान्तलाई पन्छ्याउँदै इगो र प्रतिष्ठाको उल्झनमा फसेका दुुबै खलका दश बाह् जना वृद्धहरुले प्रजातन्त्रको लागि जतिसुकै योगदान गरेको भनेर डंका पिटे पनि जनताले अहिले निराशा भोगिरहेका छन् । उनीहरुको त्रियाकलाप देखेर यी नेताहरुलाई प्रजातन्त्रकै विकृतिको रुपमा लिनुपर्ने अवस्था आएको छ ।

देशमा आफून्दा योग्य कोही नदेख्ने र आफूले फटाएको भोटो नै नेतृत्व तहमा रहनको निमित्त मुख्य योग्यता मान्ने यी नेताहरुको अगाडि, दोस्रो र तेस्रो पुुष्ताका युवा नेताहरु निरीह देखिन्छन् । संसारका विकसित देशहरु युवाले हाँकिरहेको देख्ने नेपालीहरुको लागि भने वृद्ध विरासत नै काँधमा बोकेर हिडनुपर्ने अवस्था छ । गतिशील राजनीतिले गतिशील समाज निर्माण गर्दछ । गतिशील समाजले विकासको नेतृत्व गर्दछ । विकास सहितको गतिशील समाजले नेता र नेतृत्व दिने गर्दछ । तर नेपालको राजनीतिमा यो केवल सपना मात्र हुन सक्छ ।

पक्ष र विपक्षको भूमिकाबाट निरन्तर निराश जनताहरुको अगाडि अब के गर्ने भन्ने, विकल्प खोज्नु बाहेक अरु कुनै उपाय छैन । जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान रटान गर्दै निराश जनताले व्यवस्थाकै विकल्प खोजे भने, त्यसपछिको राजनीति कस्तो होला? सधैंभरि राजनीतिमा मात्र सबैको ध्यान रहन गयो भने, विकासबारे सोच्ने कहिले होला ? जनताको जनजीविकासँग सम्बन्धित थुुप्रै सवालहरुमा कहिले बहस होला ?

त्यसैले वर्तमान राजनीतिका वृद्ध पुुस्ताहरुले आ-आफनो मुुल्यांनकन स्वंयम गर्दे आफू निवृत्त हुने तर्फ सोच्नु आवस्यक छ । सहज तरिकाबाट नेतृत्व दोस्रो वा तेस्रो पुुस्तामा हस्तान्तरण गर्नु नै आजको जनचाहाना र राजनीतिक निकास हुन सक्छ । समयमै सोचौँ, जनचाहानाको राजनीति गरौं । भाँडभैलोको राजनीतिले समृद्धिको सपना पूरा गर्दैन ।