काठमाडौं, ३१, असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वीस बैंकमा प्रम ओलीको ५.५ मिलियन अमेरिकी डलर रहेको भन्ने कुरा शतप्रतिशत गलत र कपोकल्पित रहेको बताउनु भएकाे छ।
तथ्यहीन सामग्रीहरूलाई आधार मान्दै केही नेपाली अनलाइनले समाचार बनाएर जनतामा भ्रम छर्न खोजेको र प्रम ओलीको बद्नाम गर्न उद्धत रहेको थापाले टिप्पणी गर्नुभयाे।
‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारपूर्ण र बद्नियतका साथ गरिरहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूटो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ थापाद्दारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
उहाँले प्रम ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको भन्दै समाचार सम्प्रेषण गरेका सञ्चारमाध्यमहरूको रबैया खेदजनक रहेको उल्लेख गर्नुभयाे।
राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्द नयाँ नक्सा प्रकाशनदेखि सर्वसहमत रूपमा संविधान संशोधन गरेर राष्ट्रलाई एकताबद्ध गर्दै राष्ट्रको नेतृत्व गरिरहेको संवेदनशील बेलामा बद्नाम गराउन सुनियोजित षड्यन्त्र भएको थापाको भनाई छ।
‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु’ थापाले भन्नु भएकाे छ।