उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ बर्षिय बिकाश राई रहेका छन् । दुर्घटनामा परी गम्भिर घाईते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
समाचार
लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने माली पक्राउ
काठमाडौं । लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा चन्द्रागिरीका मुकेश मालीलाई पक्राउ गरेको हो ।
प्रहरी बृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित मालीलाई नियन्त्रणमा लिएको हो ।
मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका–१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । कैलालीको टिकापुर नगरपालिका–८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
श्रीमतीको हत्या गरेको अभियोगमा कुमाल पक्राउ
गुल्मी । आफ्नै श्रीमती हत्या गरेको आरोपमा गुल्मीको मुसिकोट नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाल पक्राउ परेका छन् । ४० वर्षीया तालकुमारी कुमालको हत्या गरेको अभियोगमा कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सूर्यकुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सूर्यकुमारलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगले ९ कात्तिकमा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गर्ने
काठमाडौं। निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ ।प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिका अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाश गरिने भएको छ । यस्तै, आयोगले उम्मेवारको अन्तिम बन्दसूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउने छ ।
आयोगले गत १६ असोजमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची बुझाउने मिति तोको थियो । त्यसपछि पनि आयोगले बन्दसूचीमा भएका नाम सच्याउन, उम्मेदवारी फिर्ता लिन, उम्मेदवार विरुद्ध परेको दाबीविरोधको निरुपणलगायतका काम गर्दै आएको छ ।
शिर्ष नेताबाटै निर्वाचन आचारसंहित उल्लंघन, आयोगले दुई जना पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई सोध्यो स्पष्टीकरण
काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको । आयोगले स्पटीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरु छन् । स्पष्टीकरण सोधेकामध्ये दुई जना त प्रधानमन्त्री भइसकेका र पार्टीको अध्यक्ष समेत रहेका व्यक्ति छन् । आयोगले बिहीबार मात्र ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधक कुमार नेपाललाई स्पष्टीकरण सोधेको थियो । प्रतिनिधि सभा सदस्य रौतहट क्षेत्र नं. १ का उम्मेदवार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो । ‘बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमे तालिम मिल्ते हें’ भनी नेपालले दिएको सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ उल्लेख छ । उक्त व्यवस्थाको उलंघन हुने गरी कुनै कार्य भएमा उम्मेदवारको हकमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ उपदफा (३) बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र ऐनको उपदफा (४) बमोजिम उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको आयोगले पत्र मार्फत नेपाललाई स्मरण गराएको छ । सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्रसमेत पठाएको छ । आयोगले यसअघि निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि स्पटीकरण सोधेको थियो । गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ मा प्रचण्ड बाजागाजसहित उम्मेदवारी दर्ता गर्न गएपछि आयोगले उनीसँग स्पष्टीकरण सोधेको थियो । पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टी नेपालका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई पनि आयोगले आचारसंहिता उल्लंघन गरेको विषयमा स्पटीकरण सोधिसकेको छ । यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालग्राम शर्मा पौडेलेले बताएका छन् ।
पौडेलका अनुसार राजनीतिक दलको निर्वाचन चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचार प्रसार गर्ने राजनीतिक दलका उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ । हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुने तर्फ काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (ख)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका सर्लाही क्षेत्र नं. २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगाना रहेका छन् । निर्वाचन आयोगले पर्वत जिल्लाको श्री वाल प्रथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई पनि चौबिस घण्टे स्पष्टीकरण सोधेका छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा सामाजिक सञ्जाल फेसबुक पेजमा प्रचार प्रसार गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो । यस्तै आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी भएको आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थाने कार्य गरेको भन्दै स्पष्टीकरण माग गरेको थियो । राष्ट्रिय स्वतत्र पार्टीका प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घन्टी निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको विषयमा आयोगले चौबिस घण्टे स्पष्टीकरण सोधेको थियो ।काठमाडौ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका पुकार बमले नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्नेक्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अंकित टिशर्ट लगाएको भन्दै उजुरी परेपछि आयोगले उनलाई पनि स्पष्टीकरण सोधेको थियो । आयोगले काठमाडौँ महानगरपालिकाका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै चौबिस घण्टे स्पटीकरण सोधेको छ । वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपनि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार एवं नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठसँग पनि चौबिस घण्टे स्पष्टीकरण माग गरेको छ । उम्मेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएकोसम्बन्धमा निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफँै वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्न उनलाई आयोगले भनेको छ ।
सत्तागठबनन्धनको चुनावी अभियान सुरु, आज पोखरा र बुटवलमा कार्यक्रम

कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य छैन : पृथ्वीसुब्बा गुरुङ
लमजुङ। एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताएका छन् । एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उमेद्वारलाई जिताउने कि एमालेका उमेद्वारलाई जिताउने भनी सोचविचार गरेर मात्र लमजुङे जनताले मतदान गर्नुपर्ने बताए ।एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न सूर्यमा मतदान गर्न उनले आग्रह गरे । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई एमालेले सदैव पालना गर्दै आएको उनकाे भनाइ थियाे ।गठबन्धन सरकारले देशको विकासका निम्ति कुनै उल्लेखनीय काम गर्न नसकेको र एमाले सरकारमा हुँदा ल्याएको विकास र नीतिलाई समेत उल्लंघन गरेको भन्दै कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको उनले आराेप लगाए । भविष्य नभएको पार्टीमा लागेर कुनै काम नहुने उनले बताए ।
आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा गण्डकी प्रदेश उज्यालो अभियान, एक घर एक धारा, सडकको अभियानलाई अघि बढाएर विकासलाई तीव्र पारे पनि गठबन्धनको सरकारले सवै अभियानलाई ध्वस्त पारेकाले विकासका कार्य अधूरा रहेको उनकाे दाबी थियाे ।
लमजुङमा सत्तागठबन्धनबाट माओवादी महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
गोरखा २ (क) का उम्मेदवार फणिन्द्र देवकोटाका यस्ता छन् संकल्प
काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) बाट गोरखा २ (क) का प्रदेशसभा उम्मेदवार फणिन्द्र देवकोटाले जिल्लाको विकास तथा पूर्वाधारका लागि आफ्ना प्रतिबद्धताहरू अघि सारेका छन् ।पार्टीको निर्णयअनुसार माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावी अभियानमा सक्रिय देवकोटाले गोरखाको विकासका लागि सडक, पर्यटन, खेलकुद, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, सिँचाइजस्ता पूर्वाधारमा जोड दिएका छन् ।डा.बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री रहँदा उनको सचिवालयको नेतृत्व गर्दै गोरखाको समृद्धिका लागि क्रियाशील रहेका देवकोटाले तीन दशकको कानुनी, राजनीतिक र प्रशासनिक कार्यानुभवको आधारमा जनताले दिएको जिम्मेवारी कुशल र इमान्दारितापूर्वक निर्वाह गर्ने विश्वास सम्पूर्ण मतदातामा व्यक्त गरेका छन् ।देवकोटाले गोरखाको सडक सञ्जाल तथा यातायातमा बढी जोड दिएका छन् । यातायात सुविधा नै विकास र समृद्धिको पहिलो आधार भन्ने तथ्यलाई मध्यनजर राखी आफूले अघि सारेका योजनालाई प्रदेश सरकारको सहयोग र स्थानीय सरकारसँगको समन्वयमा अगाडि बढाउने वाचा गरेका छन् । उनी भन्छन्, ‘पन्थडीहि–कटहरे–हर्मी–साइंलीटार सडकको कालोपत्रे गराउने कार्य सम्पन्न नहुन्जेल संघको सरकारलाई ताकेता गरिरहनेछु । दुधपोखरी सडक निर्माण कार्यलाई अगाडि बढाउन लाग्नेछु । गोरखा र पालुङटार नगरपलिकाका सबै वडा कार्यालयलाई सम्बन्धित नगरपालिकासँग कालोपत्रे सडकले जोडने कार्यमा लाग्नेछु ।’पालुङटार रिङरोड योजनालाई अगाडि बढाउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् । पालुङटार विमानस्थललाई स्तरोन्नति गरी यथाशीघ्र कम्तीमा पनि काठमाडौं, पोखरा र भरतपुरसँग उडान भर्न लगाउने कार्यको पहल गर्ने देवकोटाले बताए । अहिले पनि विमानस्थल स्तरोन्नतिको काम भइरहेको छ । उनले गोरखाको पर्यटन प्रबद्र्धनलाई मुख्य योजनाको रूपमा अघि सार्दै त्यसका लागि लिगलिगकोट, देवकोट, बुढीकोटी जस्ता कोटहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताएका छन् ।पालुङटार र गोरखा नगरपालिका भित्रका भूलभुलेखार जस्ता तातोपानी निस्कने स्थानमा तातोपानी कुण्ड निर्माणकार्य सम्पन्न गर्ने, तालपोखरी, शिखरबेसी ताल, दरौँदीलगायत अन्य ताल–तलाउहरूलाई आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्ने प्रकृतिका ताल–तलैया बनाउने कार्यमा लाग्ने बताउँदै देवकोटाले त्यसबाट सिँचाइलगायतका कार्यहरूसमेत गर्न सकिने बताएका छन् । गण्डकी प्रदेशसभा उम्मेदवार देवकोटाले मठ, मन्दिर, गुम्बा जस्ता धार्मिक स्थलहरूको स्तरोन्नति गर्ने कार्यमा पनि आफूले ध्यान दिने बताएका छन् । नेता देवकोटाले गोरखाका माथिका पर्यटकीय स्थलहरूलाई गोरखा बजार–मनकामना–लखन थापा÷भीमसेन थापा÷काजी कालु पाँडे जन्मस्थलहरू जस्ता अन्य पर्यटकीय स्थलहरूसँग जोडी एक गोरखा जिल्लाको दक्षिण भेगीय पर्यटकीय हब बनाउने बताए । उनले यसरी पर्यटन प्रबद्र्धन गर्दा रोजगारी र आयआर्जन हुने बताए । उनले सम्बन्धित ठाउँहरूमा होमस्टेका सुविधा विकास गरी आर्थिक आयआर्जनमासमेत सहयोग पुग्ने कार्यहरूमा यथेष्ट ध्यान दिने प्रतिबद्धता जनाएका छन् । पालुङटारको क्षेत्रीय रंगशालालाई प्राथमिकतामा राखेर पूर्णता दिने प्रतिबद्धता देवकोटाको छ । साथै भट्टबेसीको खेलकुद मैदान निर्माण कार्य सम्पन्न गर्न गर्ने बताउँदै छेपेटारमा रहेको रंगशालालाई एकेडमीको रूपमा विकास गर्ने बताएका छन् ।प्रदेश सभा २ (क) का धेरैजसो बस्तीमा खानेपानीको समस्या भएको बताउँदै नेता देवकोटाले चेपे नदीबाट लिफ्ट खानेपानी योजनालाई सम्बन्धित निकायमा समन्वय गरी यथाशीघ्र सम्पन्न गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘नेवारे खानेपानी योजना, छेपेटार–सातदोवाटो खानेपानी योजना लगायतलाई अगाडि बढाउनेछु । स्वच्छ खानेपानी सबैको मौलिक अधिकार भएकोले अन्यत्रका गाउँवस्तीहरूमा त्यहाँको स्थिति हेरेर खानेपानी योजनाहरूको निर्माण गर्ने कार्यमा प्राथमिकताका साथ लाग्नेछु।’ गोरखा २ (क) निर्वाचन क्षेत्र कृषि उब्जनीको लागि पनि उर्वर भूमि हो । कृषकहरूले कृषि उत्पादनका लागि सिँचाइको समस्या भोग्नुपरेको छ । देवकोटाले सिँचाइका लागि आफूले सक्दो पहल गरिरहेको र चुनाव जितेपछि काम गर्न सहज हुने भन्दै छेपेटार–कुन्दुरटार सिँचाइ योजना यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने बताए । उनले थप भने, ‘आवश्यकताअनुसार कृषियोग्य भूमिमा सिँचाइको व्यवस्था मिलाउन लागिपर्नेछु ।’ लामो समय विद्यार्थी नेताको रूपमा रही राजनीति गरेका देवकोटाले शिक्षा तथा स्वास्थ्य विकास सम्बन्धमा आफूले गर्ने कामहरू पनि अघि सारेका छन् । उनले प्राविधिक र व्यावहारिक शिक्षा सरकारी स्कुलमा व्यवस्था गर्न स्थानीय तहका लागि प्रादेशिक सहयोग जुटाउने बताउँदै शैक्षिक सशक्तीकरण कार्यक्रममार्फत प्रत्येक तीन वर्षमा एकपटक भाग लिन पाउने गरी सबै शिक्षकका लागि पढाइका विषयवस्तुमा पुनर्ताजगी, अध्ययन अध्यापनमा आधुनिक प्रविधिहरूको प्रयोग, प्रभावकारी कक्षा सञ्चालन विधि, ई–टेक्नोलोजीको प्रयोग जस्ता विषयहरूमा क्षमता अभिवृद्धि हुने तालिमका कार्यक्रमहरूका लागि प्रादेशिक सहयोग जुटाउने पनि बताए ।
प्रदेश सभा (क) मा स्वास्थ्य समस्या रहेको बताउँदै नेता देवकोटाले आँपपीपल तथा गोरखा अस्पातालको स्तरोन्नतिका लागि प्रादेशिक सरकारको सहयोगजुटाउने र विभिन्न स्थानमा रहेका स्वास्थ्य सस्थाहरूको स्तरोन्नतिको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
गण्डकी प्रदेश सरकारका तर्फबाट गोरखा २ (क) मा थालिएका जनहितका विकास निर्माणका कार्यक्रमहरूलाई निरन्तरता दिई यथाशीघ्र सम्पन्न गर्ने देवकोटाले बताएका छन् । उनले पालुङटार तथा गोरखा नगरपालिकाहरूले थालेका जनहितका विकास निर्माणका कार्यक्रमलाई निरन्तरता दिने तथा प्रदेश सरकारबाट यथासम्भव सहयोग बढाउने कार्यमा लाग्ने पनि बताए ।
यो निर्वाचन क्षेत्रमा एक अन्तर्राष्ट्रियस्तरको नेसनल टेक्निकल इन्स्टिच्युट स्थापना गर्न र च्याङ्लि÷धुवाँकोटमा विशेष आर्थिक क्षेत्रका कामकारबाही अगाडि बढाउन लागिपर्ने, एकीकृत मस्र्याङ्दी करिडोर विकास योजनालाई प्रादेशिक गौरवको योजनामा राखी अगाडि बढाउन आफ्नो विशेष प्रयास हुने देवकोटाले बताएका छन् ।
तिहारकाे मुखमै सुनको भाउ घट्यो, चाँदी स्थिर
काठमाडौं। नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीबार जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
तिहार सुनचाँदी किनबेच हुने मुख्य सिजन हाे । बेच्ने भन्दा पनि मानिसहरूले तिहारका बेला सुन, असर्फी किनेर राख्ने गरेका छन् । विगतमा तिहारका बेला सुनचाँदीकाे भाउमा वृद्धि हुने गरेकाे थियाे । तर यसपटक भने आर्थिक तरलताले संकट निम्त्याएकाे छ ।
बारा र पर्सामा २०७० र ०७४ का कट्टर प्रतिस्पर्धीहरू अहिलेका सहयात्री
श्याम गुप्ता बारा । गत २०७० र ०७४ सालको निर्वाचनमा एमाले नेता विचारी यादव र जनता समाजवादी पार्टीका नेता प्रदिप यादव बिच कडा ठक्कर थियो । एक–अर्का लक्षित त चर्को भाषणका कारण दुई बिच मनमुटाव पनि चर्कै थिए । तर, यस पटकको निर्वाचन सम्म आइ पुग्दा भने दुई बिचको तिक्ततामा राँटा बसेको छ । दुई एक–अर्काका कट्टर सहयात्री बन्न पुगेका हुँन् ।
एमाले र जसपा बिच भएको चुनावी तालमेलले दुई धारका अलग यात्रीलाई एकै ठाउँ ल्याउँन सकेको हो । २०७० को संविधानसभा निर्वाचनमा विचारी पर्सा क्षेत्र नम्बर २ बाट एमाले तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार थिए । ठिक सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए, जसपा (तत्कालीन संघीय समाजवादी फोरम) नेता प्रदिप । विचारीले आठ हजार सात सय १४ मत ल्याए र निर्वाचन जितेका थिए । तर, ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने जनमत उनको पक्षमा रहेन । पर्सा क्षेत्र नम्बर १ बाट चुनावमा उठेका उनी प्रदिपसँगै हारेका थिए । अहिले भने उनीहरूलाई परिस्थितिले एकै ठाउँ उभ्याइ दिएको छ ।
निर्वाचनमा विचारी पर्सा १ (क) बाट प्रदेश सभा सदस्यमा उठेका छन्, भने प्रदिप पर्सा १ बाटै प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका छन् । विचारी भन्छन्, ‘हामी दुबै अनुभवी नेता हौं । अहिले एकै ठाउँमा छौं । मैंले मेरो प्रतिस्पर्धी नैं देखेको छैन । प्रदिपको अवस्था पनि त्यस्तै छ । त्यसो हुँदा यस पटक दुबै जना जित्ने अवस्था छौं ।’ उनले भने । प्रतिनिधिसभा उम्मेदवार प्रदिपको मत पनि उनको भन्दा फरक छैन । पर्सा १ मा यस पटक आफ्नों प्रतिस्पर्धी नैं नरहेको उनी ठान्छन् । उनी भन्छन्, ‘मेरो प्रतिस्पर्धी अहिले कोही छैन । जिल्लाका विचारी र मँ अनुभवी नेता हौं ।
हामी दुबै एकै डुङ्गाका यात्री भएको हुँदा यस पटक दुबैले चुनाव जित्नेमा विश्वस्त छु ।’ ०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रदिपले ६ हजार सात सय ११ मत ल्याएका थिए । तर, ०७४ को निर्वाचनमा उनले २१ हजार एक सय ३२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अनिल रुँगटाले १६ हजार चार सय ८१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार विचारीले भने पाँच हजार चार सय ८१ मात्रै मत प्राप्त गरेका थिए । त्यस्तै पर्सा १ मा झैं बारा ४ मा पनि विगत निर्वाचनका कडा प्रतिस्पर्धी एमाले उम्मेदवार देवनारायण चौधरी र एकवाल मियाँ एकै डुङ्गाका दुई सहयात्री बन्न पुगेका छन् । तर, प्रसंग भने अलि भिन्न छ । पार्सा १ मा एमालेका विचारी र जसपा नेता प्रदिप चुनावी तालमेलका कारण एकै ठाउँमा उभिएका छन् । तर, बारा ४ मा भने पार्टी प्रवेश पछि सहयात्री बन्न पुगेका हुँन् ।
०७४ को निर्वाचनमा बारा ४ बाट तत्कालीन राजपाबाट एकबाल प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । एमालेबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका देवनारायणलाई उनले २२ हजार दुई सय ७५ मत ल्याएर प्रतिस्पर्धामा हराए । गत २२ मा उनले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका हुँन् । उनी अहिले बारा ४ बाटै प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।
विगत निर्वाचनका उनका निकटतम प्रतिस्पर्धी देवनारायण भने बारा ४ (क) बाट प्रदेश सभाका लागि चुनावमा उठेका छन् । एकवाल भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन । सबै परिस्थितिका उपज हुँन् । त्यसो हुँदा राजनीतिमा कुँनै पनि विषय सम्भव रहँन्छ । अहिले हामी निर्वाचनमा होमिएका छौं ।’ दलका नेताले नैं एमाले प्रवेश गराएर उम्मेदवार बनाएकाले विगतका प्रतिस्पर्धी उम्मेदवार सहयात्री बन्न पुगेका उनको भनाइ छ । देवनारायण चाैधरीलाई यस पटक पनि पार्टीले बारा ४ बाट प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । तर, एकवालको पार्टी प्रवेश पछि उनी बारा ४ (क) बाट उम्मेदवार बन्न पुगे ।
‘महापुरुष’ का डेब्यु अनुहार अरुण र अञ्जना
काठमाडौं। भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ बाट डेब्यु गर्दैछन् अरुण क्षेत्री र अञ्जना बराइली । बाल्यकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठूलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेकाछन् । ‘मलाई डर नलागेको होइन । तर मैले त्यसलाई आत्मविश्वासमा बदले । उहाँहरूको आशीर्वाद लिएर डेब्यु गर्न पाउँदाको खुसी व्यक्त गर्ने शब्द नै मसँग छैन’, अरुणले भने । उनी फिल्ममा अडिसनमार्फत सेलेक्ट भएका हुन् । जापानबाट अभिनयमा आफ्नो भविष्य देखेर नेपाल फर्किएका अरुणले निर्देशक प्रदीप भट्टराईसँग काम गर्ने योजना बनाएका थिए । तर उनको भेट हुनसकेको थिएन । उनले निर्देशक भट्टराईसँगै रबिन्द्रसिंह बानियाँलाई सम्पर्क गर्न प्रयास गरे । ‘त्यो समयमा उहाँहरूको जात्रैजात्रा रिलिज हुँदै थियो । त्यसैले पनि भेट भएन । अहिले उहाँको फिल्मबाट डेब्यु गर्ने अवसर पाएँ’, अरुणले भने । मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना पनि अडिसनमार्फत छानिएकी हुन् । उनी फिल्ममा प्रतिष्ठाको भूमिकामा छिन् । ‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ । एक फिल्ममा सेलेक्ट भएर प्रतीक्षा गरें । तर त्यो फिल्म बनेन । यहाँ अडिसन दिएँ’, उनले भनिन् । महजोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाइ पनि भएको छ । ‘म यहाँका लागि नौलो मान्छे । मलाई रबिन्द्र दाइ र प्रदीप दाइले राम्रोसँग गाइड गर्नुभयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनुभयो’, उनले भनिन् ।अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका बानियाँले बताए । ‘हामीलाई चाहिएको कलाकार उहाँ दुईमा पायौं । अडिसनमा दिइएको उहाँको प्रस्तुतिले प्रभाव छाड्यो । धेरैको अडिसन लिए पनि भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । आफूहरूले दया वा मायाले भन्दा पनि कलाकारिता हेरेर दुई नयाँ अनुहारलाई डेब्यु गराउने निर्णय लिएको उनले बताए । ‘दिग्गज कलाकारहरूसँग स्क्रिनमा देखिएको कन्फिडेन्टले अञ्जना र अरुणको भविष्य उज्ज्वल छ, भन्ने लागेको छ’, उनले भने ।कास्टिङ डिरेक्टरको रूपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणलाई षटकोण आर्ट्ससम्म लगेका थिए । ‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले अरुणको बारेमा जानकारी दिए । अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । अरुण र अञ्जना फिल्ममा नयाँ कतै नदेखिने निर्देशक भट्टराई बताउँछन् । ‘हामीले नयाँ प्रतिभालाई स्थान दिनुपर्छ भनेर अडिसनमार्फत खोजेका हौँ । नयाँ पुस्ताको कथा नयाँमार्फत नै भन्न खोजेका छौँ’, उनले भने । फिल्ममा काम गर्दा धेरै सिक्न पाएको अरुणले बताए । ‘पहिलो दृश्यदेखि अन्तिमसम्म उहाँहरूबाट सिकेको सिकाइलाई आउँदो दिनमा प्रयोग गर्ने छु । महजोडीले किन सम्मान पाउनुहुन्छ भन्ने काम गरेपछि झनै थाहा भयो । उहाँले आफू मात्र नभई हामीलाई समेत सिकाउँदै राम्रो कलाकार बनाउनुभयो’, अरुणले भने । अञ्जना पनि अरुणझैँ महसँग अभिनयलाई बुझ्न पाएको बताउँछिन् । ‘क्यारेक्टर बाच्न उहाँहरूमार्फत सिके । सरलता, सामीप्यता, सहयोगीभावले हामी जस्ता नयाँ कलाकारलाई धेरै हौसला र ऊर्जा थप्छ’, उनले भनिन् । छायांकन अवधिभर अविभावकको कमी महसुस नभएकोसमेत उनले बताइन् । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ ।
फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउन लागेका हुन् । उनी यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट देखिएका छन् ।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी ठेकेदार पीडित नगर घोषणा, १७ योजनामा ढिलासुस्ती
खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ठेकेदार पिडित नगर घोषणा गरिएको छ । नगरभित्र ठेक्कामा काम भइरहेका अधिकांश योजनाको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेपछि ठेकेदार पीडित नगर घोषणा गरिएको हो ।मासिक पत्रकार भेटघाट कार्यक्रममा बिहीबार नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आयोजनाको काममा आलटाल गर्ने, ढिलासुस्ती गर्ने र सम्पर्कविहीन बनेर राज्यलाई ठगी गर्ने केही निर्माण व्यवसायीका कारण नगरपालिकालाई केही गैरजिम्मेवार निर्माण व्यवसायी पीडित नगर घोषणा गरेका हुन् । नगरपालिकाभित्र विभिन्न समयमा ठेक्का लागेको सडक, पुल, खेलमैदान र भवन निर्माण सम्वन्धीका १७ वटा योजनाको काममा निर्माण व्यवसायीले चरम ढिलासुस्ती गरेको तथा पटक पटक पत्राचार गर्ने, टेलिफोनमार्फत ताकेता गर्ने र डेलिगेसन जाँदा पनि बेपरवाह गरेकाले गैरजिम्मेवार निर्माण व्यवसायी पीडित नगर घोषणा गर्नुपरेको मेयर भट्टराईले बताए । नगरपालिकाभित्रका हुर्लुङ-जालपा सडक, महुरे फोक्सिङटार सडकअन्तर्गत महुरे-सिमपानी (राजापानी) सडक, अस्पतालचोक-लफ्याङ सडक, साप्सुखोला-दुबे सडक, अस्पतालचोक-आहाले सडक कालोपत्रे, भुते जिरो-आयुर्वेद सडक, अल्छेढुंगा-नेर्पा-दोर्पा सडक, हाटडाँडा काफ्लेगाउँ घुम्तीवर सडक स्तरोन्नतीको काममा निर्माण व्यवसायीको चरम ढिलासुस्ती छ । यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गतका छेपेखोला पक्की पुल, पंखु खोला पुल, भालु खोला मेवा खोला पुल, दिक्तेल बजार ढलान, दिक्तेलको माटिकोरे खेलमैदान, जिल्ला अस्पतालको भवन, महुरेगढी प्राविधिक शिक्षालयको दुईवटा प्राविधिक भवन र विद्युत कार्यालयको भवन निर्माणको काममा चरम ढिलासुस्ती भएपछि नगरपालिका ठेकेदारविरुद्ध ‘एक्सन’मा उत्रिएको हो ।
‘खोटाङलाई तराईसँग जोड्ने महुरे-फोक्सिङटार, मध्यपहाडी लोकमार्ग, लोकमार्गअन्तर्गतका पुल नाली, दिक्तेल-आहालेसम्मको सडक पिच, अस्पतालचोकदेखि लफ्याङ हुँदै साप्सुसम्मको सडक अलपत्र परेका कारण नागरिक पीडादायी अवस्थाबाट गुज्रिनु परेको छ । निर्माण व्यवसायीले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा नगरी कर्तव्यविमुख हुँदा जिल्ला पछाडि परेको छ,’ भट्टराईले भने, ‘बाह्य जिल्ला र अन्य पालिकाबाट जव यस नगरपालिकामा प्रवेश गर्छौँ तब पीडादायी र हीनतावोध महसुस गर्दै सडक यातायातको यात्रा तय गर्नुपर्ने लज्जास्पद अवस्था छ । केही निर्माण व्यवसायीको हेपाहा प्रवृत्ति विरुद्ध नागरिकको हकहित र अधिकारका लागि प्रतिरोधात्मक ढंगबाट संघर्षका अभियान चलाउन बाध्य बनेका छौँ ।’
ठेकेदारलाई मासिक प्रगति विवरण बुझाउन निर्देशन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३ कात्तिकदेखि ३५ दिनभित्र आयोजनाको प्रगतिसहित मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । सडक, पुल, खेलमैदान र भवन निर्माणसम्वन्धीका १७ योजनाको ठेक्का लिएर ढिलासुस्ती गरिरहेका रौताहा सुसम जेभी, भरत कन्ट्रक्सन/सिद्धिशाही जेभी, ढुकुचु/बगाले/डिएण्टी जेभी, सगरमाथा/सजिव आरएन जेभी, साप/सिरुवा जेभी, याक्थुहाङ/साप/सिरुवा जेभी, लगलगे कन्ट्रक्सन, उत्सव निर्माण सेवा, आशीर्वाद/मोहन एण्ड बेँसीगाउँ/इन्द्रलक्ष्मी जेभी, केएम इन्जिनियर बिल्डर्स, श्यामसुन्दर राम सागर नेपाल फूलबारी जेभी, मुकुन्द इन्दिरा निर्माण सेवा, सिरिष कन्ट्रक्सन, भक्तपुर, थास एण्ड थास कन्ट्रक्सनलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको हो । ३५ दिनभित्र काम सुचारु नभए र तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भएमा नगरपालिकाबाट सम्वन्धित नियामक निकायहरूमा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेलगायतका कानुनी कारबाहीको लागि सिफारिस गर्ने मेयर भट्टराईले बताए । ‘३५ दिनभित्र नगरपालिकासँग सम्पर्क गरी हालसम्म भएको कामको जानकारी गराउँदै मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन सम्वन्धित सबै निर्माण व्यवसायीलाई आह्वान गर्दछौँ,’ भट्टराईले भने, ‘तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भएमा नगरपालिकाबाट सम्वन्धित नियमक निकायमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने लगायतका कानुनबमोजिमको हदैसम्मको कारबाहीको लागि सिफारिस गर्ने छौँ ।’ नगरपालिकाले आगामी दिनमा आयोजना सञ्चालन गर्ने कार्यालय तथा निकायहरूलाई आयोजना सञ्चालन गर्नुपूर्व सम्वन्धित विवरण अनिवार्य रूपमा नगरपालिकालाई पठाइदिने व्यवस्था गर्न, आयोजना सुरु गर्नु अगावै समन्वय गर्न, गुणस्तरयुक्त काम गर्न र आयोजनाको सूचनापाटी अनिवार्य राख्न लगाउने काम गर्नगराउन अनुरोध गरेको छ ।
‘सम्वन्धित निर्माण व्यवसायीलाई समयभित्रै निर्माण कार्य सम्पन्न गर्न पुःनस्मरण गराउन चाहन्छौँ । सम्वन्धित आयोजना सञ्चालन तथा व्यवस्थापन गरिरहेका निकाय तथा कार्यालयलाई समेत आवश्यक समन्वय तथा सहजीकरण गर्न र तत्काल अधुरो अपुरो काम गर्ने वातावरण निर्माण गर्न आग्रह छ,’ भट्टराईले भने, ‘नियमनकारी निकायका सरकारी कार्यालयमा ज्ञापन–पत्र बुझाउने, धर्ना दिने, घेराउ गर्ने, अनसन बस्ने, तालाबन्दी गर्ने लगायतको काम नगरपालिकाको अगुवाईमा गर्न बाध्य हुने छौँ ।’
समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण : पूर्वसभामुख घर्ती
काठमाडौं। पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । कागेश्वरी मनोहरा–९ हात्ती डाँडामा शुक्रबार बिहान ‘स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिता’ उद्घाटन गर्दै घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन् ।
सत्ता गठबन्धनबाट काठमाडौं-२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी उनले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।
मुद्रा विनिमयदर यस्तो छ
काठमाडौं। अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।
आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान
काठमाडौं। नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।
निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।




