समाचार | Page 2021 of 5934 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

समाचार

गण्डकी सरकारले सर्वाधिक राशिको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने

पोखरा । गण्डकी प्रदेशको प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा भेट्रान्स फुटवल प्रतियोगिता गर्ने भएको छ । २ वैशाखदेखि सर्वाधिक राशिको नाईन ए साईड राष्ट्रिय भेट्रान्स फुटवल आयोजना गर्न लागेको हो । प्रतियोगिताको सबै तयारी पूरा भैसकेको सरकारले जनाएको छ ।

नयाँ पिँढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय गराइराख्न प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ ।

प्रतियोगितामा १९ टिमको सहभागिता हुने अनुमान छ । तिमध्ये पोखराबाट ६ र काठमाडौंबाट ८, वालिङ, हेटौंडा र सिमराबाट टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले बताए ।

प्रतियोगितामा विजेता टोलीले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार एक लाख ५० हजार र सेमिफाइनल पुग्ने टोलीले ३०/३० हजार नगद पाउने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए । सर्वोकृष्ट खेलाडीले २० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले १५/१५ हजार पाउनेछन् ।

भ्रम नहोस् वामपन्थी सिंगल एमाले हो : केपी ओली 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताए ।

‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’ ओलीले भने ।

माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको उनको टिप्पणी थियो । ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके ।’ ओलीले भने ।

माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको जिकिर गरे ।

मियाँ गाउँको कथा : धरापमा छन् ओत लाग्ने घरहरू

तनहुँ । भिमाद नगरपालिका–१ हुक्कास्थित मियाँ गाउँका मोहमद अलीको घर २०७२ सालमा आएको शक्तिशाली भूकम्पले चर्कायो । भूकम्पले चर्काएको घर निजी आवास पुनर्निर्माणका लागि सरकारले अनुदान दिने लाभग्राहीको सुचीमा परेन । भूकम्पले चर्काएको घर अहिले पनि धरापमै छ ।

भूकम्प पीडितको लाभग्राही सूचीमा पर्नलाई मोहमदले पुनरावेदनका लागि आठ हजार रुपैयाँ खर्चिए पनि उनी लाभग्राहीको सूचीमै परेनन् । बर्खामा आकाश गर्जिन थालेपछि त्रासैत्रासमा बित्यो अली परिवारको ६ वर्ष । हावाहुरी र पानी पर्दा चर्किएको घरमा बस्नलाई जोखिम भएपछि उनले नयाँ एक कोठे घर बनाउँदैछन् । ‘दिन राम्रै हुँदा त यहीँ घरमा बस्छौँ । हावाहुरी र पानी पर्न थालेपछि बन्दै गरेको घरमा जान्छौँ‘, उनले सुनाए । अझै पनि सरकारले घर बनाउनलाई सहयोग गर्छ कि भन्ने झिनो आश रहेको उनी बताउँछन् ।

मोहमदको घरसँगै जोडिएको छ महम्बद हक्की बुल्लाको घर । ११ जना बस्ने एक कोठे घर पनि धराप देखिन्छ । ठाउँ ठाउँमा चर्किएको छ । गत १५ माघमा खरले छाएको छानो खसेर बुल्लाकी श्रीमती नाजिया निशा घाइते भइन् । निशाको गाउँलेले चन्दा संकलन गरेर उपचार गरियो ।  त्यसपछि ऋण खोजेर छानोमा जस्ता हालेको उनले बताए । जस्ताले छाए पनि बर्खा लाग्न थालेपछि घरको भर लागेको छैन् उनलाई । ‘बर्खा लागेपछि त्रासैत्रास हुन्छ । अन्त जानलाई पनि ठाउँ छैन । नयाँ घर बनाउनलाई उपाय छैन्’, उनले भने । ठूलो पानी पर्दा त घरै भत्कने डरले सताउने गरेको उनी बताउँछन् ।  ‘सानसाना बालबच्चा छन् । अचानक भत्कियो भने त समस्या हुन्छ । रातमा केही घटना घटेर आपत पर्ने हो कि’, उनको चिन्ता छ ।

नयाँ घर बनाउनलाई सरकारसँग हारगुहार माग्न सकेका छैनन् । सरकारको पनि भर नलाग्ने उनले बताए । सरकारले दिने अनुदान लिनलाई पहुँचवाला नै हुनुपर्ने ठम्याइ छ उनको । गाउँमा भूकम्पले भत्किएका घर, जनता आवासमा परेका घरले अनुदानको रकम नपाएकाले सरकारसँग आशा नभएको बताए । ‘सरकारले घर बनाउन अनुदान दिन्छ जस्तो लाग्दैन । त्यसैले मागेको पनि छैन’, बुल्लाले भने ।

अनुदानको आश्वासन पाएर घर बनाएका महिदिन मियाँ पनि ऋणमा डुबेका छन् । ओत लाग्ने घर त बनेको छ । तर, ऋण कसरी तिर्ने उनलाई चिन्ता थपिएको छ ।  जनता आवास कार्यक्रममार्फत नयाँ घर बनाउन अनुदान पाउने सूचीमा नाम परेको जनप्रतिनिधीले सुनाएका थिए । अनुदान कुर्दाकुर्दै आएन । आश पनि मरेको छैन । खरले छाएको घर जीर्ण भएर बर्खामा गर्ल्यामगुर्लुम ढल्ने धरापको स्थिति भएपछि महिदिनले नयाँ घर बनाएको झन्डै आधा वर्ष बितेको छ । अनुदान कहिले आउँछ उनलाई पत्तो छैन । ‘बस्ने बास भएन भनेर घर बनाइयो । साढे तीन लाख रुपैयाँ दिन्छ भनेका थिए । आउला नि भनेर बनाए । घर बनाएको ऋण तिर्नै बाँकी छ । कामदारलाइ पनि दिन बाँकी छ’, अगाडि थप्दै भन्छन्, ‘वडाध्यक्षसँग कहिले पैसा आउँछ भनेर सोध्छु आउँछ आउँछ भन्छन् क्यारे ।’

मियाँ गाउँमा ७३ घर छन् । तीमध्ये दर्जन बढी घर धराप बन्दैछन् । केही चर्किएका छन् केही पुरानो भएर जीर्ण देखिन्छन् । छानोमा जस्ता हाले पनि पक्की घर नभएकाले चैत वैशाखको हावाले उडाइदिने पिरलोमा छन् धेरै जसो ।

भूकम्पको लाभग्राहीको सूचीमा परेकाले पनि अनुदानले मात्र नपुग्ने भएपछि घर बनाउन थालेर बीचमै छाडेका छन् । संघीय सरकारसँग स्थानीय सरकारले सहकार्य गरेर खरको छानामुक्त बनाउने अभियान देशभरै चले पनि मियाँ गाउँको केही घरमा खरकै छानो छ । छानोमा नयाँ जस्ता फेर्ने धोको छ । तर, तीन तहकै सरकारको नजर पुगेको छैन मियाँ गाउँमा ।

दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध 

जुम्ला । जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् । जुम्लामा  राष्ट्यि प्रसारण लाइनमा जोडिए पनि  पटकपटक अवरुद्ध हुँदा  यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका हुन् । दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि बिजुली अवरुद्ध भएको  विद्युत प्रराधिकरणले जनाएको छ ।

कालिकोटदेखि जुम्ला ११ केभिए राष्ट्यि विद्युत प्रशारण लाइन जडान भएको  छ । तर, पटक पटक बिग्रने भएका कारण जुम्लीले बिजुली आपूर्तिको समस्या जुम्लावासीले भोग्दै आएका छन् । ३३ केभिएको लाइन जुम्ला नपुगेसम्म बिजुली आपूर्तिमा समस्या आइरहने नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । दुई दिनदेखि बिजुली आपूर्ति नहुँदा स्थानीयवासीले मोबाइलसमेत चार्ज गर्न पाएका छैनन् ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले  विद्युत प्रसारण लाइनमर्मत जारी  रहेको बताए । यहाँ उत्पादित बिजुलीको क्षमताले सबै ठाउँमा धान्न सकेको छैन । उनले भने, ‘जुम्लामा उत्पादन भएको घघुत्ती पावरहाउसबाट भ्याससम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, टुँडिखेल, बजार, विजयनगर क्षेत्रमा लाइन सञ्चालन गर्ने तयारीमा छौँ ।’

नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले  बताए । उनका अनुसार दुल्लु कालिकोट ३३ केभिए लाइनमा समस्या देखिएको हो । त्यो क्षेत्रमा कालिकोट वितरण केन्द्रले हेर्ने हो । अहिले छाेटाे समयका लागि कोहलपुरबाटै बिजुली आएको छैन । त्यो त एकैछिनमा आउँछ । यस्तै, कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलेका अनुसार दुल्लु खण्डमा समस्या आएको हो । मर्मतका लागि टोली पुगेको छ । मंगलबार  बेलुकासम्म लाइन आउने उनले बताए  ।

स्थानीय चुनाव सार्नुपर्ने माधव नेपालको निरन्तर अभिव्यक्ति, आयोग भन्छ- निर्वाचन सारे लोकतन्त्र हार्छ

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पछिल्ला अभिव्यक्तिले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनप्रति उनमा ‘मुड’ नभएको देखिएको छ ।

७ असोज २०७४ मा निर्वाचित जनप्रतिनिधिको अवधि पाँच वर्ष नपुगेको, म्याद नपुगी निर्वाचन गराएर जनप्रतिनिधिको संवैधानिक अधिकार खोसेको, २ वैशाखमा आउने सर्वोच्च अदालतको फैसला तथा शान्ति प्रक्रियामा आएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिन दिनुपर्नेजस्ता कारण देखाउँदै उनले ३० वैशाखको निर्वाचनप्रति ‘मुड’ नदेखाएका हुन् ।

निर्वाचन आउन ३२ दिन बाँकी रहँदा आन्तरिक पार्टी प्रशिक्षण लागि सोमबार पर्वत पुगेका नेपालले खुलासा नै गरिदिए– चन्द समूह निर्वाचनमा आउँछ भने निर्वाचन सार्न सकिनेछ, त्यसका लागि गठबन्धनका नेताहरू सकारात्मकसमेत छन् ।

‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस्, उहाँलाई (चन्द समूह) स्वागत छ,’ निर्वाचन सार्ने आशंकाबारे सञ्चारकर्मीको प्रश्नको जवाफमा नेपालको जवाफ थियो, ‘विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरू तयार हुनुहुन्छ, विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’ अध्यक्ष नेपालले विप्लव समूहका लागि निर्वाचन सार्ने सकिने बताउनुअघि पनि दुई तीनवटा कारण सार्वजनिक गरिसकेका छन् ।

गत २६ चैतमा पनि नेकपा एस निकट दोलखा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गर्दै सार्नुपर्नेमा जोड गरेका थिए ।

‘वैशाख ३० गते चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडि सारेको छ- समस्या त छ,’ नेपालले तर्क गरेका थिए, ‘जेठको ५ गते पहिलो चुनाव भएको थियो, असारको १५ गते अर्को चुनाव भएको थियो, असोजको ७ गते अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरूको अझै पाँच वर्ष पुगेको छैन ।’

नेपालले असोजमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन भएकोसमेत टिप्पणी गरेका थिए । ‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच वर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संवैधानिक उनीहरूको अधिकारको हनन भएको छ,’ नेपालले तर्क गर्दै आएका छन, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच वर्ष पुग्नेहरूको भावनाविपरीत छ ।’

स्थानीय तहको निर्वाचन ३० वैशाखमा गराउने सरकारको निर्णयविरुद्ध भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसंग उल्लेख नगरी उनले त्यस दिन पनि इंगित गरेका थिए । मेयर सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले २ वैशाखमा फैसला दिने गरी पेसी तोकेको छ ।

‘भोलि जे होला, अहिले हामी तयारीमा जुटौं, अहिले हामी वैशाख ३० गतेको चुनावको तयारीमा जुटौं,’ नेपालले भन्दै आएका छन् । उनले अधिकांश कार्यक्रममा ‘जे होला-होला, भएमा चुनावमा जाउँला नत्र..’ भन्ने सन्देश दिए पनि एकीकृत समाजावादीले स्थानीय तहको निर्वाचनका लागि स्थानीय तह निर्वाचन घोषणापत्र-२०७९ को मस्यौदा तयार पारिसकेको छ ।

स्थानीय तहको निर्वाचनमा सुरुदेखि नै अनिच्छुक देखिएका नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा मात्रै मान्न तयार भएका हुन् । नेपाल खासमा असोज-मंसिरमा निर्वाचन गराउने प्रस्ताव गरिरहेका नेता पनि हुन् ।

विप्लव समूहले निर्वाचनमा भाग लिन आग्रह गरेको तथा गठबन्धनका प्रभावशाली नेता नेपालले निर्वाचन सार्ने गरी अभिव्यक्ति दिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ‘निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो, रोकिए दुर्घटना हुन्छ’ भन्ने अभिव्यक्ति दिएर निर्वाचन रोक्न नहुने तर्क गरेका छन् ।

आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको ‘मिडिया अभिमुखीकरण कार्यक्रम’ मार्फत निर्वाचन रोक्ने पहल भएकोतर्फ संकेत गर्दै थपलियाले निर्वाचन रोक्दा लोकतन्त्र हार्ने जवाफ दिएका हुन् । ‘स्थानीय तहको निर्वाचन हुन ३१ दिन मात्रै बाँकी रहेको छ, ३० जिल्लाको मतपत्र छापिएर पठाउने क्रममा रहेको र निर्वाचन अधिकृतहरू नियुक्त भएर कार्यालय स्थापनाका तयारीमा लागेका छौं,’ प्रमुख आयुक्त थपलियाले भने, ‘घोषित मितिमा निर्वाचन नभए लोकतन्त्र हार्छ, लोकतन्त्र हार्नु हुँदैन ।’ उनका अनुसार निर्वाचन आयोग ३० वैशाखका लागि सम्पूर्ण तयारीमा जुटेको जनाउँदै तोकिएकै समयमा निर्वाचन गराउन आयोग सक्षम छ ।

यसैबीच निर्वाचन आयोगले नेकपा एसले गत २६ चैतमा आमसभा गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएको भन्दै सो पार्टीलाई ३० गतेभित्र जवाफ दिन निर्देशनसमेत दिएको छ ।

रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

एजेन्सी । युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन् । यो युक्रेनका बालबालिकाको  कुल जनसंख्याको  झन्डै दुई तिहाई हो । राष्ट्रसंघीय बालकोष युनिसेफका आपतकालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले यति ठूलो संख्यामा बालबालिका विस्थापित भएको पहिलो पटक देखेको उनले टिप्पणी गरेका छन् ।

शरणार्थी बालबालिकामध्ये २८ लाख देशभित्रै र २० लाख अन्य देशमा विस्थापित भएको उनले बताए । २४ फेब्रुवरीदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छिन् । सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ती निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् ।

सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । त्यसो नगरिए सहरी बस्न मात्र नभइ देखाउन लायक पनि नहुने बताइन् । सोही कारण एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्ने क्रममा सहरीसँगै खानेपानी, ऊर्जा, सडक, सञ्चार, गृहलगायतका मन्त्रालयबीच सहकार्य र समन्वय हुनुपर्ने मन्त्री झाँक्रीले बताएकी छिन् ।

महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

काठमाडौं । चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ । सारदानगरमा चलिरहेको लिगमा पहिलो चरणको खेल सकिन बाँकी रहँदा सय गोल पूरा भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो संस्करण चितवन र विराटनगरमा आयोजना गर्दैछ । पहिलो चरणका खेल चितवनमा चलिरहेको छ । जसमा एक चरणका बाँकी खेल आज (मंगलबार) र भोलि (बुधबार)समाप्त हुँदै छन् ।

दोस्रो चरणका खेलहरू विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुनेछ । पहिलो चरणमा कुल २८ खेल हुनेछन् । जसमा २४ खेल समाप्त भइसकेको छ । हालसम्म २४ खेल पुरा हुँदा एक सय १० गोल भएका छन् । लिगको सयौँ गोल गर्ने खेलाडी सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबकी मन्जली कुमारी योञ्जन बनिन् । मन्जलीले धनगढी उपमहानगरपालिकाविरुद्ध २५औँ मिनेटमा गोल गर्दै जारी लिगको सतक गोल गरेकी हुन् ।

यसअघि लिगको पहिलो गोल त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मि कुमारी घिसिङले गरेकी थिइन । लिगको ५०औँ गोल एपीएफकै सावित्रा भण्डारी (साम्बा)ले पूरा गरेकी हुन् । उनले चन्द्रपुरविरुद्ध ह्याट्रिक गर्ने क्रममा लिगको ५०औँ गोल गरेकी थिइन् । जारी लिगमा उच्च गोलकर्ताको शीर्षस्थानमा एपीएफकै सावित्रा भण्डारी (साम्बा) रहेकी छिन् । उनले पाँच खेलमा १३ गोल गरेकी छिन् । जसमा तीन ह्याट्रिक रहेको छ ।

चोटका कारण एक वर्षपछि मैदानमा पुनरागमन गरेकी साम्बाले वालिङ नगरपालिका र धनगढीविरुद्ध समान चार गोल गर्दा चन्द्रपुरविरुद्ध तीन गोल गरेकी छिन् । यस्तै, नेपाल पुलिस र ललितपुर महानगरपालिकाविरुद्ध समान एक गोल गरेकी छिन् ।

उच्च गोलकर्ताको दौडमा आर्मीकी रश्मिकुमारी घिसिङ सात गोल, धनगढीकी चन्द्रा भण्डारी ६ गोल, शर्मिला थापा मगर पाँच गोल र मन्जलीकुमारी योञ्जन चार गोल गरी क्रमशः एकदेखि पाँचौ स्थानमा छन् । तीन गोल गर्ने खेलाडीमा आठ जना छन् भने १२ खेलाडीले दुई गोल गरेका छन् । एक गोल गर्ने २६ खेलाडी छन् भने एक खेलाडीले आत्माघाति गोल गरेकी छिन् ।

जारी लिगमा ६ खेल खेलेको एपीएफले सतप्रतिशत जितका साथ १८ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको पुलिसको तीन जित र एक हार सहित १५ अंक बनाएर दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको आर्मीको समान ६ खेलबाट चार जित र दुई हारसहित १२ अंक छ । विराटनगर चौँथो स्थानमा रहँदा धनगढी पाँचौँ स्थानमा छ । चन्द्रपुर छैँटौँ स्थानमा रहँदा ललितपुर सातौँ र वालिङ विनाअंक पुछारमा छ ।

सरकारले पुँजीगत खर्च गर्न सकेन, आठ महिनामा ७७ अर्ब मात्र सकियो 

काठमाडौं । अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा सरकारले मात्र ७७ अर्ब १५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा संघीय सरकारले कुल ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ । उक्त अवधिमा चालुतर्फ ५ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ, पुँजीगततर्फ ७७ अर्ब १५ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामासंघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन गरेको छ । यसमध्ये कर राजस्वतर्फ ६ खर्ब २७ अर्ब ९० करोड रुपैयाँ र गैर कर राजस्वतर्फ ५६ अर्ब ८० करोड रुपैयाँ परिचालन भएको छ ।

चालु खाता ४ खर्ब ६२ अर्बभन्दा बढी घाटामा, प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म सरकारको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता फागुनसम्मको अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

फागुन महिनासम्ममा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब कायम भएको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७८ फागुनसम्ममा शोधनान्तर स्थिति २ र्ख ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति फागुनसम्म आइपुग्दा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।

 

मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौंका धारामा पुग्न दुई साता लाग्ने 

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरूङमार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे । गत २ असारमा गएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागु भएसँगै उनको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो । सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो । सोही आधारमा आजबाट पानी सुरूङमार्गमा पठाइएको हो । उक्त पानी काठमाडौैंमा उपलब्ध हुन भने अझै दुई साता लाग्नेछ ।

बाढीले मेलम्चीको मुहानमा क्षति पुर्‍याएको थियो । उक्त क्षेत्रमा मर्मत सम्भार तथा सरसफाईको काम सकिएको छ । पुल तथा सडक निर्माण लगायतका आवश्यक भौतिक संरचना पुनर्निर्माणको काम भने जारी नै छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरूङमार्गमा पानी पठाउने काम सम्पन्न भएको बताए ।

उक्त पानी काठमाडौंका धारा धारामा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ । गत चैत १७ गतेदेखि मेलम्चीको पानी काठमाडौंमा झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर १७ करोड लिटर पानी पठाइएको थियो ।परीक्षणका लागि भन्दै १ असारमा सुरूङमा पानी पठाउन बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्ची आयोजनामा क्षति पुगेको थियो ।

सामाजिक सुरक्षा भत्ता : बैकिङ प्रणालीले दुर्गममा दिएको सास्ती

मुगु । सामाजिक सुरक्षा भत्ता बै‌कमार्फत दिने व्यवस्थाले यातायात र सहज बैंककाे पहुँच नभएका क्षेत्रका लाभग्राहीले  सास्ती झेल्नुपरेकाे छ । मुगुमा बैकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आउनु पर्दा ज्येष्ठ नागरिकहरूले सास्ती खेप्नुपरेकाे हाे । ग्रामीण क्षेत्रमा सहजै सडक बाटो यातायातको पहुँच नहुँदा उनीहरू लाई सामाजिक सुरक्षा भत्ता पाउन गाह्राे भएकाे हाे ।

मुगुका  चारवटै स्थानीय तहले आफ्नो पायक पर्ने पालिका केन्द्र ज्येष्ठ नागरिक तथा अन्य बालपोषण भत्ता, एकल महिला भत्ता लगायत अन्य सुविधाहरू बैकिङ प्रणालीमार्फत वितरण गरे पनि दुर्गमका नागरिकहरूलाई सास्ती हुने गरेको छ ।

भत्ता पाउन  निकै गाह्राे भएकाे छायानाथ रारा नगरपालिका-१३ रुघाकी ७७ वर्षीया नानी लावडले बताइन् ।   उनी सामाजिक सुरक्षा भत्ता लिन बिहानै घरबाट ज्येष्ठ नागरिक नानी लावडलाई उनका नातिनी ज्वाइँ पारसबहादुर लावडले करिब ३ घण्टा बोकेर सदरमुकाम गमगढी बजारमा रहेको ग्लोवल आईएमई बैंकमा पुर्‍याए ।

‘बाटो उकालो, अप्ठयारो पनि छ, फेरि उहाँ दृष्टिविहीन पनि हुनुहुन्छ,’ पारसबहादुरले भने, ‘घरमै गाडी पुगेको भए सहज हुन्थ्यो । बैकिङ प्रणालीले भत्ता लिनै गाह्राे भयाे ।’

स्थानीय र सर्वोच्च अदालतकै कारण ओझेलमा गौरवका आयोजना

महोत्तरी । बर्दिबास नगरपालिकाभित्रका गौरवका दुई योजना ओझेलमा परेका छन् । स्थानीयवासीको विरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशले यी आयोजना ओझेलमा परेका हुन् ।

सरकारको एक प्रदेश एक मेडिकल कलेज बनाउने योजना अघि सारेको थियो । सोहीअनुसार यहाँ कलेज निर्माण गर्ने तय भएको थियो । तर, उक्त स्थानका रुख काटिने भन्दै अदालतले तत्काल काम स्थगित गर्न अन्तरिम आदेश जारी भएको छ । यस्तै रेल्वे स्टेसन बनाउन मुआब्जा निर्धारण भैइसक्दा पनि स्थानीयको अवरोधले योजना अलपत्र परेको छ ।

रेल्वे स्टेसन बनाउन अधिग्रहण गरेको जग्गाको मुआब्जा भन्दापनि स्थानीयले स्टेसन बन्न हुँदैन भन्ने विषयलाई प्राथमिकता दिनुले अनेकांै अडकलबाजी सुरू भएका छन् ।

अधिग्रहण गरेको जग्गालाई विभिन्न ३५ शीर्षकमा विभाजन गरी  न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा दिने निर्णय भएको भयो । तर, स्थानीयले निर्धारित मुआब्जा चलनचल्तीको मूल्यभन्दा निक्कै कम भएको र पुनरावलोकन गर्नुपर्ने माग राखिरहेको बेला अहिले भने रेल्वे स्टेसन नै बन्न नदिने अडान लिएका छन् ।

स्थानीयको सहमतिसहित प्रस्तावित ठाउँमा रेल्वे स्टेसन बन्ने भएपछि २०७३ सालमा सरकारले करिब ६० बिगाहा जमीन अधिग्रहण गरेको थियो । बर्दिबासमा धेरै सरकारी जग्गा हुँदाहँुदै किसानलाई विस्थापित गर्नेगरी स्टेशनको औचित्य नभएको स्थानीयको आरोप छ ।

सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै सात अर्र्ब २० करोड अनुदानसहित जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडगेज रेल्वेको पुर्वाधार निर्माण थालिएको थियो ।

पाँच बर्षदेखि आफ्नो जग्गा भन्न नपाएका कतिपय स्थानीयले निर्धारित मुआब्जा लिएका पनि छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले वितरण प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै वितरण हुने बताइरहेको बेला एक्कासी भएको पत्रकार सम्मेलनलाई अर्थपूर्ण ढंगले हेरिएको छ । निर्धारित मुआब्जालाई पुनरावलोकन गरिहाले पनि स्थानीयले रेल्वे स्टेशन नै जरूरी नभएको निष्कर्ष निकालेका छन् ।

रेल्वे मुआब्जा पीडित संघर्ष समितिका डाकराज पोखरेलका अनुसार बर्दिबासमा नै स्टेशनका लागि वैकल्पिक ठाउँहरू प्रशस्त भएको बताउँछन् । यता १६ करोड खर्च भैइसकेको मेडिकल कलेजको फाइल मन्त्रालयमा विचाराधीन रहेको बेला सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि अर्काे ठूलो आयोजना पनि ओझेलमा परेको छ ।

मेडिकल कलेज बनाउन त्यतिकै ढिला भैइरहेको बेला अदालतको आदेशले मेडिकल कलेज बन्छ कि बन्दैन भन्ने अन्योल बढेको छ ।  माटो परीक्षणदेखि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन समेत राखेर पठाइएको फाइललाई वन कार्यालयले सदर गरेर अनुमोदनको लागी मन्त्रालय पठाएको थियो ।

संघीय सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणाअनुसार आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तब्यको प्रकरण नम्बर २२४ मा मधेश प्रदेशअन्तर्गत महोत्तरीको बर्दिबासमा, लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख थियो ।

संघीय सरकारले मधेश प्रदेशको आठै जिल्लाको केन्द्र र अन्य जिल्लालाई समेत सहज हुने अध्ययन, अनुसन्धानले निष्कर्ष निकालेपछि बर्दिबास नगरपालिकालाई नै स्थान निर्धारण गरेको थियो ।

बर्दिबास नगरपालिका–४ स्थित माइस्थान सामुदायिक वनभित्र करिब ४९ हेक्टर क्षेत्रमा मेडिकल कलेजको संरचना निर्माणको लागि डिपिआर तयार भैइरहेको थियो ।

मेडिकल पुर्वाधार निर्माण सोही ठाउँमा सुनिश्चित भएपछि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन समेत सम्पन्न भएको छ । प्रतिवेदनअनुसार ४९ हेक्टर क्षेत्रफलमा संरचना निर्माण गर्दा १९ सय ६७ रूख काट्नु पर्ने उल्लेख छ । तर, डीपीआर निर्माणको लागि परामर्श सेवा प्रदायक संस्था जेभीले भने संरचना निर्माणस्थलमा दुई सयदेखि तीन सय रूख काटिन सक्ने उल्लेख छ ।

नगरपालिकाले रूख काट्दा पर्यावरणमा असर पुग्ने जोखिमलाई ध्यान दिँदै यसै बर्ष ५० हजार बिरूवा रोपिसकेको जनाएका छ । ३ चैत २०७७ मा मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, डिभिजन वनका अधिकृतहरू, प्रदेश वन निर्देशनालयका निर्देशकलगायत मन्त्रालय, निर्देशनालयका अधिकृत र कर्मचारीहरू समक्ष मेडिकल कलेज निर्माणको लागि कन्सेप्ट रिपोर्ट समेत पेश भएको थियो ।

मन्त्रालय र विज्ञहरूको सुझावअनुसार नै माइस्थान सामुदायिक वनको ५४/५८४ हेक्टर क्षेत्रमध्ये ४९ हेक्टर क्षेत्र पश्चिमपट्टि अटावे खोलाको नजिक जंगल नभएको ठाउँमा संरचना निर्माण गर्ने तयारी भएको स्थानीय शंकर फुँयाल वताउँछन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, फागुनमा मुद्रास्फीति ७.१४ प्रतिशत 

काठमाडौं । पछिल्लो समय नेपालमा मूल्यवृद्धि आकाशिएको छ । सरकारी तथ्याङ्कले मूल्यवृछि बढेको देखाएको हो । नेपाल राष्ट्रबैंक मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७८ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । गत फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ ।

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

फागुन महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

आजबाट खोटाङमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु  

खोटाङ । खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजारभन्दा बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने अभियान सुरु गरिएकाे छ । मंगलबारदेखि आगामी ४ वैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) खोप दिनेगरी अभियान सुरु गरिएको हो ।

मंगलबार दिक्तेलको माउण्ट एभरेष्ट बोर्डिङ स्कुल खोप केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रताप शाहले स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै खोप अभियान सुरु गरिएको हो ।  १५ महिनादेखि २३ महिनासम्मका दुई हजार ९८९ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रमअन्तर्गत जिल्लामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका क्रममा एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालन गरिएको छ ।

यस्तै, खोप लगाएकालाई कुनै समस्या देखिएमा समाधान गर्नका लागि १० जनाको टिम तयारी अवस्थामा राखिएकाे छ ।

प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई 

काठमाडौं । स्थानीय सरकार बलियो बनाउन संघीयताको वकालत गर्दै आएको नेकपा माओवादी केन्द्रले पार्टी भित्रका आफ्ना उम्मेदवारका छनौट भने केन्द्रिकृत गर्ने गरी विशेष परिपत्र जारी गरेको छ । वडा अध्यक्ष र सदस्यका उम्मेदवार छनौटबाहेक अन्य उम्मेदवारको छनौटदेखी स्थानीय तहमा चुनावी तालमेलसम्मको निर्णय पालिका, जिल्ला र प्रदेश समितिहरूलाई नै नदिई केन्द्रीय कार्यालयमा केन्द्रिकृत गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष परिपत्र जारी गर्दै वडा अध्यक्ष र सदस्यको उम्मेदवारी छनौटको अधिकार प्रदेश समितिलाई दिए पनि अन्य सबै केन्द्रिकृत गरी २८ चैतमा ६ बुँदे विशेष परिपत्र पठाएका छन् । ‘नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित् पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने’ परिपत्रमा उम्मेदवारबारे अध्यक्ष प्रचण्डले भनेका छन्, ‘जसको अनुमोदन केन्द्रीय कार्यालयबाट गराउने ।’

महानगरबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एसलगायतका राजनीतिक दलले सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीलाई नै अधिकार दिएको बेला माओवादीले भने केन्द्रिकृत गरेको हो । कांग्रेस र एमालेलगायतले औपचारिक निर्णय नै गरेर आवाश्यकताका आधारमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय कमिटीहरूलाई दिए पनि माओवादीले भने त्यो अधिकार पनि दिएको छैन ।

‘गठबन्धन तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने, केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरू बीचमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने,’ विशेष परिपत्रको बुँदा ५ मा भनिएको छ । ५ वैशाखभित्र उम्मेदवारको सिफारिस गरिसक्नु पर्ने भन्दै विशेष परिपत्र पठाएका अध्यक्ष प्रचण्डले महानगर र उपमहानगरको मेयर र उपमेयरका उम्मेदवारी भने केन्द्रले नै तोक्ने निर्देशन पनि दिएका छन् ।

‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टी प्रदेश समितिहरूले सर्वसम्मत भए एक÷एक जना सर्वसम्मत नभए प्राथमिकतको क्रममा तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गरी पठाउनेछ ।’

तर, वडा अध्यक्ष र सदस्यको हकमा भने स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन प्रचण्डले गरिदिएका छन् । ‘वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने’ भन्दै प्रदेश समितिलाई अधिकार दिएका छन् ।

तर, माओवादीले ७७ जिल्लाबाटै महिला प्रतिनिधित्व गराउने भन्दै कम्तिमा एकजना पालिका प्रमुख वा अध्यक्षको नाम सिफारिस गर्नुपर्ने बाध्यकारी नियम भने पहिलोपटक लगाएको छ ।

‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयका सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्ष र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने’ प्रचण्डले जारी गरेको विशेष परिपत्रमा भनिएको छ ।