समाचार | Page 2020 of 5934 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

समाचार

तीन लाख घुससहित प्रधानाध्यापक राकेशकुमार ठाकुर पक्राउ 

काठमाडौं । रौैतहटको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार प्राध्यानाध्यापक ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

यसबारे आयोगले जारी गरेको विज्ञप्ति :

श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग रु. ३,००,०००।– घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रौतहट, यमुनामाई गाउँपालिका वडा नं. ४, सरुअठ्ठा स्थित चन्द्रनिगाहपुर, गौरबाट आज मिति २०७८।१२।३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

कंगोमा वीरगति प्राप्त नेपाली शान्ति सैनिकलाई अन्तिम सम्मान

काठमाडौं । नेपाली सेनाले अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि विरगती प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति अन्तिम सम्मान अर्पण गरेको छ । गुरुङको शव मंगलबार काठमाडौं ल्याइएको थियो । यही चैत २२ गते कंगोमा विद्रोही समूहले चलाएको गोली लागी उनको मृत्यु भएको छ ।

छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सम्मान स्वरुप उनको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका थिए । रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेको नेपाली सेनाले जनाएको छ ।

सो अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट नेपालका लागि राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले गुरुङको पार्थिव शरीरमा राष्ट्रसंघको झण्डा ओढाई सम्मान प्रकट गरेका थिए । गुरुङको पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो ।

श्रद्धाञ्जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात गुरुङको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने छ ।

सुनको मूल्य ६ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

माओवादी चुनावी पोष्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।

वर्ष २०७८ लाई फर्केर हेर्दा: अमेरिकी धम्की, चीनसँग बढ्दै दूरी, भारतसँग असन्तुष्टि र रुसप्रति दोधारे नीति

प्रमुख चार शक्तिराष्ट्रसँग टकरावः अमेरिकी धम्की, चीनसँग बढ्दै दूरी, भारतसँग असन्तुष्टि र रुसप्रति दोधारे नीति  

काठमाडौं । कूटनीतिका दृष्टिले वर्ष २०७८ निकै महत्वपूर्ण रह्यो । आन्तरिकदेखि अन्तर्राष्ट्रिय मुद्दाले नेपालको कूटनीतिलाई प्रभाव पारे । कोरोना महामारीले गर्दा अवरुद्ध उच्चस्तरीय भ्रमण तथा भेटवार्ता सुचारु भए । नेपालको आन्तरिक विषयमा शक्तिराष्ट्रले हस्तक्षेप गरे । नेपाललाई लिएर अमेरिका र चीनबीच देखिने गरी वाकयुद्ध नै चल्यो ।

अमेरिकी धम्की  
सुरु गरौं ५० करोड डलरको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट ।

एमसीसीले नेपालका राजनीतिक दलभित्र मात्र होइन, चीनमा पनि तरंग ल्यायो । सन् २०१७ मा नेपाल र एमसीसीबीच सम्झौता भएको थियो ।
एमसीसीकी उपाध्यक्ष फतिमा जी सुमारले भदौको अन्तिम साता नेपाल भ्रमण गरेकी थिइन् । भ्रमणमा प्रधानमन्त्री र राजनीतिक दलका नेताहरूलाई भेटी एमसीसी छिटो संसदबाट अनुमोदन गर्न दबाब दिएकी थिइन् ।

एमसीसी प्रस्ताव संसदबाट अनुमोदन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरू विभाजित थिए । अघिल्लो एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा एमसीसी संसदमा दर्ता भएको थियो । तर यो अनुमोदनका लागि अघि बढ्न सकेको थिएन ।

वर्तमान सरकारमा पनि नेपाली कांग्रेसबाहेकका दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नहुने पक्षमा थिए ।

एमसीसी बहसले तब उचाइ लियो जब नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अध्यक्षलाई भदौ महिनामा लेखेको पत्र सार्वजनिक भयो । पत्र यस्तोबेलामा सार्वजनिक भयो जतिबेला प्रचण्डले पत्र नपठाएको दाबी गर्दै आएका थिए । २३ माघमा सार्वजनिक भएको पत्रमा २०२२ फेब्रुअरीभित्र एमसीसी संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका थिए ।

एमसीसी विवाद झन् बढी चर्कियो, जब अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलेले २७ माघमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरी धम्की दिए ।

अमेरिकी सहायक विदेशमन्त्री लुले शीर्ष नेतालाई फोन गरेर ‘एमसीसी संसदबाट अनुमोदन नगरे नेपालसँगको सम्बन्ध पुनर्विचार गर्ने’, ‘एमसीसी अनुमोदन नगरे नराम्रो हुने,’ र ‘एमसीसी अनुमोदन नभए चीनका कारण त्यस्तो भएको बुझ्ने’ सम्मको चेतावनी दिएका थिए ।

लुले नेपाल र अमेरिकाबीचको विषयमा जबर्जस्ती चीनलाई तानेका थिए । त्यसपछि नेपाल र अमेरिकाको द्विपक्षीय विषयमा चीनले मुख खोल्यो । अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपालमाथि धम्कीपूर्ण कूटनीतिको प्रयोग गरेको आरोप चीनले लगायो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेनमा भनेका थिए, ‘अन्तर्राष्ट्रिय समुदायले नेपालको आर्थिक वृद्धि र जीविकोपार्जन सुधारमा सहयोग गरेको देख्दा चीन खुसी छ । तर, यस्तो सहयोग नेपाली जनताको इच्छाको पूर्ण सम्मानमा आधारित हुनुपर्छ र कुनै पनि राजनीतिक स्वार्थ नजोडिएको हुनुपर्छ । नेपालको सार्वभौमसत्ता र हितविरुद्ध हुनेगरी गरिने कुनै पनि जबर्जस्ती कूटनीति र कार्यहरूको हामी विरोध गर्छौं ।’

आरोप-प्रत्यारोप अमेरिका र चीनबीच मात्र होइन, नेपाली-नेपालीबीच पनि भएको थियो । राजनीतिक दल–दलबीच पनि भएको थियो ।
६ फागुनमा काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत एमसीसीका विषयमा वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको समर्थन गर्ने जनायो ।

‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ दूतावासले एमसीसीको विषयमा अफवाह नफैलाउन सबैलाई चेतावनी दिएको थियो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले ७ फागुनमा अर्को विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा अमेरिकाले एमसीसी अनुमोदनलाई नेपालको सार्वभौम निर्णय बतायो । ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो । एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा यो केवल नेपालको निर्णय हो,’ अमेरिकी दूतावासले स्पष्ट शब्दमा भनेको थियो ।

चीन र अमेरिकाबाट एमसीसीलाई लिएर वाकयुद्ध चलेपछि परराष्ट्र मन्त्रालयले ८ फागुनमा विज्ञप्ति नै जारी गर्नुपर्यो । परराष्ट्रले दुवै देशलाई भन्यो, ‘हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो । नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता चाहिन्छ भन्ने कुरा नेपालको सार्वभौम संसदले मात्रै निर्णय गर्छ ।’

नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको दाबीसमेत परराष्ट्रले गर्‍याे ।

नेपालले विज्ञप्ति जारी गरेपछि चीन रोकिएला भन्ने अनुमान धेरैको थियो । तर त्यसो भएन । चीनले पुनः नेपाल-अमेरिका द्विपक्षीय विषयमा मुख खोल्यो । ११ फागुनमा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई ‘पान्डोरा बक्स’ बताइन् ।

‘अमेरिकी दूतावासले ५० करोड डलर एमसीसी अनुदानलाई ‘अमेरिकी जनताले नेपालीलाई दिएको उपहार’ भनेको छ । मलाई अचम्म लाग्छ, अल्टिमेटम प्याकेजको साथ उपहार कसरी आउँछ ?,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले प्रश्न गरेकी थिइन् ।

यसअघि नेपालस्थित अमेरिकी दूतावासले एमसीसी अमेरिकी जनताले नेपाललाई दिएको उपहार भनेको थियो । त्यसैप्रति चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवाले पत्रकार सम्मेलनमा व्यंग्य गरेकी थिइन् ।

हुवा यत्तिमै रोकिइनन् । उनले एमसीसी अनुमोदन नगर्न नेपाललाई पनि दबाब दिइन्, ‘यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ ? के यो ‘उपहार’ हो वा पान्डोराको बक्स ?’ उनले एमसीसी कार्यान्वयन गर्न नेपाललाई गाह्रो हुने चेतावनीसमेत दिएकी थिइन् ।

एमसीसीका कारण नेपाली कांग्रेस नेतृत्वको सरकार गठबन्धन नै धरापमा परेको थियो । कांग्रेसबाहेकका सत्तारुढ दलहरू एमसीसीको विरोधमा सडकमा उत्रेका थिए । धेरै गिजोलिएपछि अन्ततः संसदबाट १५ फागुनमा एमसीसी अनुमोदन भयो । फेस सेभिङका लागि व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी राजी भएका थिए । तर व्याख्यात्मक टिप्पणीमा नयाँ कुरा केही थिएन ।

एमसीसी अनुमोदन भएकै दिन अमेरिकाले यसको स्वागत गर्यो । अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै भन्यो, ‘अब यस पाँच–वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ ।’

नेपालको संसदले एमसीसी अनुमोदन गरेको भोलिपल्ट अर्थात् १६ फागुनमा चीनले फेरि एमसीसीका विषयमा चासो व्यक्त गर्यो । सार्वजनिक रूपमा एमसीसीका विषयमा चीनले प्रतिक्रिया जनाएको यो तेस्रोपटक थियो ।

‘चीनले नेपालको संसदको निर्णय र ‘व्याख्यात्मक घोषणा’ नोटिस गरेको छ,’ बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका थिए, ‘कुनै पनि देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । राजनीतिक स्वार्थहरू राख्नु हुँदैन र जबरजस्ती कूटनीतिमा संलग्न हुनुहुँदैन ।’

एमसीसी अनुमोदन गरेलगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री देउवालाई फोन गरेका थिए । उनले एमसीसीअन्तर्गत पूर्वाधार विकासका कार्य अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

चीनसँग टाढिँदै 

एमसीसी अनुमोदन भएको केही सातापछि अर्थात् ११ देखि १३ चैतसम्म चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले नेपाल भ्रमण गरे । सन् २०१९ चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चीनबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण थियो ।

भ्रमणका बेला वाङले एमसीसीको विषय उठान गर्ने अुनमान धेरैको थियो । तर उनले एमसीसीको नाम उच्चारण नै गरेनन् ।

भ्रमणका बेला चिनियाँ महत्वकांक्षी आयोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई)सँग सम्बन्धित महत्वपूर्ण योजना अघि बढाउनेसम्बन्धी सम्झौता हुने लख काटिएको थियो । भ्रमणका बेला बीआरआईसँग सम्बन्धित कुनै पनि प्रोजेक्ट अघि बढेनन् ।

अघिल्ला दुई भ्रमणमा जस्तो यसपटक नेपाल आउँदा चिनियाँ विदेशमन्त्री वाङ त्यति उत्साहित देखिएका थिएनन् । उत्साहित नभए पनि उनले केही सन्देश भने भ्रमणको समस्यमा स्पष्ट दिएर गए ।

नेपालसँगको मित्रवत् नीतिलाई निरन्तरता दिने, नेपाललाई आफ्नो राष्ट्रिय परिस्थितिअनुरूप विकासमा सहयोग गर्ने, नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा सघाउने, नेपाललाई स्वतन्त्र घरेलु र विदेश नीतिहरू अवलम्बन गर्न सहयोग गर्ने, नेपालमा कसैले भूराजनीतिक खेल खेल्न खोजे त्यो चीनको लागि सह्य नहुने, चीन र नेपाल रणनीतिक साझेदारी बन्नुपर्नेलगायतका सन्देश वाङले दिएको थिए ।

चिनियाँ विदेशमन्त्री फर्केलगत्तै सरकारले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय फिर्ता लियो । अघिल्लो  ओली नेतृत्वको सरकारले बूढीगण्डकी गेजुवालाई दिएको थियो । वर्तमान सरकारले बूढीगण्डकी गेजुवालाई दिने निर्णय फिर्ता गरेकोमा चीन सन्तुष्ट छैन ।

सरकारले लामो समय चीनमा राजदूत पठाएन । अमेरिका, भारत र बेलायतमा एकसाथ राजदूत सिफारिस गर्दा चीनलाई छुटायो । यसले देउवा नेतृत्वको सरकारको प्राथमिकतामा चीन नरहेको देखाउँछ ।

अन्ततः चैत अन्तिम साता विष्णुपुकार श्रेष्ठको नाम सरकारले चीनको लागि राजदूतमा सिफारिस गर्‍याे । चीनको बारेमा मात्र होइन, कूटनीतिका विषयमा नै जानकारी नभएका व्यक्तिलाई चीनको राजदूतमा सिफारिस गरेपछि वर्तमान सरकारको चीनलाई हेर्न दृष्टीकोण थप स्पष्ट भएको छ । यसप्रति चिनियाँ बुद्धिजीवीहरूले असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

पछिल्लो समय चीन नेपालसँग असन्तुष्ट रहँदै आएको छ । यसको उदाहरण बनेका छन्- रसुवागढी र तातोपानी नाका । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी विगत दुई वर्षदेखि एकतर्फी रूपमा बन्द छन् । अर्थात् दुई वर्षयता चीनबाट मात्र नेपालमा वस्तु भित्रिएका छन्, ती नाकामार्फत नेपालबाट कुनै वस्तुले चीनमा प्रवेश पाएको छैन । नेपालले बारम्बार अनुरोध गर्दा पनि चीनले ती नाका हुँदै वस्तु पठाउन नेपाललाई अनुमति दिएको छैन । चीनले कारण कोरोना महामारी देखाउँदै आएको छ, तर सत्य त्यो होइन । नेपालको व्यवहारबाट चीन खुसी छैन ।

भन्सार विभागका तथ्यांकअनुसार २०७६ चैतदेखि २०७८ माघ महिनासम्म चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै नेपालमा ४७ अर्ब ५६ करोड ५७ लाख ४९ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट ती नाका हुँदै चीनमा एक रुपैयाँको वस्तु पनि गएको छैन ।

असन्तुष्ट भारत 

प्रधानमन्त्री शेरबहादुर देउवाले १८ देखि २० चैतसम्म भारतको भ्रमण गरेका थिए । प्रधानमन्त्रीको रूपमा यो उनको पाँचौं भारत भ्रमण थियो । पछिल्लो चार वर्षमा नेपालको प्रधानमन्त्रीले गरेको यो पहिलो भारत भ्रमण थियो ।

विगतका प्रधानमन्त्रीको भ्रमण जस्तै देउवाको यो भ्रमण पनि विवादरहित बन्न सकेन । यो विवाद नेपालबाटै सुरु भयो । भ्रमणमा निस्कनुअघि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग गरिने छलफल उनले गरेनन् ।

भारतक पुगेकै दिन उनी भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा पुगे । देशको प्रधानमन्त्रीको रूपमा गएका देउवा कूटनीतिक मर्यादाविपरीत भारतीय सत्तारुढ पार्टीको कार्यालय पुगेका थिए । परराष्ट्रमन्त्री डा.नारायण खड्काले ढाकछोप गर्ने प्रयास गरे । भने, ‘भाजपा कार्यालयमा प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको सभापतिको रूपमा जानु भएको हो ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला संयुक्त विज्ञप्ति जारी भएन । संयुक्त विज्ञप्ति जारी नहुनुको कारण थियो– सीमा विवाद । नेपाल र भारतबीच सुस्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका स्थानमा सीमा विवाद रहँदै आएको छ । अझ भनौं ती नेपाली भूमिमा भारतको नियन्त्रण रहँदै आएको छ ।

भ्रमणका बेला नेपालले सीमा विवादलाई संयुक्त विज्ञप्तिमा समेट्नुपर्ने जनाएपछि भारत पछि हट्यो र संयुक्त विज्ञप्ति जारी भएन । नेपालले जारी गरेको विज्ञप्तिमा सीमा विवाद उल्लेख भए पनि भारतले जारी गरेको विज्ञप्तिमा यसलाई स्थान दिइएन । बरु उल्टै भारतीय विदेश सचिव हर्षवर्धन शृंघलाले सीमा विवादलाई राजनीतीकरण नगर्न चेतावनी दिए ।

‘यो (सीमा) मुद्दा हाम्रो मैत्री सम्बन्धलाई ध्यानमा राखी संवादमार्फत सुल्झाउने कुरा भयो । सीमा समस्यालाई राजनीतीकरण गर्नु हुँदैन । सीमा विवाद संवादमार्फत सुल्झाउनुपर्छ,’ देउवा भारत भ्रमणमा रहेका बेला आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव शृंघलाले भनेका थिए ।

प्रधानमन्त्री देउवा स्वयंले दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा सीमा विवादको विषयमा कुराकानी भएको र स्थापित संयन्त्रमार्फत समस्याको समाधान गर्न अनुरोध गरेका बताएका थिए । तर सोही पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सीमा विवादका विषयमा मौन रहे ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै चीनको कैलाश मानसरोवर जाने बाटो निर्माण गरेपछि नेपालले आपत्ति जनाउँदै आएको छ । नेपालले उक्त भूमि समेटेर नेपालको नयाँ नक्सासमेत जारी गर्यो । सीमा विवाद सुल्झाउन नेपालले पटकपटक वार्ताका लागि अनुरोध गरेको छ, तर भारत अटेरी गर्दै बसेको छ ।

भारतको असन्तुष्टि नेपालले उठाएको सीमा समस्यमा मात्र छैन, नेपाल–भारत प्रबुद्ध व्यत्ति समूह (इपीजी)ले तयार पारेको प्रतिवेदनमा पनि छ । दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको इपीजीले प्रतिवेदन तयार पारेको चार वर्ष बित्न लाग्यो भारतले बुझ्न मानेको छैन । भारतका कारण ‘इपीजी’ प्रतिवेदन मृत्य अवस्थामा पुगेको छ । यसले भारतले अझै नेपाललाई समानताको आधारमा व्यवहार गर्न चाहेको छैन भन्ने स्पष्ट सन्देश दिएको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला दुवै देशले ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी ‘नेपाल–भारत संयुक्त भिजन’ जारी गरे । भ्रमणको सबैभन्दा महत्वपूर्ण उपलब्धि नै यही हो । यसले नेपालको विद्युतलाई भारतीय बजारमा मात्र होइन, तेस्रो देशसम्म जाने बाटो खुला गरेको छ । लगत्तै भारतले ३६४ मेगावाट विद्युत निर्यात गर्न नेपाललाई अनुमति दिएको छ ।

रुस-युक्रेन मामिलामा दोधारे नीति

रुसले १२ फागुनमा सार्वभौम राष्ट्र युक्रेनमाथि सैन्य आक्रमण गर्‍याे । त्यसपछि सुरु भएको रुस–युद्ध आजसम्म जारी छ ।   रुसले युक्रेनमाथि आक्रमण सुरु गरेकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी युक्रेनको पक्षमा उभियो । नेपालले रुसलाई संयुक्त राष्ट्रसंघको बडापत्रको पालना गर्नसमेत अनुरोध गर्यो ।

‘संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतले नेपाल संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको सबै सदस्य राष्ट्रहरूले पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा राख्छ,’ नेपालले विज्ञप्तिमार्फत भनेको थियो ।

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र राज्यको रूपमा रुसले मान्यता दिनु संयुक्त राष्ट्रसंघको बडापत्रको प्रावधानविपरीत रहेको नेपालले स्पष्ट शब्दमा भनेको थियो ।

१६ फागुनमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा पनि नेपालले युक्रेनलाई साथ दियो । स्वीट्जरल्यान्डको जेनेभास्थित परिषद्को कार्यालयमा ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ प्रस्तावमा छलफल गर्न आपत्कालिन बैठक बोलाइएको थियो ।
बैठकमा उक्त विषयमा छलफल गराउने वा नगराउने भन्ने विषयमा मतदान भएको थियो । मतदानमा परिषद्का ४७ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षका २९, विपक्षमा पाँच र तटस्थ १३ राष्ट्र बसेका थिए ।

नेपालका दुई ठूला शक्तिशाली छिमेकी भारत तटस्थ र चीन विपक्षका उभिएका बेला नेपालले युक्रेनको पक्षमा खुलेर मतदान गरेको थियो ।
तर पछिल्लो पटक २४ चैतमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा भने नेपाल युक्रेनको पक्षमा उभिन सकेन । रुसले युक्रेनमा मानवअधिकारको हनन् गरेको भन्दै परिषद् सदस्यबाट रुसलाई हटाउनुपर्ने प्रस्तावमाथि मतदान भएको थियो । उक्त मतदानमा नेपाल तटस्थ बस्यो । यसअघि रुसी ज्यादतीविरुद्ध उभिँदै आएको नेपालले पछिल्लो पटक त्यो साहस देखाउन सकेन ।

उद्धारमा सधैं कठिनाइ 

यस वर्ष नेपालले दुई देशबाट आफ्ना नागरिकको आपतकालीन उद्धार गर्न पर्यो । तर शैली भने पुरानै– सधैं अरुको भरपर्नु पर्ने ।
तालिबान समूहले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि र रुसले युक्रेनमा आक्रमण गरेपछि सरकारले त्यहाँ रहेका नेपालीको उद्धार गरेको थियो ।

अफगानिस्तानबाट ९४० र युक्रेनबाट ५११ जनाभन्दा बढी नेपालीको उद्धार गरिएको थियो । उद्धारमा गैर–आवासीय नेपाली संघ (एनआरएनए) र अन्य मित्रराष्ट्रले सहयोग गरेका थिए । सम्बन्धित देशमा रहेका नेपालीले उद्धारका लागि गुहार मागिरहँदा सरकारसँग ती देशमा नेपालीको संख्या कति र कहाँ छन् भन्ने तथ्यांक थिएन । उद्धार कार्य पहिला जसरी भगवान भरोसा चल्दै आएको थियो, यस वर्ष पनि त्यही दोहोरियो ।

अन्य…

वर्षको सुरुवात भारतलाई एक्ल्याउने चीनको प्रयासबाट भएको थियो । कोराना महामारी सुरु भएपछि उच्चस्तरीय भ्रमण रोकिएका बेला १४ वैशाख २०७८ मा चीनले विदेशमन्त्री स्तरीय भर्चुअल बैठकको आयोजना गरेको थियो । बैठकमा चीन, नेपाल, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंकाका विदेशमन्त्री सहभागी थिए । बैठकमा कोरोना महामारीका विषयमा छलफल भएको थियो ।

चीनले यो वर्ष नेपालको आन्तरिक मामिलामा निकै चासो बढायो र सहभागी पनि बन्यो । खासगरी एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई फुट्न नदिन (ओली र प्रचण्डलाई मिलाउन) नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले निकै दौडधुप गरिन् । कहिले बालुवाटार त कहिले खुमलटार । त्यतिले पुगेन भनेर बेइजिङबाटै उच्चस्तरीय चिनियाँ नेताले टेलिफोनबाट समेत कुराकानी गरे । कसैको केही लागेन । ओली र प्रचण्ड अलग भए ।

यसै वर्ष प्रधानमन्त्री देउवाले बेलायतको भ्रमण गरेका थिए । ग्लास्गोमा आयोजना गरिएको कोप–२६ को सम्मेलनमा सहभागी हुन उनी बेलायत पुगेका थिए । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंका राष्ट्रपति गोटाबाय राजपाक्षेसँग भेट गरेका थिए ।
श्रीलंकाको राजधानी कोलम्बोमा १६ चैतमा आयोजना गरिएको बिमस्टेकको पाँचौ शिखर सम्मेलनमा प्रधानमन्त्री देउवाले भर्चुअल रूपमा सहभागी जनाएका थिए ।

२ माघमा नेपालले चार्टर प्लेनमा अफगानिस्तानमा मानवीय सहायता पठाएर उदारतासमेत प्रस्तुत गरेको थियो ।
यस वर्ष कोरोना महामारी नियन्त्रण गर्न आवश्यक पर्ने खोप नेपालले कूटनीतिक प्रयासमार्फत भित्र्याउन सफल भएको देखिन्छ, जसकारण लाखौ जनता कोरोना खोप लगाउनबाट वञ्चित हुन परेन ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ नौ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ एक  पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४८  पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ  ६८ पैसा र बिक्री दर नाै रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा र बिक्री दर ३३ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८७ पैसा र बिक्री दर नाै रुपैयाँ  ९२ पैसा कायम भएको छ ।

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबि राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर गएराती १० बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी मानेभङज्याङले जनाएको छ ।

वर्ष समीक्षाः अब्दुल्लाहमय नेपाली फुटबल

काठमाडौं । कोरोना भाइरसका कारण नेपाली खेलकुद चल्न सक्ने अवस्थामा थिएन । लथालिंग थियो । कुनै संघ आफ्ना कार्यक्रम अगाडि बढाउन सक्ने अवस्थामा थिएनन् । तर यस्तो अवस्थामा नेपाली खेलकुदको सबैभन्दा ठंलो र चलायमान रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने प्रशिक्षक विभागमा रहने गरी कुवेत नागरिक अब्दुल्लाह अल्मुताइरीलाई नेपाल झिकायो ।

अब्दुल्लाहलाई एन्फाका तत्कालीन प्रवक्ता किरण राईले सातदोबाटोस्थित मुख्यालयमा २२ चैत २०७७ मा मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरे । यो त भयो वर्ष २०७७ को  कुरा । अहिले हामी वर्ष २०७८ को अन्त्यमा छौं । याे वर्ष नेपाली फुटबलमा देखिएका, भएका समसामयिक विषयलाई प्रस्तुत गर्नेछौं ।

कोरोनाका कारण ०७८ वर्षको सुरुआतमा सरकारले अत्यावश्यकबाहेक अन्य कार्य गर्न नदिने निर्णय गर्‍याे । यस्तो अवस्थामा पहिलो पटक भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) भने जारी रह्यो । सात टोली सहभागी रहेको एनएसएलमा वैशाख र जेठमा आयोजना भएको थियो ।

एसएसएस समाप्तिसँगै प्रशिक्षक अब्दुल्लाहले कतार फिफा विश्वकप-२०२२ छनोटको दोस्रो चरणका लागि ३२ खेलाडीलाई प्रारम्भिक छनोटमा स्थान दिए । जसमा त्यसअघिका नियमित र नयाँ १३ खेलाडी टिम बाहिर रहे । ६ नयाँ खेलाडीलाई पहिलो पटकअवसरसमेत दिए । यसपछि उनले आफ्नो पहिलो भ्रमणका रूपमा इराकतर्फ लागे । जहाँ टोलीले सुधारिएको खेल प्रदर्शन गर्दै घरेलु टोलीलाई ६-२ को नतिजा सुम्पियो ।

यो त भयो वर्षको सुरुआत र नेपालले अब्दुल्लाहको प्रशिक्षणमा खेलेको पहिलो प्रतियोगिता । पहिलो खेलसँगै प्रशिक्षक अब्दुल्लाहको चर्चा चुलिँदै गयो । यसपछि नेपाली टिमले कुवेतमा दोस्रो चरणका खेल खेल्यो । २० जेठमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्याे । २४ र २८ जेठमा नेपाल क्रमशः जोर्डन र अष्ट्रेलियासँग समान ३-० अन्तरले पराजित भयो ।

यी भए मैदानभित्रका कुरा । मैदान बाहिरसमेत प्रशिक्षक अब्दुल्लाह सधै चर्चाको शिखरमा रहे । १० साउनमा उनले अप्रत्यासित निर्णय गरे । एन्फाको बैठक चलिरहँदा एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले आफूलाई बरम्बार तनाव दिएको र आफू मुख्य प्रशिक्षक पदबाट राजीनामा दिन एन्फा गइरहेको फेसबुकमा ‘स्टाटस’ राखे । यसरी यो विवाद एक्कासि समाजिक सञ्जालमा त भरियो भरियो । एन्फा बैठकसमेत प्रभावित भयो ।

यसपटक आमसमर्थकको गाली पाएका वरिष्ठ उपाध्यक्षले फेसबुक बन्द गर्नसम्म पुगे । यसरी यो घटनाले आमसर्वसाधारणलाई तताइरहेको बेला प्रशिक्षक अब्दुल्लाहले भने एन्फामा कुनै राजीनामा पत्र बुझाएका थिएनन् ।

आगामी १५ जेठ हुँदै ६ असारलाई सरेको एन्फा निर्वाचनलाई प्रभावित पार्दै आफूविरुद्ध षडयन्त्र रचिएको पंकजले तत्काल पत्रकार सम्मेलन गर्दै बताएका थिए । जुन विषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासमेत मुछिए । जसलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समिति नै बनाएर छानबिन गर्ने निर्णय गर्‍याे । तर त्यसले कुनै आधार पाउन सकेन ।

बेलाबेला समाजिक सञ्जालमा आफ्ना समर्थकलाई मख्ख बनाउन विभिन्न उपाय अपनाउने अब्दुल्लाह सधै चर्चाको विषय बनिरहे । यो चर्चा र यस्ता घटना माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा समेत उनले देखाए ।

नेपाल टिम पहिलो पटक साफ इतिहासमा फाइनल पुग्दा उनले नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरे । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल चिरपरिचित भारतसँग ३-० अन्तरले पराजित भयो । यसपछि उनले आफू नेपाल नफर्कने र घर जाने निर्णय लिए । तर एन्फासँग उनले पुन: कर्मथलो फर्कने र अर्काे एक वर्षका लागि सम्झौता गर्ने निर्णय गरे । सोहीअनुसार नेपाल फर्किए र दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एक वर्ष नेपालमै बिताउने निर्णय लिए ।

प्रशिक्षक अब्दुल्लाह नेपालमा कुनै पनि समय गुमनाम रहेनन् । नेपाल आएपछि नै सामाजिक सञ्जाल खोलेर चलेका र चर्चामा आएका खेलकुद पत्रकारलाई साथी बनाएका उनी हाल करिब एक लाख हाराहारी मानिसहरूले पछ्याउने (फलो गरिएको) मा रहेका छन् ।

उनको नेतृत्वमा नेपालले हालसम्म १६ खेल खेलेको छ । जसमा केही आधिकारिक प्रतियोगिता, आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, केही गुपचुप मैत्रीपूर्ण र केही आधिकारिक नभएका खेल छन् । नेपालले खेलेको १६ खेलमध्ये आधा अर्थात नौ खेलमा हार बेहोरेको छ । पाँच खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको छ । यस्तै ३६ गोल बेहोर्दा १६ गोल गरेको छ ।

यस बीचमा नेपालले कतार फिफा विश्वकप-२०२२ छनोटअन्तर्गत दोस्रो चरणका खेल खेल्यो । यस्तै साफ च्याम्पियनसिपको फाइनलसहित पाँच खेल खेल्दा आठ मैत्रीपूर्ण खेल खेल्यो ।

यस वर्ष एन्फाले राष्ट्रिय टिमको खेलसँग सँगै आफ्नो तालिकामा रहेको ए डिभिजन लिग र बी डिभिजन लिगसमेत आयोजना गर्‍याे । मछिन्द्र फुटबल क्लब लगातार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेर महादेशीय कप खेल्न छनोट भयो । यस्तै ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबले शीर्ष डिभिजन लिगको हैसियत गुमाए ।

यता, बी डिभिजन लिग च्याम्पियन बन्दै चर्च ब्वाईज युनाइटेड र उपविजेता बन्दै खुमलटार युथ क्लबले शीर्ष डिभिजन लिगको हैसियत बनाए ।

यस वर्ष पुरुष फुटबलको तुलनामा महिला खेल कम भयो र प्रदर्शनसमेत खस्कियो । महिला टिमले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो भने एक एएफसी महिला एसियन कप छनोट खेल्यो । समग्रमा महिला टोलीले चार अन्तर्राष्ट्रिय खेल खेल्यो ।

यस्तै उमेर समूहमा महिला टोलीले यु-१९ र यु-१८ साफ च्याम्पियनसिप खेले । जहाँ युवा टोली सफल हुन सकेनन् । वर्ष २०७८ को अन्त्यमा महिला लिग चलिरहेको छ भने सहिद स्मारक सी डिभिजन लिग हुने तय थियो । तर पुनः एन्फा भित्रको विवादका कारण यो प्रतियोगिता छायाँमा परेको छ र १० दिन पर थकेलिएको छ ।

वर्षको अन्त्यको कुरा गर्दै गर्दा आगामी चुनावले माहोल तातिएको छ । अध्यक्षका प्रत्यासी देखिएका हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङबीच ठूलो रस्साकस्सी चलेको छ ।

यस वर्ष फुटबल टोलीले खेलेको १६ खेल
१. नेपालविरुद्ध इराकः २-६
२. नेपालविरुद्ध चाइनिज ताइपेइ २-०
३. नेपालविरुद्ध जोर्डनः ०-३
४. नेपालविरुद्ध अष्ट्रेलियाः ०-३
५. नेपालविरुद्ध भारतः १-१
६. नेपालविरुद्ध भारतः १-२
७. नेपालविरुद्ध ओमानः २-७
८. नेपालविरुद्ध माल्दिभ्सः १-०
९. नेपालविरुद्ध श्रीलंकाः ३-२
१०. नेपालविरुद्ध भारतः ०-३
११. नेपालविरुद्ध बंगलादेशः १-१
१२. नेपालविरुद्ध भारतः ०-३
१३. नेपालविरुद्ध मौरिससः १-०
१४. नेपालविरुद्ध मौरिससः १-०
१५. नेपालविरुद्ध थाइल्यान्ड ०-२
१६. नेपालविरुद्ध चोनबुरी एफसीः १-३

विस्का जात्रा : आज साँंझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने 

भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँंझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका-५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो ।  जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ । प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ ।

वीरगन्जमा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ 

पर्सा । वीरगन्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् । रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

संघीय सरकारले सडक नबनाउँदा बुटवलका मेयर भए अलोकप्रिय

बुटवल । संघीय सरकारको क्षेत्राधिकारमा पर्ने बुटवलको मुख्य सडकका कारण बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी अलोकप्रिय बनेका छन् । संघ सरकारले बनाउनुपर्ने आयोजना समयमै नबनाइँदा यसको दोष नागरिक स्तरबाट बुटवलका मेयरले खेप्नुपरेको हो ।

स्थानीय तह निर्वाचनका लागि बुटवल उपमहानगरपालिका प्रमुखमा फेरि दोहोरिन चाहेका सुवेदीलाई यो सडक नै मुख्य तगारो बनेको छ । उपमहानगरको क्षेत्रभित्र पर्ने भित्री सडकहरूमा थुप्रै काम भए पनि मुख्य राजमार्ग क्षेत्र अस्तव्यस्त हुँदा बुटवलवासीले मेयरले केही गर्न नसकेको आरोप लगाउँदै आएका छन् । जसका कारण उनले टिकट पाउने सम्भावनासमेत कमजोर बनेको आंकलन गर्न थालिएको छ ।

रुपन्देहीको बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएको भत्काएको एक वर्ष बित्यो । तर, घर भत्काएको ६ महिनासम्म ठेकेदार कम्पनीले सडक निर्माणको कामलाई अगाडि बढाउनुको साटो बेपत्ता भयो । त्यसपछि सम्पर्कमा आए पनि ठेकेदारले काम अगाडि बढाएन ।

यो सडक निर्माणको ठेक्का साढे तीन वर्षअघि नै द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले यसअघि अब काम अगाडि बढाउने प्रतिबद्धता जनाए पनि काम नगरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । ‘अब असारपछि नयाँ टेण्डर प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम लामो समय रोकिएको थियो । पछिल्लो पटक सडक विस्तार आयोजनाले गत वर्षको पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घर टहरा भत्काइएको थियो ।

पछिल्लो रिट निवेदनमा गत वर्षको असार ९ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गतवर्षको पुस २० गते गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा सबै घर भत्काइसकिएको छ । सडक निर्माणको जिम्मा पाएको कन्जनजंघा बिरुवा जेभिले पेश्कीस्वरुप आठ करोड रुपियाँ लगिसकेको छ । उसले ४१ करोड २३ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । आगामी असारसम्म सडक बिस्तारको काम सक्ने गरी ठेकेदारलाई कार्यादेश दिइएको थियो ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा बुटवलकै बाटो देखाएर विपक्षीले ‘प्रहार’ गिरहेको छ । आफ्नै क्षेत्राधिकार नभएको सडककै कारण बुटवलका नगर प्रमुख सुवेदीले अपजस पाइरहेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीका अनुसार मुख्य राजमार्ग क्षेत्रमा संघ सरकारले काममा ढिलाइ गरे पनि बुटवलका आन्तरिक बाइपास सडक भने सुन्दर बनेका छन् । नगर प्रमुख सुवेदीले अबको एक महिनामा मुख्य राजमार्ग बाहेक बुटवलका सबै बाटोहरू नाली सहित फराकिला र चिटिक्क बन्ने बताए ।

उनले बुटवलको सडकमा संघीय सरकारले, सडक विभागले ठेक्का लगाएका ठाउँमा दोहोरो खर्च गर्न नपाइने भएकाले आफैँले लगानी गर्न नसकेको बताए । ‘यही सडकले बुटवलवासीलाई अन्याय भएपछि मैले संघीय सरकारलाई भनेको छु, ठेकेदारलाई निलम्बन गरेर बुटवललाई अख्तियारी दिनुस् । डेढ महिनामा सडक पिच हुन्छ । तर विभागले यो सुन्दैन,’ उनले भने ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा सडक बन्न नदिन गृहजिल्ला रुपन्देहीका काँग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले भूमिका खेलिरहेको पनि एमाले वृत्तमा चर्चा छ । ‘विष्णु पौडेललाई असफल देखाउन गृहमन्त्री खाणले सडक बन्न नदिन सरकारमा बसेर भूमिका खेलिरहेको हाम्रो आशंका छ,’ एमाले बुटवल उपमहानगरकमिटीका एक पदाधिकारीले भने ।

विप्लवको बहानामा चुनाव सार्न खोजिँदै छ, अध्यादेश ल्याउने प्रयास जारी छ : ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने बहनामा घोषित निर्वाचन सार्ने योजनामा रहेको आरोप लगाएका छन् ।

ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चन्द नेतृत्वको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउनका लागि अध्यादेशमार्फत कानुन ल्याएर निर्वाचन सार्न खोजेको भन्दै त्यो कदम राष्ट्र र जनताको विरुद्ध हुने ओलीको आरोप छ ।

‘विप्लवजीको निर्वाचनमा भाग लिन पाउनु पर्ने बहाना बनाएर चुनाव सार्न खोज्दैछ, त्यसका लागि सरकारले अध्यादेश ल्याउन लागिरहेको छ,’ ओलीको आरोप छ, ‘पाँच दलीय गठबन्धनको सिकार भएर कहीँ विप्लवजीहरू मौका पायो भने सफाइ पायो भने चुनावमा लड्ने बहाना बनाइरहनु भएको त छैन ? त्यस बहानामा ३० गते हुने निर्वाचन सार्न मिल्दैन, सार्न पाइँदैन, यो देशको  विरुद्ध षडयन्त्र हुन्छ, जनताको विरुद्ध हुन्छ ।’ ओलीले चन्द नेतृत्वले उठाएका माग अविलम्ब पुरा गर्न पनि सरकारलाई दबाब दिएका छन् ।

भरतपुरको २९ वडाका कांग्रेस सभापतिको एकै स्वर- माओवादीले मेयर पाए सबै पदमा स्वतन्त्र उम्मेदवार

चितवन । भरतपुर महानगरपालिकाको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्ने सत्ता गठबन्धनको अनौपचारिक निर्णय बाहिरिएपछि कांग्रेसको महानगरका वडा सभापतिहरूले असन्तुष्टि जनाएका छन् ।

सत्ता गठबन्धनका दलले अघिल्लो चुनावमा जितेका पद यथावत् रूपमा पाउने र एमालेले जितेका पदमा भागबन्डा गर्ने अनौपचारिक निर्णय बाहिरिएको थियो । उक्त निर्णय कार्यान्वयन भएमा भरतपुर महानगरपालिका स्वतः माओवादी केन्द्रले पाउने छ ।

नेपाली कांग्रेस वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गरेको हो । अनौपचारिक निर्णयअनुसार भएमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका छन् ।

वडा सभापतिको संयुक्त निर्णय विपरीत गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने भरतपुर–१९ कांग्रेस सभापति तामाङले बताए ।

बैठकको निर्णय वडा सभापतिहरूले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका गरेका छन् । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरूको निर्णयसँग मेल आएको बताए ।

केन्द्र, जिल्ला र महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि वडा सभापतिहरू कुनै पनि गठबन्धनको पक्षमा नरहने निष्कर्ष निकालेका छन् । वडा सभापतिहरूले आफूहरूले भनेको नभए गठबन्धनका सबै उम्मेदवारहरूलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन् ।

सुपारी आयतदेखि गभर्नर निलम्बनसम्म प्रधानमन्त्री देउवालाई शेखर कोइरालाका ९ प्रश्न

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई इतिहास सम्झाउँदै नौवटा प्रश्न गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठनका कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले केन्द्रीय समितिको निर्णयविपरीत सभापति देउवा हिड्न खोजेकोदेखि गभर्नर निलम्बन, सुपारी आयात, राजदूत नियुक्ति र टेलिकममा निर्देशक नियुक्तिसम्मका नौवटा प्रश्न गरेका हुन् ।

केन्द्रले स्थानीय तहको उम्मेदवार तय गरे कांग्रेस र गठबन्धन दुवैलाई अप्ठ्यारो

केन्द्रीय सदस्य कोइरालाले कांग्रेस केन्द्रीय समितिको ‘आवाश्यकता र औचित्यका आधारमा स्थानीय तहले निर्वाचनमा तालमेल गर्ने’ पार्टीको आधिकारिक निर्णयविरुद्धमा सभापति देउवा लाग्न खोजेको आशंका गरेका छन् । केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जान नहुने भन्दै कांग्रेस एक्लैले निर्वाचन लड्नु पर्ने तर्क गरेका कोइरालाले केन्द्रबाट उम्मेदवार तोक्ने काम गरिए पार्टी र गठबन्धन दुवैलाई अप्ठ्यारो पर्ने बताए ।

‘केन्द्रीय समिति बैठकले आवाश्यकता र औचित्यलाई मध्यनजर गर्दै स्थानीय तहले तालमेल गर्ने सक्ने भनिएको छ । त्यो कुरालाई नजर अन्दाज गरेर केन्द्रबाट उम्मेदवार तोक्न थाल्यौँ भने कांग्रेसलाई त अप्ठ्यारो पार्छ, सत्ता गठबन्धनलाई पनि अप्ठयारो पार्ने देखिन्छ,’ कोइरालाले भने । स्थानीय तहमा तालमेल गर्ने भए सोको निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिएमा मात्र मूर्तरुप पाउने नत्र परिणाम उल्टो हुने कोइरालाको भनाइ छ ।

कांग्रेसका कुनै सभापतिले नगरेको गठबन्धन देउवाले किन गर्न खोजेका हुन ?

कांग्रेसका यसअघिका कुनै पनि नेतृत्वले कम्युनिस्टहरूसँग तालमेल गरेर निर्वाचन नगएको र पराजित हुने पूर्ववतः जानकारी हुँदा पनि कांग्रेस एक्लै निर्वाचनमा गएको उदाहरण पेस गर्दै ‘के कारणले अहिले तालमेल गर्नु परेको हो ? ’ भन्ने प्रश्नसमेत कोइरालाले गरेका छन् ।

‘बिपी कोइरालाले कम्युनिस्टसँग मिलेर जानु हुँदैन भनेर पहिला नै भन्नुभएको थियो । कांग्रेसको आदर्श र सिद्धान्त बिपी कोइरालाले नै प्रतिपादन गर्नु भएको हो, अब किन त्यो सिद्धान्त र आदर्शवाट च्यूत हुनु परेको हो ? मैले बुझ्न सकेको छैन्,’ कांग्रेसका संस्थापक सभापतिलाई सम्झँदै कोइरालाले भने ।

त्यसो त कोइरालाले अर्का सभापति कृष्णप्रसाद भट्टराईको पनि उदाहरण दिएका छन् । ‘पहिलो जनआन्दोलनपछि किसुनजीको सरकारमा एमाले पनि थियो  । तर, निर्वाचनमा हामीसँगै गएनाैँ, अलग अलग लड्यौँ, कांग्रेसले बहुमत ल्यायो,’ं कोइरालाले अगाडि भने, ‘त्यति मात्र होइन, दोस्रो जनआन्दोलनपछिको सरकारमा पनि एमाले र माओवादी थिए । तर,  संविधानसभामा पनि कांग्रेस एक्लै गएको हो । गिरिजाबाबुले यो निर्वाचनमा कांग्रेस हार्दै छ, लोकतन्त्रले जित्दै छ सुरुमा नै भन्नुभएको थियो । तर, त्यो बेला पनि हामी मिलेनौँ, मिलेर चुनावमा गएनौँ ।’
कांग्रेसका हालसम्मका सभापतिले पार्टी पराजय हुँदा पनि एक्लै निर्वाचनमा लगेर जनमत कायम गरिरहेको उदाहरण दिनका लागि अर्का सभापति सुशील कोइरालालाई पनि सम्झेका छन् । ‘सुशील कोइरालाको पालमा पनि हामीहरू निर्वाचनमा गयौं, त्यो निर्वाचनमा पनि हामी एक्लै लडयौँ, आज के कारणले यो अवस्था आयो र गठबन्धन गर्ने अवस्था आयो ? यो सबैले बुझ्नुपर्ने हुन्छ ।’

समावेशी आधारमा राजदूत चयन भएनन् 

कांग्रेस संस्थापक बिपी कोइरालाले समावेशी र समानुपातिकको आदर्श स्थापित गरे पनि हालै भएको २० राजदूत नियुक्ति गर्दा सो आदर्श प्रधानमन्त्री देउवाले उल्लंघन गरेको आरोप लगाएका छन् ।

‘२० जना एम्बेसडर नियुक्ति गर्दा समावेशी भएको देखिँदैन,’ कोइरालाले भनेका छन् ।   गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवाका आठजना र राजनीतिकतर्फका १२ जना नियुक्ति गर्दा खसआर्य समुदायबाट बढी मात्रामा र मधेसी, थारु, महिला, मुस्लिम समावेशी नभएको मात्र होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँदेखि ऊर्जामन्त्री पम्फा भुसालका ज्वाइँलाई पनि नियुक्ति दिएको भन्दै चर्को आलोचना भएको विषयलाई कोइरालाले प्रश्नको रुपमा उब्जाएका छन् ।

टेलिकम निर्देशक नियुक्तिमा असन्तुष्टि

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्तिका विषयलाई पनि लिएर कोइरालाले असन्तुष्टि जनाएका छन् । ‘मैले सुनेको उहाँ (पौडेल) ओम्नीमा पनि संलग्न हुनुहुन्छ, त्यस्ता विवादित व्यक्तिलाई किन नियुक्त भयो ?,’ कोइरालाको प्रश्न छ, ‘हामी सबैलाई सरकारले यसको जवाफ दिनुपर्छ, गुड गभरमेन्सको कन्टेन्टबाट हेर्नु भयो भने पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्व हुनुपर्ने जरुरी छ ।’ तर, २४ चैतमा नियुक्त भएका पौडेलका विषयमा सरकारले कुनै जवाफ नदिएको भन्दै कोइरालाले थप असन्तुष्टि जनाएका छन् ।

गभर्नर निलम्बनमा आक्रोश

अर्थतन्त्रमा नकरात्मक सूचक बढिरहेको बेला अर्थतन्त्रलाई सही दिशा दिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको विषयप्रति पनि कोइरालाले असन्तुष्टि जनाएका छन् ।

अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरबीच संसारभरि खटपट हुने उदाहरण दिँदै तालमेल मिलेन भन्दै निलम्बन गर्ने निर्णयलाई विश्व बंैंकदेखि दातृ निकायले पनि सुक्ष्म तरिकाले हेरिरहेको कोइरालाको भनाइ छ ।

‘अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरबीच संसारभरि खटपट हुन्छ, मौद्रिक नीति उसैले बनाएर अर्थ मन्त्रीका गलत क्रियाकलाप रोक्छ । तर, नेपालको अर्थतन्त्र ओरालो लागिरहेको बेला राष्ट्र बैंकले गभर्नरलाई निलम्बन गर्नु सरासर गलत कुरा हो । त्यसले झन् अप्ठयारो अवस्थामा जान्छ भन्नेमा शंका छैन,’ कोइरालाले भने, ‘वर्ल्ड बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषदेखि दातृ निकाय र राष्ट्रले सुक्ष्म ढंगले हेरिरहेका छन् । मन्त्रीसँग तालमेल नमिलेको भन्दै निलम्बन गर्नु गैर जिम्मेवारी रुपमा आएको छ,’ गत २५ चैतको मन्त्रिपरिषद बैठकले गभर्नरलाई निलम्बन गरी छानबिनको दायरामा राखेपछि कोइरालाले आक्रोश पोखेका हुन् ।

४० करोड रुपैयाँ शंकास्पद

पृथ्वीबहादुर शाहले अमेरिकावाट ल्याएको भनिएको ‘शंकास्पद’ ४० करोड रुपैयाँ फुकुवा गर्न दबाब दिएर देउवा सरकारले गम्भीर गल्ती गरेको दाबी गरेका छन् । ‘अचानक ४० करोड रुपैयाँ नेपालमा आउँछ, त्यसको छानबिन गर्ने निकाय राष्ट्र बैंक हो, त्यसलाई छानबिन गर्न अधिकार नै दिइँदैन, यो त अचम्मको कुरा हो,’ कोइरालाले सो रकममाथि छानबिन गर्न राष्ट्र बैंकलाई दिनुपर्ने तर्क राखेका छन् ।

सत्य बताउँदा कारबाही गर्नु दुराशयपूर्ण

निर्यात नभई आयात मात्र हुँदा विदेशी सञ्चिति रकम ६ महिनाका लागिभन्दा नभएको प्रतिवेदन सार्वजनिक गरेको भन्दै गभर्नरलाई कारबाही गर्नु गलत भएको कोइरालाको टिप्पणी छ ।

‘विदेशी आयातका लागि सञ्चिति रकम ६ महिनाका लागि मात्र छ, विलासिताका समान रोक्नुहोस् भनियो, तर त्यो लिक गरेको भनेर कारबाही गरिदिने ?,’ कोइरालाको प्रश्न छ । विलासिताको समान आयातमा रोक लगाउन सुझाव दिएर राष्ट्र बैंकले ठिक गरेको कोइरालाको टिप्पणी छ ।

सुपारी र मरिच आयातमा प्रश्न

विदेशी रकम सञ्चितिले ६ महिना मात्रै धान्न सक्ने अवस्था हुँदा सुपारी, मरिच, छोकडा र मटर दाना आयात गर्न दिएकोप्रति पनि कोइरालाले आपत्ति जनाएका छन् । ‘सुपारीको आयात, मरिचको आयात, छोकडाको आयात, मटर दानाको आयात किन चाहियो ?,’ कोइरालाको प्रश्न छ, ‘त्यसले विदेशी रकम सञ्चिति हुन्छ ? जे मन लाग्यो, त्यो आयात गर्न अनुमति दिने, त्यो आयात नगर भनेर राष्ट्र बैंकले भन्न सक्दैन र, सक्छ नि,’ विलासिता वस्तु आयातमा प्रतिबन्ध लगाएर मुलुकका अर्थतन्त्र जोगाउने राष्ट्र बैंकका गभर्नर अधिकारीको कोइरालाले बचाउसमेत गरेका छन् ।

निर्वाचन सार्ने अभिव्यक्तिप्रति आपत्ति 

३० वैशाखका लागि तय भएको निर्वाचन सार्न सकिने भन्दै सत्तारुढ गठबन्धनका नेताहरूले दिएको अभिव्यक्तिप्रति कोइरालाले आपत्ति जनाएका छन् । ‘गठबन्धनका शिर्ष नेताहरूले बोलिदिएका कुराले तपाईहरूलाई निर्वाचन हुन्छ कि हुँदैन भने लागेको छ भने म भन्छु, निर्वाचन हुन्छ, हुन्छ, हुन्छ, कसैले रोकेर निर्वाचन रोकिँदैन,’ कोइरालाले आश्वस्त पार्दै भने ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत २८ चैतमा नेत्रविक्रम चन्द समूह पनि निर्वाचनमा भाग लिने खण्डमा निर्वाचन सार्न सकिने अभिव्यक्ति दिएका थिए भने २६ चैतमा ७ असोज २०७४मा निर्वाचित भएका स्थानीय जनप्रतिनिधिलाई पाँच वर्षसम्म काम गर्न नदिएर निर्वाचन आयोगले उनीहरूको संवैधानिक अधिकार हनन् गरेको विषयतर्फ इंगित गर्दै कोइरालाले निर्वाचनमा विश्वस्त हुन आग्रह गरे ।

करेन्ट लागेर युवकको मृत्यु

सर्लाही । सर्लाहीको मलंगवामा चापाकलबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–१०, निवासी ३६ वर्षका अवदेशकुमार गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा मोटर जडान गरेको चापाकल चलाउने क्रममा गुप्तालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दिउँसो करेन्ट लागेर अचेत बनेका गुप्तालाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक गुप्ताको शव परीक्षणको लागि प्रादेशिक अस्पतालमै राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

जुम्लामा जिप दुर्घटना १० घाइते 

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना हुँदा सबै १० जना यात्रु घाइते भएकाे बताए ।

घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको छ । ‘अहिले घाइतेको उद्धार भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एम्बुलेन्स घाइते ल्याउन गइरहेको छ,’ डीएसपी चन्दले भने । तीव्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा खसेकाे स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।