समाचार | Page 2019 of 5934 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

समाचार

उठाइयो हात नभएको लिंगो 

भक्तपुर ।  बिस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (नेपाल भाषामा ल्योसिंद्यो) ठडाइएको छ । प्रत्येक वर्ष वर्षको अन्तिम दिन दिउँंसो यहाँं यसरी नै लिंगो उठाउने गरिन्छ । यो लिगोलाई स्थानीय टोलबासीले उठाउने गरिन्छ । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी हेर्न पुग्छन् ।

प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । यो जात्रा हेर्न दसौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।

आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् । दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसिसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

यसअघि यो उपलब्धी नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले ट्वान्टी २० अलराउन्डर वरीयताको २५औँ स्थान हासिल गरेका थिए । घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।

यस्तै, ट्वान्टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता वरीयताको ३७औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८औँ स्थानमा छन् । यस्तै, ट्वान्टी २० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६औँ स्थानमा छन् ।

ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६औँ र दीपेन्द्र ३८औँ स्थानमा छन् । यस्तै, ब्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९औँ स्थानमा छन् । यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८औं स्थानमा छन् ।

कमल थापा नेतृत्वको राप्रपाले एमालेसँग सहकार्य गर्ने, सूर्य चिन्हमा चुनाव लड्ने सहमति

काठमाडौं । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकर्या गर्ने सहमति भएको छ । दुई पार्टीबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने विषयमा पाँच बुँदे सहमति भएको हो ।

सहमतिअनुसार राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लड्न पाउनेछ । यसता उम्मेदवार निर्वाचित भएपश्चात राप्रपा नेपालकै हुने सहमति दुई पार्टीले गरेका छन् । सहमतिपत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने र राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने सहमति समेत भएको छ ।

त्यस्तै एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमति समेत भएको छ ।  दुबै दलले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईजना प्रहरी कर्मचारीको मृत्यु, सातजना घाइते 

फाईल तस्बिर

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा सातजना प्रहरी घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा १७  च १०९४ नम्बरको बोलेरो आज बिहान ९ बजे  भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा परी प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार भूपेन्द्र खनाल, प्रहरी जवान रूपन विष्ट र चालक लीलाप्रसाद खनाल घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारको लागि काठमाण्डौको नेपाल प्रहरी अस्पताल ल्याईएको छ भने अन्यको ओखलढुङ्गाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ग्रेट हिमालयको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका मिहिराज

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका अनुभवी मिहिराज वासन्थालाई नियुक्त गरेको छ । बुधबार एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा तीन महिनाको लागि वासन्थालाई अनुबन्ध गरेको जनाएको हो ।

उनले जुलाई २०२२ मा एकेडेमीमा प्रशिक्षक दिने एकेडेमीले जनाएको छ ।  प्रशिक्षक मिहिराजले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लेभल थ्री कोर्ष गरेका छन् ।

मिहिराजले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा समेत प्रशिक्षकको रूपमा काम गरेका छन् । उनीसँगै १५ वर्ष क्रिकेट प्रशिक्षकको रुपमा काम गरेको अनुभव भएको एकेडेमीले जनाएको छ ।

मिहिराजले श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टोलीको सहायक प्रशिक्षकको रूपमा समेत काम गरेका छन् ।  ललितपुरको हात्तीवन र काठमाडौंको शान्तिनगरमा एकेडेमी सञ्चालनमा रहेको छ ।

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग गर्दै निर्वाचन आयोगले दियो सर्वोच्चमा निवेदन 

काठमाडौं । जनप्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।आयोगको आचारसंहिता जनप्रतिधिले पुनः स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेको थियो । तर, सर्वोच्चले उक्त प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्याधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदनमाथि सुनुवाइको पेसी न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अहिले निवेदनमाथि सुनुवाइ भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको उक्त व्यवस्था हटाउन माग गर्दे रिट हालेका थिए । उक्त रिटमा सर्वोच्चले ८ चैतमा आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले  महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो ।

वर्ष २०७८ : पुस्ता हस्तान्तरणदेखि खेलाडी र क्यान विवादसम्मले तातेको क्रिकेट वर्ष 

काठमाडौं । वर्ष २०७८ नेपाली क्रिकेटको लागि मिश्रित रह्यो । खेलाडीले मैदानमा आफूलाई प्रमाणित गरे । अनुभवी खेलाडीलाई प्रतिस्थापना गर्दै नयाँ खेलाडीको आगमनसमेत भयो ।  खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवादसँगै लगातार प्रतियोगिताले क्रिकेट क्षेत्र प्राय चर्चामा रहिरह्यो । यसै वर्ष नेपालले केही विदेशी भूमिमा त केही घरेलु मैदानमा प्रतियोगितासमेत खेल्यो ।

घर बाहिर भएका प्रतियोगितामा नेपाल आफ्नो लक्ष्य अनुसार सफलता पाउन सकेन । यद्यपि, घरेलु मैदानमा भएका शृंखला भने आफ्नो पक्षमा पार्न सफल भयो । यस वर्ष नेपालले घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय टी-२० शृंखला खेल्यो । दुबै घरेलु दर्शकमाझ आफ्नो पोल्टामा पार्‍याे ।

वर्षको सुरुवातमा नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय शृंखला खेल्यो । यस्तै वर्षको अन्त्यमा भएको नेपाल, मलेसिया र पुपुवा न्युगिनी (पीएनजी) सम्मिलिन टी-२० शृंखला पनि आफ्नै पोल्टामा पार्‍याे ।  यसबाहेक नेपालले टी-२० विश्वकपको ग्लोबल छनोट, आईसीसी विश्वकप क्रिकेट लिग-२, श्रीलंकामा अभ्यास खेल र घरेलु मैदानमा पीएनजीविरुद्ध एकदिवसीय शृंखला खेल्यो ।

यस वर्ष नेपाली क्रिकेट टिमले दुईवटा प्रशिक्षकसमेत पायो । पुस २०७६ मा खुला प्रतिस्पर्धामार्फत आएका डेभ वाटमोरले भदौमा आईसीसी लिग डिभिजन-२ पछि नेपाली टिम छाडे । उनकै नेतृत्वमा नेपालले गत वैशाखमा भएको टी-२० शृंखला जितेको थियो ।

पारिवारिक समस्या देखाउँदै वाटमोरले नेपाल छाडेलगत्तै उनको स्थान लिन पूर्वप्रशिक्षक पुबुदु दासानायके नेपाल आएका छन् । उनी विश्वकप ग्लोबल छनोटमा असफल भए पनि घरेलु मैदानमा यसै महिना भएको त्रिदेशीय टी-२० क्रिकेटको उपाधि भने नेपाललाई जिताउन सफल भए ।

टी-२० विश्वकपको ग्लोबल छनोटमा भने नेपाल सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग सेमिफाइनलमा ६८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । योसँगै नेपालले दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा गर्न सकेन ।

वर्ष २०७८ खेलाडीका लागि झनै विशेष रह्यो । केही खेलाडीले ठूला उपलब्धीसमेत हात पारे । यस्तै कीर्तिमानको भने चांङ नै लाग्यो । यस वर्ष नेपाली ब्याटरबाट तीन शतक निस्केका छन् । त्यसअघि जम्मा दुई नेपाली ब्याटरले शतक प्रहार गरेका थिए ।

यस वर्ष युवा ब्याटर कुशल भुर्तेलको नाममा पहिलो शतक बन्यो । उनले टी-२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाए । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए ।

वैशाखमा भएको टी-२० शृंखलामा प्रशिक्षक वाटमोरले डेब्यु गराए यता कुशलले पाँच अर्धशतक र एक शतकसहित ५७३ रन बनाइसकेका छन् ।

अर्काे शतक बनाउने खेलाडीमा सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी पर्छन् । उनले यस वर्ष एक शतकसहित पाँच अर्धसमत बनाए ।  उनले पीएनजीविरुद्ध भएको दोस्रो खेलमा १०५ रन बनाएका थिए । उनी नेपाली क्रिकेटमा एक हजार रन बनाउने एक्ला खेलाडीसमेत हुन् ।

शतक बनाउने तेस्रो खेलाडी हुन् युवा ब्याटर रोहितकुमार पौडेल । उनले घरेलु मैदानमा पीएनजीविरुद्ध १२६ रन बनाएका थिए । उनको नाममा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान छ ।

यता, अलराउण्डर करण केसीले कीर्तिमान राख्दै ह्याट्रिकसहित पाँच विकेट लिए । बलिङमा यस्तो प्रदर्शन गर्ने करण एक्ला नेपाली खेलाडी रहे । पीएनजीविरुद्ध टी-२० क्रिकेटमा ३ दशमलव ४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिएर ५ विकेट लिएका थिए ।

यी त भए मैदान भित्र खेलाडीले पाएका ठूला उपलब्धी । अब, मैदान बाहिरका कुरा गराैँ। एक समय नेपाली क्रिकेट क्षेत्रमा यस्तो पनि बन्यो, राष्ट्रिय टोलीको प्रशिक्षणमा  खेलाडी उपलब्ध पनि भएनन् । कारण थियो खेलाडी र क्यानबीचको विवाद ।

खेलाडी वर्गीकरणको विषयलाई स्वयं खेलाडीले क्यानमा कुरा उठाउनुको सट्टा मिडियाबाजी गरेको र आचारसंहिता उल्लघंन गरेको भन्दै क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित खेलाडीलाई केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गर्‍याे ।

क्यानको २९ मंसिरमा बसेको बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रलाई पदमुक्त साथै दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को सुरुवाती ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय लिएको थियो ।

६ महिना क्यानले कारबाही स्वरुप पारिश्रमिक रोक्का गर्ने र नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई जिम्मेवारी दिएपछि खेलाडी झनै आक्रोसित भए र विवाद झनै सतहमा आएको थियो ।

यसपछि खेलाडी नजिकै रहेको विश्वकप ग्लोबल छनोटको तयारीका लागि होटेल रिपोर्टिङ गर्न समेत आनाकानी गरे । करण केसीलगायत अन्य खेलाडीले बाहिरै रहेर राष्ट्रिय टिमका खेलाडीलाई साथ दिएर अभ्यासमा उपलब्ध भएनन् । यसपछि क्यान नेतृत्वसमेत लचकता अपनाएपछि खेलाडी  खेल्न तयार भएका थिए । यसपछि क्यानले कारबाहीसमेत फिर्ता लिएको थियो ।

यी त भए मैदान बाहिरका कुरा, अब फेरि मैदान भित्रका कुरा । वर्ष २०७८ मा क्रिकेटमा १२ खेलाडीले डेब्यु गरे । जसमा चार खेलाडीले टी–२० र एकदिवसीय (ओडीआई) मा डेब्यु गरे । यस्तै पाँच खेलाडीले टी-२० र तीन खेलाडीले ओडीआईमा डेब्यु गरे ।

कुशल भर्तेल, आसिफ शेख, सागर ढकाल र गुल्शन झा दुबै फर्म्याटमा डेब्यु गरे । यस्तै शाहव आलम, लोकेश बम, विवेक यादव, दिलीप नाथ र आलिद अन्सारीले टी-२० मा डेब्यु गरे ।  विक्रम सोब देव खनाल र भीम सार्कीले भने ओडीआईमा डेब्यु गरेका छन् ।

वर्ष २०७८ लाई सम्झिँदा यो वर्ष क्रिकेटर दीपेन्द्रमय भयो । चाहे त्यो मैदान भित्र या बाहिर होस् । यस्तै यस वर्षलाई भन्दा क्रिकेटमा पुस्ता हस्तान्तरण समेत भयो । १२ खेलाडीले डेब्यु गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, विकेट किपर विनोद भण्डारी, शरद भेषावकरजस्ता अनुभवी खेलाडीको स्थान युवा खेलाडीले लिएका छन् ।

यसबाहेक क्यानले आफ्नो वार्षिक साधारणसभा समेत सफलता पूर्वक सम्पन्न गर्न सक्यो । केही शृंखला आयोजना गर्‍याे । यस्तै  घरेलु महिला लिग, पुरुष टी-२० लिग र यु–१९ महिला लिग सम्पन्न भएका छन् ।

छबिस पाथिभेराका मतदाता भन्छन्- गठबन्धन नगरेकै बेस

धनगढी । बझाङ छबिस पाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिस पाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेकाे छ ।

काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूकाे जमघट छ । याे अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा(भलाभली) भए गरेका दुःख सुख बाँड्ने, आफन्तको हालखबर बुझ्ने र स्थानीय परिकार बाँडिचुडी खाने गरिन्छ । तर यस बर्ष भने परिस्थिती केही फेरिएको छ । एक महिनापछि हुन लागेकाे स्थानीय तह निर्वाचनको माहोल मेला पर्वमा देखिएकाे छ । दुई चार जना जम्मा हुने बित्तिकै चुनावकै बारेमा कुरा हुन थाल्छ ।

चुनावको अधिकांस विषय तालमेलकै वरिपरि हुने गरेकाे छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दलले गठबन्धन गर्ने प्रक्रिया बढाएका बेला छबिस पाथिभेरा गाउँपालिकाका मतदाता भने गठबन्धनको विपक्षमा उभिएका छन् ।

गठबन्धन गरेर जाँदा पाँच वर्ष नपुग्दै राजनीतिक खिचातानी हुने उनीहरूको बुझाइ छ । गठबन्धन गर्दा  राजनीतिक खिचातानी बढ्न सक्ने भन्दै दलहरूलाई एक्लाएक्लै निर्वाचनमा आउन आग्रह गरिरहेका छन् ।

‘माओवादी र एमालेले गठबन्धन गरी दुई तिहाइ नजिकको मत ल्याएकै हुन्,’ छबिसपाथिभेरा गाउँपालिका-५ का विष्णु सिंहले भने, ‘तर दुई दलको स्वार्थ नमिल्दा उनीहरू बिचैमा फुटे । अहिले सारा देशले दुःख पाएको छ । फेरि गठबन्धन गर्दा त्यही अवस्था आउन सक्छ । त्यसैले एक्लै चुनाव लड्नु पर्छ ।’

गठबन्धन गरेर चुनाव लड्न आउने उम्मेदवारलाई भोट नदिइने उनी बताउँछन् । उनले छबिसका मतदाता गठबन्धनको विपक्षमा रहेकाे पनि बताए ।  ‘दलहरूले छुट्टाछुट्टै रुपमा उम्मेदवार चयन गर्दै चुनावमा पठाए सक्षम र योग्य उम्मेदवारूलाई जिताउने मनसाय यहाँका मतदाताको देखिन्छ,’ उनले भने, ‘तर गठबन्धनलाई कसैले राम्रो मानेका छैनन्, दलहरूले मतदाताको भावना बुझ्नु जरुरी छ ।’

छबिस पाथीभेरा गाउँपालिका–३ का चेतराज जोशीले पनि गठबन्धन गरेर भोटका लागि नआउन उम्मेदवारलाई आग्रह गरेका छन् । ‘गाउँका सबै गठबन्धनको विपक्षमा देखिन्छन्,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ता पनि गठबन्धन भए भोट हाल्दैनौं भन्न थालेका छन्, त्यसैले सबै दलले आ-आफ्ना उम्मेदवार पठाउनु राम्रो हुन्छ ।’

कांग्रेस कास्कीको टोलीले भेट्न पाएनन् देउवालाई

पोखरा । पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको कांग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन । उनीहरू बिहानै ९ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसे पनि देउवाको ब्यस्तताका कारण भेट्न नपाएका हुन् ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० भन्दा बढी बालुवाटारमा भेला भए पनि प्रधानमन्त्रीको क्याबिनेट र अन्य कामका कारण आफूहरूले समय नपाएको मन्त्री थापाले बताए ।

केन्द्रीय गठबन्धनको सहमतिअनुसार पोखरा कांग्रेसले गुमाउन सक्ने संकेत पाएपछि नेताहरू काठमाडौं पुगेका हुन् । उनीहरूले कांग्रेसबाहेक अरु पार्टीले पोखरामा चुनाव जित्न नसक्ने रिपोर्टिङ देउवालाई गर्नेछन् ।

पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी 

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई सरकारले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुईजना एआईजी मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्न निर्णय गरेको हो ।

दुई जना एआईजीपीमध्ये केसी अगाडि थिए । सशस्त्र प्रहरीमा केसीसँगै रामशरण पौडेल एआईजी थिए । केसीले अब १९ दिन सशस्त्र प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् । केसी आगामी १८ वैशाखसम्म आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउनेछन् । केसीसँगै पौडेलले पनि अवकास पाउनेछन् ।

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले चार वर्षे पदावधिका कारण सोमबार अवकाश पाएका थिए । सरकारले समयमै आईपीजी नियुक्त गर्न नसक्दा आजसम्म सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको थियो ।

केसीले अवकाश पाएपछि हालका डीआईजीहरूबाट सरकारले नयाँ आईजीपी नियुक्त गर्नेछ । जसका लागि अहिलेका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये दुई जनालाई सरकारले चाँडै एआईजी नियुक्त गर्नेछ । त्यही दुई जना एआईजीमध्येबाट एक जना आईजीपी नियुक्त हुनेछन् ।

सरकारी जग्गामा सात वर्षदेखि होटेल र ब्यांक्वेट सञ्चालन 

भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिको स्वामित्वमा रहेको महेन्द्र सभागृह र सिद्धार्थ बाल उद्यान परिसरमा कर्पोरेट हाउस नक्साविनै सात वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ ।

सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ६ मा रहेको उद्यानलाई ३० भदौ २०७१ मा शुभ ओम इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.(पौवा)लाई सार्वजनिक निजी साझेदारीमा बाल उद्यान सञ्चालन गर्ने र सिद्धार्थनगर– १३ स्थित महेन्द्र सभागृहलार्ई व्यवस्थित तथा दीगो किसिमले सञ्चालन गरी नगरवासीलाई सरल, सुलभ स्वच्छ र व्यवस्थित सेवा प्रदान गर्नेगरी ४ असोज २०७० मा निलम पटवा (पटवा  ब्यांक्वेट)सँग सम्झौता गरेका थियो ।
सम्झौताको उद्देश्यविपरीत सञ्चालनमा रहेको यी कर्पोरेट हाउसले सार्वजनिक सम्पत्तिमा निर्मित संरचना पनि नक्साविनै (मापदण्ड विपरीत) सञ्चालन गरिरहेका छन् ।

सिद्धार्थनगरमा सानोतिनो सञ्रचना बनाउँदा पनि नक्सा प्रक्रियामा जानुपर्छ । सेवा लिन आउँदा पनि नगरपालिकाले नक्सा, कर तिरेको रसिद माग्छ । तर, नगरपालिकाकै सम्पत्तिमा बनेको अवैध संरचना ७ वर्षदेखि निर्वाध चलिरहँदासमेत नगरपालिकाले कानुनी दायरामा आउन भनेको छैन । नगरपालिकाले कुनै मापदण्डमा आउन पत्राचाार गरेको छैन ।

यसअघि यी कर्पोरेट हाउस व्यवसाय कर दर्ता नै नगरी सञ्चालन गरेको खुलेको थियो । अहिले पटवा ब्यांक्वेटले कर बुझाएको छ भने पौवाले व्यवसाय दर्ताका लागि निवेदन मात्र दिएको छ । बहाल शुल्क पनि नबुझाएको शुभ ओम कम्पनी (पौवा)लाई नगरपालिकाले २३ माघमा बक्यौता बहाल शुल्क बुझाउन र ८ फागुनमा व्यवसायकर दर्ता गर्न भनि पत्राचार गरेपछि कम्पनीले बहाल शुल्क बुझाएको छ । नगरपालिकाको राजश्व शाखाले उद्देश्यविपरीत चलाएको भन्दै मापदण्डमा नरहेकोले दर्ता प्रक्रिया अगाडि नबढेको जानकारी दिएको छ ।

नगरपालिका क्षेत्र भित्र कुनै पनि निजी, अर्ध सरकारी वा सरकारी स्वामित्वको घडेरी वा सार्वजनिक जग्गामा कुनै प्रकारको भौतिक विकास गर्न वा निर्माण कार्य गर्नुपरेमा नगरपालिकमा निवेदन दर्ता गरी स्वीकृति लिनुपर्ने भए पनि सिद्धार्थ बाल उद्यान र महेन्द्र सभागृहमा बनाइएका थप संरचनाबारे नगरपालिकाको प्राविधिक तथा नक्सा शाखालाई जानकारीसमेत छैन । द्वय कर्पोरेट हाउसले निर्माण गरेको संरचनाबारे नगरपालिकामा न नक्सा पास छ, न त संरचनाबारे जानकारी वा प्रस्ताव नै । ७ वर्षदेखि सञ्चालनमा रहेको ती कर्पोरेट हाउसमा नगरपालिकाले पनि कार्यक्रम चलाउँदै आएको छ । व्यवसाय कर दर्ता र नक्सा दर्तासमेत नगरेको प्रतिष्ठानले नगरपालिकाका कर्मचारीहरूको मिलोमतोमा कार्यक्रम हुँदै आएको छ ।

नगरपलिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले पटवा ब्यांक्वेट र पौवा होटलको संरचनाबारे कुनै प्रस्ताव, नक्सा र निवेदन नआएको जानकारी दिए । नक्सा फाँट प्रमुख राजन कर्णले नगरपालिकाको स्वामित्वमा रहेको सो सम्पत्तिबारे कुनै जानकारी नभएको बताए । ‘मैले सम्झौता पनि हेरेको छैन । हाम्रो तथ्यांकमा  त्यहाँको कुनै नक्साको कागजात र निवदेन आएको छैन,’ उनले भने ।

अस्थायी संरचना बनए पनि त्यो संरचना नगरपालिकामा जानकारी गराई स्वकीकृत लिनुपर्छ । तर, सार्वजनिक सम्पत्तिमा रजाइँ गरेका दुवै कर्पोरेट हाउसले स्वीकृति लिएका छैनन् । नगरपालिकाको तथ्यांकअनुसार बाल उद्यान दुई बिघा १६ कठ्ठा १७ धुर क्षेत्रफलमा र महेन्द्र सभागृह पनि एक बिघा १० कठ्ठा १५ धुर क्षेत्रफलमा छ । निलम पटवाको लगानीमा बनेको उद्देश्यविपरीतको पटवा ब्यांक्वेट हल नक्सा मापदण्डमा छैन । सभागृह बन्द गरी छुट्टै पार्टी प्यालेस चलिरहेको छ भने पौवालाई सम्झौताको उद्देश्य प्रष्ट रुपमा व्यवस्थित रुपमा बाल उद्यान सञ्चालन गरी चमेना गृह तथा रेष्टुरेण्ट, एसीसहितको चाइल्ड केयर सेन्टरलगायतका पूर्वाधार निर्माण गर्न भनिए पनि पाँचवटा स्वीट रुमसहित २० वटा एसीसहितको रुमको होटल, नौवटा क्याबिन, मदिरा विक्रीसहितको रेष्टुरेण्टलगायतका संरचना बनाएर सञ्चालन गरिरहेको छ । ती संरचना बनाउँदा प्रस्ताव पनि नगरपािलकामा नरहेको प्राविधिक शाखाले जानकारी दिएको छ ।

बाल उद्यानको साटो होटल सञ्चालन गरेको २२ जना शेयर होल्डर रहेको कम्पनीले सम्झौताअनुसार नगरपालिकालाई पहिलो पाँच वर्ष एक लाख २५ हजार वार्षिक (१० हजार चार सय १७ रुपैयाँ मासिक भाडा) बहाल भुक्तानी गर्नुपर्ने र पाँच वर्षको अन्तरालमा क्रमशः २५–२५ हजार बढाउँदै नगरपालिकालाई बहाल भुक्तानी गर्नुपर्ने सम्झौता छ । यसैगरी, निलम पटवाले सभागृह र चर्चेको क्षेत्र प्रयोग गरेबापत नगरपालिकाले पहिलो पाँच वर्ष २ लाख (मासिक १६ हजार ६ सय ६७ रुपैयाँ भाडामा), त्यसपछिको पाँच वर्ष तीन लाख, त्यसपछि चार लाख र अन्तिम पाँच वर्ष पाँच लाख प्रतिमहिना बहाल लिने सम्झौता भएको छ । दुवै कर्पोरेट हाउसले २० वर्षको सम्झौता गरेका छन ।

पटवाले सभागृह र चर्चेको ठाउँ बहालमा लिएर १० वर्ष भित्र २ करोड बराबरको थप संरचना निर्माण गर्ने र शुभ ओम कम्पनीले एक करोड ३५ लाख बरारबरको विभिन्न संरचना निर्माण सम्झौता भएको पाँच वर्षभित्र निर्माण नगरपालिकामा नक्सा प्रस्ताव गरी बनाउनुपर्ने थियो ।  सिद्धार्थनगर नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले कुनै पनि संरचना बनाउँदा प्रस्ताव आउनुपर्ने बताए । नियम सबैलाई लाग्ने भन्दै उनले  उनीहरुलाई कानुनी दायरमा ल्याउने बताए ।

पौवा होटलका प्रतिनिधि विष्णु ज्ञवालीले निर्माण भएको संरचनाको रिर्पोटबारे सिद्धार्थनगर नगरपालिकाका प्रविधिकलाई जानकारी गराएको बताए । नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा बनाएकोे संरचना  आफूहरुले छाडेर गएपनि नगरपालिकाकै हुने बताउँदै उनले आफूहरु नियत कर नतिर्ने भन्ने नरहेको बताए । उनका अनुसार व्यवसाय दर्ताको लागि निवेदन दिइसकेको छ ।

वर्ष ०७८ लाई फर्केर हेर्दा: एमालेलाई राजनीतिक नोक्सानी, कांग्रेसलाई फाइदा, एमसीसी पास

काठमाडौं । २०७८ मा नेपालको राजनीति पूरै अस्थिर भयो । प्रदेशहरूमा सांसद किनबेच, केन्द्र र प्रदेश सरकार ढाल्ने÷बनाउने, ताजा जनादेशका नाममा असंवैधानिक रूपमा संसद् विघटन गर्नेदेखि पार्टी फुटाउनेसँगै शीर्ष नेताहरू आपसमा गालीगलौजको उत्रिए ।

कसैले अनुमान नगरेका राजनीतिक अभ्यास भए । सरकार सञ्चालनको पाँच वर्षे जनादेश खण्डित भयो । संसदको ठूलो दल एमालेले संघीय सरकारदेखि प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी सरकार गुमाउन पुग्यो ।

२ भदौमा औपचारिक रूपमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत पार्टी नेतृत्व केपी ओलीसँगको प्रवृत्तिगत मतभेदका कारण अलग भए । यो एमाले गठन भएयता सांगठनिक रूपमा बेहोर्नुपरेको तेस्रो ठूलो क्षति हो ।

एमाले क्षति बेहोर्दै चौतर्फी घेराबन्दीमा रहँदा कांग्रेसका लागि भने सत्ता यात्राको वर्ष बन्यो । संघीय सरकारदेखि गण्डकी र कर्णाली सरकारको नेतृत्वमा कांग्रेस छ । जबकि, कांग्रेसलाई प्राप्त जनादेश प्रतिपक्षी दलको हो । नेकपाकालीन टकराव, नेकपा विभाजन, एमालेमा अध्यक्ष केपी ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीचको मतभेदलगायतले कांग्रेसको सत्तागमन सम्भव भयो ।

मधेस केन्द्रित राजनीति गर्दै आएको जनता समाजवादी पार्टी पनि फुट्यो । जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन ग¥यो । एकता भएको डेढ वर्ष पनि नपुग्दै जसपाले फुट बेहोर्नुपरेको हो ।

परम्परावादी राजनीतिक शक्ति भनिएको राप्रपा पनि यसै वर्ष फुट्यो । हिन्दु धर्मको पवित्र ग्रन्थ गीता छोएर कसम खाएका कमल थापा पार्टी महाधिवेशनमा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपाबाट अलग भए । पराजित हुनुको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहलाई थोपरे । राजतन्त्रको मुद्दा परित्याग गरे । राप्रपा नेपाल पुनःस्थापना गरे । सो पार्टी अहिले एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनावमा जाने तयारीमा छ ।

अघिल्लो वर्ष १० वर्षे सशस्त्र विद्रोहताका महत्पूर्ण योद्धाहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी, प्रभु साहलगायत प्रदेश र स्थानीय तहका केही जनप्रतिनिधि अलग भएकोबाहेक अन्य राजनीतिक र सांगठनिक क्षति भने नेकपा (माओवादी केन्द्र)ले बेहोर्नु परेन ।

बरु सानो जनमत रहेको राष्ट्रिय जनमोर्चा फुट्यो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको एकीकृत जनक्रान्ति गर्ने भन्ने दल नेकपा संसदीय राजनीतिमा प्रवेश गर्ने तर्खरमा छ । दल संसदीय प्रणालीको कट्टर आलोचक नेकपा विभाजनको क्रममा पुगेको छ । वैकल्पिक राजनीतिक शक्ति भनिएको विवेकशील साझा पार्टीको पनि हालत उस्तै छ ।

प्रधानमन्त्री छँदा एमाले अध्यक्ष केपी ओलीले संसदमा टेबुल गराएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध गठबन्धनका सासदहरूबाट अविश्वास प्रस्ताव दर्तादेखि गैरसांसदहरू गजेन्द्रबहादुर हमाल र गोविन्द कोइराला उर्फ गोविन्द बन्दी गठबन्धनका दलहरूले मन्त्री बनाइए ।

आर्थिक संकट बेहोरिरहेकै बेला गभर्नर महाप्रसाद अधिकारी हटाइएका छन् । राष्ट्रियसभामा निर्वाचनमा १९ सिटमध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

वर्षभरिको मुख्य मुख्य राजनीतिक घटनाक्रम

वैशाख १
प्रधानमन्त्री केपी ओलीको देशवासीको नाममा सम्बोधन । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमसीसीसम्बन्धी प्रस्ताव संसद्मा निर्णायार्थ प्रस्तुत नगरेको भन्दै आक्रोश व्यक्त । प्रधानमन्त्री–सभामुख तनाव चर्कियो ।

वैशाख २
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता । प्रस्ताव दर्ता गर्ने दल कांग्रेस, माओवादी, जसपा र जनमोर्चा । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नयाँ मुख्यमन्त्री प्रस्ताव । तर, अविश्वास प्रस्ताव आउने सुइँकोपछि १ गते नै संसद् अधिवेशन भने गरुङद्वारा अन्त्य ।

वैशाख ३
कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका चार सांसदहरू प्रकाश ज्वाला, कुम्मराज शाही, नन्दसिंह बुढा र अम्मर थापाले फ्लोर क्रस गरेपछि विश्वासको मत पाए । ज्वालाबाहेक सबै मन्त्री नियुक्त । एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री हुनबाट बञ्चित ।

वैशाख ४
जनता समाजवादी पार्टीका एक अध्यक्ष महन्थ ठाकुर पक्षको ओली सरकारमा जाने तयारी । यादव पक्षबाट विरोध । ओलीले ब्युँताए एमसीसी बहस ।

वैशाख ६
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता । जसपाका तीन सांसदलाई मन्त्री बनाए । सरकार जोगाए ।

वैशाख ७
समानन्तर संगठन बनाएको भन्दै माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण । पार्टीमै संघर्ष गर्ने पक्षमा उभियो नेपाल पक्ष  ।

वैशाख ८ र ९
ओली र नेपालबीच ५ पुसपछि पाँच महिनामा पहिलोपटक होटल मेरियटमा भेटवार्ता । दुवै भेटवार्तामा आ–आफ्ना अडान कायमै । पार्टी एकता धरापमा । धरहरा हेर्ने मात्र काम भए ।

वैशाख १३
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको प्रस्ताव प्रदेश संसदमा टेबुल । टेबुल गर्ने कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल । प्रतिगामी कदममा मुख्यमन्त्री गुरुङ उद्यत भएको आरोप । जनमोर्चा सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन । भोलिपल्ट स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री नियुक्त । सरकार टिकाउन ओलीले सरकारले जसपाका कार्यकर्ताविरुद्धको १५ प्रकारका मुद्दा फिर्ता लिने निर्णय ।

वैशाख १९
नेकपा विभाजनपछि २७ वैशाखमा ओली विश्वासको मत लिन तयार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा संसद् छल्न राजीनामा तर सोही दिन फेरि मुख्यमन्त्री नियुक्त ।

वैशाख २०
जसपाको ठाकुर र यादव पक्ष बहुमत जुटाउन सक्रिय ।

वैशाख २३
राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओली र नेपालको छुट्टाछुट्टै भेट । दोस्रो तहका दुवै तर्फका नेताहरू विवाद मिलाउन दौडधूप । ओलीलाई विश्वासको मत पुग्न दिने तयारी । देउवा–प्रचण्ड विश्वासको मत असफल पार्ने प्रयासमा ।

वैशाख २६
२ जेठ २०७५ मा पार्टी संगठन संरचनमा फर्काउन ओली तयार नभएको माधव पक्षको निष्कर्ष । आवश्यक परे राजीनामा दिन तयार ।

वैशाख २७
ओलीले गुमाए संसद्को विश्वास । २७१ सांसदमध्ये ९३ मत पक्षमा । विपक्षमा १२४ मत । जसपाको महन्थ पक्षका १५ जना सांसद तटस्थ । एमालेका नेपालसहित २८ जना अनुपस्थित । ओली सरकार ढल्यो । राष्ट्रपतिले सरकार गठन आह्वान गरिन् । ओली–नेपाल तिक्तता झन् उत्कर्षमा ।

वैशाख ३०
ओली र देउवाले समर्थन प्राप्त गरेका सांसदको नाम दोहोरो परेपछि ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त ।

जेठ ७
मध्यावधि निर्वाचनमा जाने भन्दै दोस्रोपटक प्रधानमन्त्री ओलीले गरे संसद् विघटन । निर्वाचन कात्तिक २६ र मंसिर ३ मा घोषणा । ओलीविरुद्ध कानुनी र राजनीतिक लडाइ लड्न कांग्रेस, माओवादी, एमालेको माधव पक्ष, जसपाको यादव पक्ष र जनमोर्चाको गठबन्धन ।

जेठ १०
प्रतिनिधिसभा विघटनविरुद्धको रिट लिएर देउवा, प्रचण्ड, माधवसहितका नेताहरू सर्वोच्चमा । रिटमा १३९ जना सांसदको हस्ताक्षर । माधवसहित ११ जना पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीबाट निष्कासन ।

जेठ १७
मन्त्रालयसहित जसपाको ठाकुर पक्ष सरकारमा जान तयार । ठाकुर र यादवबाट पालैपालो निष्कासन । अन्ततः ठाकुर पक्ष सरकारमा सहभागी ।

जेठ २७
गण्डकीमा एमालेका पृथ्वीसुब्बा गुरुङको प्रदेश सरकार ढल्यो । विश्वासको मत पाएनन् । पक्षमा २७ र विपक्षमा ३० मत पर्‍यो । विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेलको दाबी ।

जेठ २८
मुख्यमन्त्रीमा पोखरेल नियुक्त । पहिलो कांग्रेस मुख्यमन्त्री बन्न सफल । कांग्रेसको सत्ता यात्रा सुरू ।

असार ८
सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशका कारण ओलीले २१ र २७ जेठमा मन्त्रिपरिषद् विस्तार गर्दाताका २० मन्त्री पदमुक्त ।

असार २७
एमाले विवाद सुल्झाउन १० बुँदे प्रस्ताव । माधवले गरे अस्वीकार ।

२८ असार
प्रतिनिधिसभा दोस्रोपटक पुनःस्थापना । संसद् विघटन गर्ने ओलीको निर्णय सर्वोच्च अदालतबाट असंवैधानिक ठहर । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश । परमादेशकै कारण ४१ महिनापछि ओली सत्ताच्यूत ।

असार २९
पाँच दलीय गठबन्धनको तर्फबाट देउवा प्रधानमन्त्रीमा नियुक्त । देउवाद्वारा कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री तथा माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीको रूपमा नियुक्त ।  मन्त्रिपरिषद् विस्तारमा सकस । माधव नेपाल र उपेन्द्र यादव पक्षलाई सरकारमा सामेल गर्न कानुनी अड्चन । झन्डै तीन महिनामा मात्र मन्त्रिपरिषद्ले पूर्णता पायो ।

साउन ३
प्रधानमन्त्री देउवाले विश्वासको मत पाए । १६५ सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा एमालेका ८३ मत । विश्वासको मत दिनेमा एमालेकै २२ सांसद । २१ सांसद अनुपस्थित ।

साउन ११
निर्वाचन आयोगबाट जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई । नयाँ दल खोल्ने ठाकुरको तयारी ।

साउन २७
लुम्बिनीमा एमालेका शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढल्यो । पोखरेलले अल्पमतमा परेपछि राजीनामा दिए । २८ गते माओवादीको कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त ।

भदौ १
एमालेबाट माधवकुमार नेपाल र जसपाबाट महन्थ ठाकुर पक्षलाई अलग हुन सहयोग पुग्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसक्षम पेस । नयाँ दल दर्ताको तयारीमा माधव पक्ष ।

भदौ २
नेकपा (एकीकृत समाजवादी) पार्टी गठन । माधवकुमार नेपाल अध्यक्ष । जसपाको ठाकुर पक्षबाट निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताको निवेदन पेस ।

भदौ ८
एमालेमा पुरानै कमिटी ब्युँतियो । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायत एमालेमै फर्किए ।

भदौ ९
पुराना कमिटीका ५५ केन्द्रीय कमिटी सदस्य र ३० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरे । सोही दिन जसपाको १४ सांसद र १६ जना राष्ट्रिय कार्यकारिणी समिति सदस्यले पनि निर्वाचन आयोगमा सनाखत गरे ।

भदौ १०
माधव पक्ष छाड्दा एमालेबाट प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त ।

भदौ १७
सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका २ सांसद र निर्वाचन आयोगले गैरकानुनी रूपले नेपाल नेतृत्वमा दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष केपी ओली सर्वोच्च अदालतमा ।

भदौ २२
एमसीसी बहस सतहमा । प्रचण्ड र माधव विपक्षमा । प्रधानमन्त्रीको जोड पास गर्नेमा ।

भदौ २३
एमालेको संसद् अवरोध सुरू । सभामुख सापकोटाले १४ सांसदलाई पदमुक्त गरी सूचना टाँस नगरेको भन्दै ६ महिना बढी समयदेखि संसद् अवरोध ग¥यो । यद्यपि, केही महत्वपूर्ण विधेयक अवरोधका बीच संसद्मा टेबुल ।

भदौ २४
एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा । एमसीसी पास गर्न राजनीतिक दौडधुप । पास गर्न सुझाव । एमसीसीलाई राजनीतिकरण नगर्न आग्रह ।

असोज २२
गैरसांसद गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त । चौतर्फी विरोध । उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री भएको चर्चा । अन्ततः राजीनामा दिए ।

कात्तिक ९
सर्वोच्च अदालतका १९ जना न्यायाधीश प्रधानन्यायाधीश जबराको विपक्षमा । कार्यपालिकासँग भाग लिएको आरोप लाग्यो । उनको राजीनामा माग १२ कात्तिकपछि बारले ग¥यो । अन्ततः न्यायाधीशहरूले इजलास बहिस्कार गरे ।

मंसिर २
गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णयपछि इजलास फर्किन न्यायाधीशहरू तयार । १५ कात्तिकदेखि गोलाप्रथाबाट पेसी तोक्न सुरु । प्रधानन्यायाधीशको पेसी अधिकार खोसियो ।

मंसिर १०
उपाध्यक्ष भीम रावल अध्यक्षमा उम्मेदवार बनेपछि केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने प्रयास असफल । १४ मंसिरमा ओली अध्यक्षमा निर्वाचित ।

मंसिर १९
राप्रपाका युवा नेता राजेन्द्र लिङ्देन निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित । कमल थापा पूर्वराजाप्रति असन्तुष्ट । पूर्वराजाले प्रत्यक्ष रूपमा महाधिवेशनमा हस्तक्षेप गरेको आरोप । राजतन्त्रको मुद्दा परित्याग ।

मंसिर २४
कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सकेपछि निवर्तमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, निवर्तमान उपसभापति विमेन्द्र निधि र कल्याणकुमार गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गरे । पहिलो चरणमा ५० प्रतिशत मत कुनै उम्मेदवारले नकटाएपछि अन्ततः सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरे । र, दोस्रो चरणबाट देउवा सभापति निर्वाचित भए । डा. कोइराला पराजित भए । महाधिवेशन प्रक्रियाबाट असन्तुष्टि जनाउँदै संस्थापनइतर पक्षकै नेता रामचन्द्र पौडेल अलग भए । देउवा झन् शक्तिशाली सभापति बने ।
पुस ११
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः प्रचण्ड सर्वसम्मत । महासचिवसहितका पदाधिकारी छनोटमा सकस । अझैसम्म छान्न सकेको छैन । विचारको विकास हुन नसक्दा र अस्पष्टता हुँदा कम्युनिस्ट आन्दोलनले गति नलिएको निष्कर्ष । एमसीसी खारेजीको माग ।

माघ १२
राष्ट्रिय सभा निर्वाचनमा १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी । प्रदेश १ मा एमालेका सोनाम ग्याल्जेन शेर्पा मात्र विजयी । तर, राष्ट्रिय सभामा पनि एमाले नै ठूलो दल । त्यसअघि ६ जेठ र १७ जेठमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि गठबन्धनकै उम्मेदवारबाट एमाले उम्मेदवार पराजित ।

माघ १७
एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट । सभामुख हटाउने प्रस्ताव दर्ताको तयारी । गठबन्धन भत्काउने खेलमा एमाले सक्रिय । र, देउवासँगै प्रचण्डले एमसीसी मुख्यालयमा प्रस्ताव पारित गर्न प्रतिबद्धता जनाएको पत्राचार २३ माघमा सार्वजनिक । प्रचण्डको दोहोरो चरित्र भएको भन्दै पार्टीभित्र र बाहिर आलोचना । प्रचण्ड एमसीसी पारित गर्ने दबाबमा । उनी र माधव नेपालको दलले सडकमा प्रदर्शन चर्काएका थिए ।

फागुन १
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अप्रत्याशित रूपमा तीनजना प्रस्तावक र ९५ जना प्रस्ताव भई संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता । ११ सदस्यीय महाअभियोगसम्बन्धी समिति गठन भइसकेको छ । समितिले प्रतिवेदन बुझाउन बाँकी छ ।

फागुन १५
१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास । गठबन्धन भत्किनबाट बच्यो । देउवाले प्रचण्ड र नेपाले साथ नदिए ओलीको भए पनि साथ लिने प्रयास गरेका थिए । एमसीसीपछि माओवादी र एकीकृत समाजवादीमा खटपट पैदा । माओवादीबाट केही जनप्रतिनिधि नै अलग ।

चीन आउजाउ
एमाले उपाध्यक्ष विष्णु पौडेल नेतृत्वमा २५ सदस्यीय टोली ७ चैतमा चीन प्रस्थान । ११ चैतमा माओवादी नेता देव गुरुङ चीन प्रस्थान । १२ र १३ गते चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा । कम्युनिस्ट पार्टीहरूबीच तालमेल गरेर जान विदेशमन्त्री वाङ यीको ओली र प्रचण्डलाई सुझाव ।

चैत १७
चिनियाँ ‘फ्याक्टर’ले गठबन्धन भत्किन सक्ने शंका बढेपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको बैठक बालुवाटारमा बसाए । तल्ला तहसम्मै गठबन्धन गर्ने नीतिगत निर्णय बैठकबाट पारित गरे । त्यसअघि देउवा नेतृत्वको पार्टीको बहुमतले गठबन्धन गर्ने निर्णय गरेको थियो ।

चैत १८
तीन दिने भारतको औपचारिक भ्रमणमा गए प्रधानमन्त्री देउवा । सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा कूटनीतिक मर्यादाविपरीत गएको भन्दै आलोचना । भारतस्थित नेपाली राजदूतावासमा संशोधित राजनीतिक नक्सा नभएकोप्रति प्रमुख विपक्षी दल एमाले अध्यक्ष ओलीको आक्रोश ।

चैत २२
पाँचदलीय गठबन्धन निर्वाचनमा तालमेलसहित जाने भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन । एमाले पनि लोसपा, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राप्रपा नेपालसँग निर्वाचनमा तालमेल गर्ने प्रक्रियामा सहभागी । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हुनेछ ।

चैत २५
नेपला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्वित ।

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्की रहेका छन् । आज बिहान पौने ७ बजे बामनडाडाबाट मौरीबजारतर्फ आउदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय टिर तल सेती नदीमा खसेको थियो । जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।

१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्न दर्शनार्थीको भिड

सिरहा । धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भिड लागेको छ । फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ ।

तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधि नलाग्ने जनविश्वास छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेलासमेत लाग्ने गर्दछ ।

सलहेश गाथामा उल्लेख गरिएअनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सलहेश गहवरका पुजारी हरिसिंहदेव दनुवारले बताए । १२ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी मेला कोरोना संक्रमणका कारण गत वर्ष नलागेकाले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सुर्खेतमा २४ वर्षीया महिला बलात्कृत 

सुर्खेत । सुर्खेतमा २४ वर्षीय महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्याक्टरले किच्दा बालिकाकाे ज्यान गयाे

अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाकाे ज्यान गएकाे छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरकाे ट्याक्टरले किचेकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे हाे । ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेकाे र ट्याक्टरकाे बीचकाे टायरले किचेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभूत विद्यालयका शिक्षक पदम पाैडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएकाे हाे । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् । विद्यालय आउनै लागेपछि बालिका आत्तिएर  झरेकाे र ब्रेक लगाउँदा लगाउँदै बीचकाे टायरमा टाउकाे परेकाे स्थानीयले बताए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएकाे छ ।