समाचार | Page 2018 of 5936 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

समाचार

एमाले प्रतिपक्षमा बस्ने जमाना होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुर्‍याइएको बताएका छन् । लमजुङको घलेगाउँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि चुनावपछि फेरि सत्तामा जाने बताए ।

उनले भने अहिले एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ । अध्यक्ष ओलीले एमालेले जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको बताए । उनले भने एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनले बताए ।

आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ)  सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आईडीएबाट १८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण सहायता स्वीकार्ने सरकारले निर्णय गरेको जानकारी दिए । अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

कर्णालीमा भागबन्डा मिलाउन गठबन्धन निर्णायक छलफलमा 

सुर्खेत । सत्तारुढ दलहरू भागबन्डाको लागि निर्णयक छलफल सुरु गरेका छन् । कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको नेकपा  माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

डोल्पालगायत अन्य केही जिल्लामा समस्य भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए । रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्य देखिएको छ । सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दश शर्माको क्षेत्र भएकाले बल मिच्याइँ गरेको अन्य सत्तारुढ दलको आरोप छ । आरोपकै बीचमा अहिले गठनबन्धनको छलफल चलिरहेको छ । त्यहाँको समस्या र पार्टीको अन्तरिक परिपत्रका विषयमा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसी रुकुम पश्चिममा गएका छन् ।

इन्चार्ज कालीबहादुर मल्ल जाजरकोटमा छन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटमा छन् । कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) हुम्लामा छन् । कांग्रेस नेताहरूले शुक्रबार बिहानसम्ममा आफ्नो दलभित्र आन्तरिक तयारी गरेर मात्र अहिले गठबन्धनको बैठकमा सहभागी भएको जाजरकोट कांग्रेस सभापति बेदराज सिंहले बताए । कांग्रेसका केन्द्रीय स्तरका नेताहरू जिल्ला, जिल्लामा खटिएका छन् ।

केन्द्रीय सर्कुलरअनुसार नै मतभारका साथै अन्य कुराहरू हेरेर छलफल सुरु भएको उनले बताए । प्रतिपक्ष दल नेकपा एमालले अधिकांश ठाउँमा उम्मेदवार टुंगो लगाएको बताएको छ । बाँकी ठाउँमा गृहकार्य भइरहेको नेता यमलाल कंडेलले बताए । ३ वैशाखभित्र जिल्लाले सहमति गरेर प्रदेशमा सहमतिको खाका पठाउनेछन् । जिल्लाले पठाएको सहमतिको खाका प्रदेशले अध्ययन गरेर ५ वैशाखभित्र केन्द्रमा पठाउने निर्णय गठबन्धनभित्र म्यान्डेट छ ।

चार महिनापछि यसरी पक्राउ परे अर्जुन दासका हत्या आराेपी  

काठमाडौं । कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चारजनालाई पक्राउ गरेको हो । गत ३ पुसमा कैलाली जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा सोही ठाउँका अर्जुनको रूखमा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स तरिकाले हत्या गरेका थिए । उनको हत्यामा संलग्न रहेर फरार रहेका सुमित साउद, बमे भनिने बम बहादुर बोहरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी छन् । जानकी गाउँपालिका-९ कैलाली घर भएका सबै जना १९ वर्षका छन् ।

रूपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । हिजो पक्राउ परेका चारैजनालाई कर्तव्य ज्यान कसुरमा मुद्दा रहेकाले थप अनुसन्धानका लागि कैलाली प्रहरीलाई बुझाएको हो ।

कसरी पक्राउ परे ? 

हत्या गरेर भारततर्फ फरार भएका चारैजना लुकिछिपी बस्दै आएका थिए । भारतमा बस्दा पनि त्यहीँबाट फेसबुक लाइभ आएर धम्की दिनेसमेत गरिरहेका थिए । नेपालको प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।

नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ आएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अपराध महाशाखाले पायो । त्यसपछि खटिएको विशेष टोलीले १ वैशाखको ४ः१५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका चारैजनालाई आज कैलाली प्रहरीलाई बुझाएको छ ।

कसरी भएको थियो हत्या ? 

घटना हुनुभन्दा तीन दिन अगाडि कमल साउदको मोबाइल फोन हराएको विषयलाई लिएर सुमित साउदलाई शंका गरी कुटपिट गरेको थिए । सुमित कुटिएको विषयमा मनोज भण्डारी र बमबहादुर समेतले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागूऔषध चोरी गरी जंगलमा लुकाएका थिए ।

अर्जुनले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमितले पत्ता लगाई कमललाई फिर्ता दिएका थिए । कमलको मोबाइल चोरी गरेको र सुमितलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन हो भनी मनोज, सुमित, बम, सुशील मयाल, दिलीप दास, बादल विक, करण दर्नालले कुटपिट गर्ने योजना बनाएका थिए ।

२ पुस बेलुका ६ बजेतिथर अर्जुन र उनका साथीहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका थिए । सबैजनाले लागुऔषध सेवन गरेपश्चात कमलको चोरी भएको मोबाइल र सुमितलाई कुटपिट गरेको विषयमा अर्जुनलाई दोषी देखाई सबैजना मिलेर कुटपिट गरी हातखुट्टा बाँधेका थिए ।

अर्जुनलाई हातखुट्टा बाधेर ४-५ घण्टा राखेपछि सबैजनाको मार्ने योजनाअनुसार सुशील मयाल खुकुरी उपलब्ध गराएर घर फर्किएका थिए । राति ११ बजेतिर मनोजलगायतको समूहले अर्जुनलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको दुई फिट टाढा राखी सबैजनाले लागुऔषध सेवन गरी रातभरि घटनास्थलमै बसेका थिए ।

भोलिपल्ट बिहान ५ बजेतिर मनोज, बादल, दिलीप, बमे, सुमित र विवेक भारतको दिल्लीतर्फ लागेका थिए । कनकलाल, करण, सुशील कैलालीमै साथीको घरमा लुकेर बसेका थिए । सुमित, मनोज, दिलीप र बमे भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।

सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रममा गर्ने परम्परा छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ । अविर जात्रामा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठसहित सयौं मध्यपुर थिमिबासीहरू रमाएका छन् । उनीहरू सवै अविरले राताम्य भएका छन् ।

अर्जुन दास हत्याको आरोपमा चारजना पक्राउ, बाँकी फरारको खोजी जारी

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलिप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । हत्या आरोपी १० जनामध्ये चारलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको हो । बाँकी फरार आरोपीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले हत्या गरेको स्वीकारेका छन् ।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएको थियो । पुस २ गते शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए । अर्जुनका परिवारले हत्यारालाई कारबाही नभएसम्म शव नबुझ्ने भन्दै लामो समय आन्दोलन गरेका थिए । शव भेटिएको १० दिनपछि मात्रै अर्जुनका परिवार अन्येष्टि गरेका थिए ।

एमाले अध्यक्ष ओली शनिबार सर्लाही जाँदै

काठमाडौं । नेकपा एमालेका केपी शर्मा ओली सर्लाही जाने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लागेको नेकपा एमाले सर्लाही जिल्ला कमिटिले जानाकारी दिएको छ । आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको छ । सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइनः नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनलाई सफलता दिलाउन स्थानीयस्तरको आवश्यकता, गठबन्धनको औचित्य र स्थानीय नेताको कार्यकर्ताको परामर्शका आधारमा तय हुनुपर्ने बताएका छन्।

बुढानीलकण्ठ नगरपालिका-१० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले स्थानीय नेता कार्यकर्ताको भावनाअनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन्।

‘गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ। मन बन्धन भएन भने गठबन्धनको औचित्य हुँदैन। मनै नमिलेर गठबन्धन गर्दा सहजै जित पनि हासिल गर्न सकिँदैन। त्यसैले सबै दलका शीर्ष नेताहरूले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ महरले भने। उनले स्थानीय स्तरका नेताकार्यकर्ताहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिति थाहा हुने भएकाले उनीहरूका कुरा सुन्नुपर्ने बताएका छन्।

‘प्रत्येक पार्टीको अस्थित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्छ। हामी भावनामा बग्नु हुँदैन। बैचारिक समीक्षा गर्नुपर्छ,’ महरले भने।

गाउँगाउँ जाऔं, कांग्रेस जिताऔं अभियानका क्रममा जनता एमालेप्रति आजित भएको पाएको उनले बताएका छन्। कम्युनिस्ट सरकारले जनतालाई प्रताडिन तुल्याएको कुरा जनताले भुल्न नसकेको उनले बताए।

‘अभियानका क्रममा एक लाख ६३ हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। हामीले कतै हल्ला गरेनौं। ओलीले जस्तो एकजना पार्टी प्रवेश गर्दा हामी हल्ला गर्दैनौं। काम गर्नेहरू बोल्दैनन्। काम गरेर जनताको मन जित्न चाहन्छन्। काम नगर्नेहरू भ्रमको खेती गर्न चाहन्छौं। ओलीको भ्रमको खेती अहिले उदाङ्‍गो भइसक्यो,’ महरले भने।

कांग्रेसले आफ्नै सामर्थ्यमा जनताको ठूलो विश्वास जितेको भए पनि देशको हितका लागि गठबन्धन गरेको उनले बताए। देशमा राजनीतिक अस्थिरता नहोस भनेर आफूहरू गठबन्धन गरेर घाटै बेहोरेर भए पनि चुनावमा जान तयार रहेको उनले बताए।

सुनको भाउ तोलाको एक लाख दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।

मेयर उपमेयर छान्न पोखरामा एमालेको मनोनयन दर्ता सकियो

पोखरा । एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । अहिले चुनावका लागि मनोनयन दर्ता भइरहेको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा नाैजनाले नाम दर्ता गराएका छन् ।

मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले उम्मेद्वारी दिएका हुन् । उनीहरू सबैजना मंगलबार पनि आकांक्षीको नाम टिपाएका व्यक्ति हुन् ।

उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको छ । यसअघि आकांक्षा देखाएका सञ्जीवबहादुर कोइराला, बैनबहादुर अधिकारी, हरिमाया गुरुङ पनि थिए । उनीहरूले मनोनयन भने दर्ता गरेनन् । विनकुमारी गुरुङले यसअघि आकांक्षीको नाम नटिपाए पनि अहिले मनोनयन दर्ता गरेकी छिन् ।

अहिले अझै आकांक्षीलाई मिलाउने प्रयास भइरहेको छ । सर्वसम्मत हुन नसके यहाँ दुई गुटबीच प्रतिश्पर्धा हुने छ । केन्द्रीय सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आ-आफ्ना प्यानल बनाउने बुझिएको छ । स्राेतका अनुसार अधिकारी ग्रुपबाट मेयरमा दर्शन लामा, कृष्ण थापा र सावित्री भण्डारी तथा गुरुङको प्यानलबाट पुष्पज्योति ढुंगाना, मीना गुरुङको नाम पक्का जस्तै छ । अर्को एकजना अझै खोजी भइरहेको छ । अहिले गुरुङ प्यानलको बैठक साइमन पार्टी प्यालेसमा बसिरहेको छ ।

प्रशिक्षक अब्दुल्लाहले भने- सत्यता यही हो हामी एसिया कपमा स्थान बनाउन सक्दैनौं

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै सत्यता नै टिम छनोट हुन नसक्ने बताए । ‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौं,’ शुक्रबार दशरथ रंगशालामा अब्दुल्लाहले बताए ।

उनले टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताए । उनले नेपालमा केही समय अभास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेलपछी  कुवेत जाने बताए । एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज (शुक्रबार)बाट नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा कप्तान किरणकुमार लिम्बूबाहेक अन्य खेलाडीको उपस्थित रहेको थियो । किरण भने माल्दिभ्सको शीर्ष डिभिजन लिगमा व्यस्त छन् ।

छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् । यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीः
गोलकिपरः किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
रक्षक: अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी
मिडफिल्डरः आयुष घलान, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकरः विमल घर्तीमगर, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङगा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ३ जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । हिजो मध्यान्ह १२ बजे भएका सवारी दुर्घटनामा संलग्न चालकलाई बस सहित प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको छत्रदेवमा कांग्रेस एमालेलाई पशुपतिको चुनौती

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको आधार केन्द्र हो । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवाद बाहेक अधिकाँश पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । पालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट क्रमस लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठ सहित दुई तिहाई भन्दा बढी स्थानमा नेपाली काँग्रेस एक्लै विजयी भएको थियो ।

तर यो पटक परिस्थिती बदलिएको छ । नेपाली काँग्रेसले आफ्नो पेवा ठान्ने र नेकपा एमालेले आफुले सुधार गरेको दावी गर्ने छत्रदेवमा एक युवा चर्चामा छन्। गाउँमै कृषि व्यवसायबाट बर्षको आधा करोडको हाराहारीमा कारोवबार गर्ने नमूना उद्यमी युवा पशुपति पाण्डेको उम्मेदवारीले छत्रदेव तरंगित भएको छ ।

प्रत्येक घरमा दैनिक कम्तिमा ५ सय देखी १ हजार सम्म आम्दानीको सुनिश्चित गर्नेदेखि नि:शुल्क अनि गुणस्तरीय शिक्षा स्वास्थ्यको नारा सहित उम्मेदवारी घोषणा गरेका पाण्डेको उम्मेदवारीले प्रमखु राजनीतिक दललाई चुनौति दिएको छ ।

एक जना मतदाताले नाम प्रकाशन नगर्न शर्तमा  ” आफ्नो पार्टी त्याग्न सक्दिन तर एकजना भाईले उम्मेदवारी घोषणा गर्नुभएको छ रे यो पटकको चुनावमा उहाँलाई हेर्ने परिवारमा सल्लाह भएको छ ।”

विवेकशील साझा पार्टी अर्घाखाँचीका संयोजक समेत रहेका पाण्डेका आक्रामक नाराहरुका कारण उनले यसपटक कांग्रेस र एमालेलाई चुनौती दिने भएका छन् ।

यता जीवनमा पहिलोपटक चुनावी मैदानमा उत्रीएका पाण्डे आफू निर्वाचित हुनेमा ढुक्क छन् । “हो मसित जनआधार छैन, टोलटोलमा संगठन छैन” पाण्डेले भने “तर योपटक छत्रदेव बासीको विवेक नै मेरो जितको आधार हो । गाउँगाउँमा मेरो पक्षमा नारा जुलुस नहोलान तर घरघरबाट साथ पाउनेमा ढुक्क छु ।”

“प्रत्येक घरमा नियमित आम्दानी कम्तिमा दैनिक ५००–१०००, मासिक १५ – २५००० कसरी पुर्याउन सकिन्छ भन्ने कुरा म स्वयं गाउँमै कृषि उद्यमि भएकोले राम्रो सङ्ग थाहा छ । म आफै कुनैपनी राज्यसत्तामा छैन र पनि गाउँको उत्पादन बुटवल, पोखरा र काठमाडौ पुर्याइरहेको छु भने अब यहि दसै देखि बिदेशमा पनि निर्यात गर्ने योजनामा छु । तसर्थ म ४८०० घरमै नियमित आम्दानिको सुनिस्चित गर्नेछु ।” पाण्डेले भने

प्रत्येक विद्यालयमा टाढाका विद्यार्थीलाई यातायात सुविधा सहित गुणस्तरीय शिक्षाको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहने पाण्डेले बताए । “गुणस्तरमा अत्यन्तै कमजोर भएको बिधालयमा प्रयाप्त श्रोतसाधन नहुदा पनि आफै प्राईभेट शिक्षकलाई तलब दिएर, आफू स्वयं बिद्यार्थीलाई पढाएर गुणस्तर ल्याउन सफल भएकोले म ढुक्क छु सबै बिधालयलाई प्राइभेट भन्दा राम्रो गुणस्तरीय शिक्षा दिएर टाढाका बिद्यार्थीलाई यातायात सुबिधाको समेत सुनिस्चितता दिनेछु” पाण्डेले भने ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७२ पैसा र बिक्री दर १६० रुपैयाँ ५१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ आठ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५८ पैसा र बिक्री दर ९१ रुपैयाँ तीन पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४१  पैसा छ । जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ  ७० पैसा र बिक्री दर नाै रुपैयाँ ७५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ४३ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ  ९७ पैसा कायम भएको छ ।

फेरि सत्याग्रह थाल्ने डा गाेविन्द केसीकाे चेतावनी, अघि सारे पाँच बुँदे माग

काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झाैता कार्यान्वयन नभएकाे भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ।

‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरुको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ,’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीमा सुधार गर्नका लागि सरकार र मुख्य राजनीतिक दलहरुलगायत सबै सरोकारवालासमक्ष निम्न मागहरु प्रस्तुत गर्दर्छौं । यी माग पूरा नभएमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छौं ।’

केसीले पाँच बुँदे माग अघि सारेका छन् ।

जुन यस प्रकार छन्

१. तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् । जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् । संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् । सरकारले तोकेको सुची अनुसारका सबै औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् । स्थानीय तहको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् । देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस् । स्वास्थ्य चौकीदेखि जिल्ला र प्रदेश अस्पतालका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्याइ जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्था बन्द गरेर दोषीलाई दण्डित गरियोस् । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई गैरचिकित्सक नभई चिकित्सकको मात्र नेतृत्व दिने व्यवस्था गरियोस् ।

२. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पुर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन् । त्यस्तै हामी संग समझौता भए अनुरुप डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पांचथर मा पनि तुरुन्त सरकारी मेडिकल कलेज निर्माण गरियोस् र कैलाली गेटामा अर्को वर्षदेखि एम वी वी एस लगायतका कार्यक्रम हरु को पठन पाठन शुरु गरियोस्। सरकारी स्वास्थ्य शिक्षण संस्थाहरु मा स्नातकोत्तर तह को निशुल्क पठन पाठन को लागि चिकित्सा शिक्षा ऐन बमोजिम (बीचमाअवरोध आउन नदिन) दिगो सरकारी आर्थिक सहयोग को व्यवस्था गरियोस्।

३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् ।

४. आपराधिक पृष्ठभुमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ । चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गरियोस् ।

५. हामीसँग विगतमा भएका सम्झौताहरु तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गरियोस्ः

चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार नेपालको मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने

बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गर्ने

प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्ने

चिकित्सा शिक्षा आयोगका सहअध्यक्षबाट मन्त्रीहरुलाई हटाउने, आदि ।

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

सिरहा । सिरहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएकाे हाे । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।

‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाने परम्परा छ । आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ ।

गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी,  चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् । दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ । जुडशितल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशितलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ ।