समाचार | Page 2019 of 5936 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

समाचार

स्थानीय तहकाे चुनाव : कर्णालीमा कति दल र मतदाता ? 

सुर्खेत । कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्य समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।

रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए ।

डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९ , पुरुष ११ हजार ६१ जना रहेका छन् । त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन् । रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको संख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन् ।

सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८ सय ११ र पुरुषको संख्य ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको संख्या १८ हजार १ सय ६७ रहेको छ । जाजरकोटमा महिलाको संख्या ४९ हजार ९, पुरुषको संख्या ५४ हजार ८ सय ५८ छ ।  दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ ।

कर्णाली प्रदेश भरीको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ । ९ लाख ८ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएकाे छ । जुम्लामा, हुम्लामा र कालीकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको साइटमा राखिएको छैन ।

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिकाे बैठक आज शुक्रबार बस्दैछ । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे ।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काकाे संयाेजकत्वमा समिति गठन गरेकाे थियाे । समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् । कांग्रेसले स्थानीय  आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाे छ ।

रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ ।

बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए ।  माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घेराउ गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विष सेवन गरी आत्महत्या गरेको सूचना प्रहरीले राति पाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट टोली खटिएको थियो । ‘किटनाशक विष सेवन गरेको सूचना पाएपछि प्रहरी घटनास्थल गएको थियो, यस विषयमा अनुसन्धान जारी छ, माइती पक्षले हत्या भएको भनिरहनुभएको छ,’ प्रहरी नायब उपरीक्षक पौडेलले भने ।

अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएका छन् । सो जाहेरी पनि दर्ता भइसकेको पौडेलले जानकारी दिए । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै विष सेवनबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने उनको भनाई छ । कर्तव्य ज्यानमा जाहेरी दिए पनि निष्पक्ष छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याउन प्रहरी प्रयासरत रहेको डिएसपी पौडेलले बताए ।

अनिताको शव पोस्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल राखिएको छ । तर पोस्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने  र हातपात गर्ने गरेका थिए ।

बुधबार राती ९:३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् ।

डोल्पावासीका दुःख : जहाज र स्थलमार्गको खर्च बराबर

सुर्खेत । कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान, आउनका लागि स्थल मार्ग र हवाई मार्गबाट खर्च बराबर लागेपछि यात्रु मर्कामा परेका छन् । लुम्बिनी प्रदेशको नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थल जानका लागि ९ हजार लाग्ने गर्दछ । फर्कंदा ५ हजार भाडा कायम गरिएको छ ।

जान र आउन मात्र हवाई मार्गबाट १४ हजार खर्च हुने गरेको यात्रुहरू बताउँछन् । त्यही पनि भनेको समयमा टिकट नपाउने समस्या रहेको छ । करिब १७ मिनेटको उडान रहने गर्छ ।

स्थलमार्गबाट डोल्पा जानका लागि पनि योभन्दा बढी खर्च गनुपर्ने बाध्यता रहेको सर्वसाधारणहरू बताउँछन् । सुर्खेतबाट जाजरकोट ८ सय, जाजरकोटबाट तल्लु सम्मा ७ सय, अनाहबाट खदाङ १ हजार, खदाङबाट त्रिपुरोकाट ५०० र सुपानीबाट दुनै ४ सय भाडा तिनुपर्ने बाध्यता रहेको छ ।
खाना खर्च, बाटोमा सामग्री नदी पार गराउँदा छुट्टै शुल्क लाग्ने भएपछि जहाजमा उडार गरेझैँ खर्च लाग्ने डोल्पा त्रिपुरासुन्दरी–३ का रामबहादुर धरालाले बताए । तोकिएको समयमा भेरी करिडोर भित्र पुल निर्माण नहुँदा सधैँ सर्वसाधारणले सास्ती भोग्नु परेको उनले बताए ।

भेरी करिडोर भित्र १३ वटा पुल निर्माण कार्य जारी रहे पनि असार मसान्त भित्र निर्माण कार्य सम्पन्न हुने कुरामा शंका रहेको यात्रु बताउँछन् । निजी प्रदायक कम्पनीका जहाजले मात्र डोल्पामा उडान भर्दा हवाई भाडासमेत चर्को रहेको छ । उसो त कर्णालीको हुम्ला र मुगुमा समेत चर्को भाडा रहेको छ ।

यी हिमाली जिल्लामा जहाजको यात्रा गर्न लाग्ने बजेटले विदेशमा घुमेर आउन सकिने पत्रकार प्रभात चलाउने बत्ताउँछन् । हुम्लामा जहाज उडानका लागि मन्त्रीदेखि सांसदसम्मले भनसुन गर्नुपर्ने देखि केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र पठाउनेसम्माका काम गर्नुपरेको छ ।

चार दिनअघि मात्र हुम्लामा जहान नियमित बनाउन माग गर्दै कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) ले ध्यानाकर्षण पत्र पठाएका थिए ।

डोल्पाका सांसद वीरबहादुर शाहीले ६ महिना अघि मात्र नेपाल बायु सेवा निगमको जहाजद्वारा डोल्पामा उद्धार भर्नुपर्ने भन्दै ज्ञापनपत्र नै बुझाएका थिए ।

जहाजका लागि ज्ञापनपत्र सम्मा बुझाउने नेता तथा सांसदले सडक सञ्जाललाई व्यवस्थित बनाइ सबैको पहुँचमा सडक बनाएको भए भारी खर्च गरेर यात्रा गर्नुपर्ने बाध्यता कसैलाई नहुने सर्वसाधारणहरू बताउँछन् । हिमाली जिल्लामा टिकटका लागि सधैँ दसैँ र तिहारका जस्तै दबाब र पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

चिर्वाचन पर्यवेक्षणको लागि ६५ वटा संस्थाले दिए निवेदन

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लािग ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । ‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् ।  निवेदन माथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्वन्धी निर्णय गरिने आयोगले बताएको छ ।

निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदेउः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन आग्रह गरेको छ । राजनीतिक दलका शिर्ष नेताहरुले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका व्यक्त गरेपछि आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो । ‘निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सवैलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्वन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

७० लाखभन्दा बढी मतपत्र छापिए 

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । ‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको छ ।’ आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६.२५ छपाई सम्पन्न भएको आयोगले जनाएको छ ।

विराटनगरबाट १२० केजी गाँजा बरामद 

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बुधबार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो । तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको

एमाले नेतृत्वलाई भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई  प्रयोग गर्न दिएकोमा  आपत्ति जनाएका छन् । नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् ।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच÷पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो । सम्झौतामाा रापप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भागलिन पाउने उल्लेख थियो ।

गोदावरीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, करिव साढे आठ लाख नगद बरामद

ललितपुर । गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख  ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसायोः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन् ।

बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले उक्त आरोप लगाएका हुन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताए । जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा उनले कार्यक्रममा जोड दिएका थिए ।

अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत प्रचण्डले बताएका थिए ।

विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको आरोप उनले लगाए ।

नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताएका थिए ।

कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले गुमाए ज्यान 

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् । विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

नेपाली पत्रकारिताको लागि वर्ष २०७८ कस्तो रह्यो ?

काठमाडौं । नेपाल पत्रकार महासंघले वर्ष २०७८ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रहेको निस्कर्ष निकालेको छ । ‘श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन,’ महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघका अनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएको ठहर महासंघले गरेको छ ।

‘श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । २०७७ सालमा ५ सय १७ जना पत्रकारको श्रम समस्या रहेकामा २०७८ सालमा २ सय २१ वटा श्रम समस्या महासंघ अभिलेखीकरण भएका छन् । २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३ सय जना पत्रकारका समस्या समाधान भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध ३३ वटा घटनाका बारेमा न्यायिक लडाइँ चलिरहेको महासंघले जनाएको छ । त्यस्तै २०७८ सालमा संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएको छ ।

‘संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ,’ महासंघले भनेको छ । अघिल्लो सरकारले जस्तै वर्तमान सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गैरकानुनी कामलाई निरन्तरता दिएको छ । नेपाल सरकारकै संलग्नतामा उजुरी गरेर युएईमा कार्यरत एक पत्रकारलाई अहिले पनि जेलमा राखिएको छ ।

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई उपयोग गर्न नदिनेगरी सरकारले विभिन्न प्रकारका कानुन ल्याउने प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्ता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फसेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको जनाइएको छ ।

वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दबाब र कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाइएको महासंघले बताएको छ । ‘यो वर्ष हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासंघले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ पुर्याउने छ,’ महासंघले भनेको छ ।

महासंघले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य संघसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन सुरु गरिसकेको जनाएको छ । तीन तहकै सरकारले ल्याएका र ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनु पर्ने माग महासंघले गरेको छ ।

‘तर अहिले आइसकेका केही र ल्याउने तयारीमा रहेका केही कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले त्यसकाविरुद्ध सशक्त आन्दोलनमा उत्रिने तयारी महासंघले गरेको छ । यसमा अधिकारकर्मी सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ,’ महासंघले भनेको छ ।

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

उदयपुर । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या हजारौ हजार हुन्छन् ।

इसाको छैटाैँ, सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रिय स्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख के को हो । प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्र देखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन अर्थात वैशाख १ गते त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासी फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः ओइलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्ला अन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो भनिन्छ । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् भनिन्छ ।

सलहेशलाई मनमनै ह्दयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा बैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहि आएको स्थानीयबासीको भनाई रहेको छ ।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, बिराटपुर, त्रिवेणी धाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । बैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् । जुन फूल हेर्न देश–विदेशबाट हजारौको संख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिस दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेम विछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहि आएकाले यस फूलबारी भित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको पाइन्छ ।

यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छुः बलिउड अभिनेता सोहेल खान

काठमाडौं । बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।

बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् । सलमान र सोहेल दाजुभाई हुन् ।

‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’

‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने उनले बताए । उनले शो हेर्नको लागि आउन सबैलाई अनुरोध गरेका थिए ।

‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो ।

जेठ १४ गते विहान ११ बजेदेखि दरशथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली कलाकारको प्रस्तुती राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जनाइएको छ ।

लुम्बिनीमा चुनावी गठबन्धन कांग्रेसलाई गलपासो

बुटवल । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनको भागबण्डा मिलाउन कांग्रेसलाई गलपासो भएको छ । पाँच दलीय गठबन्धन एक भएर चुनाव लड्ने निर्णय भएपनि भागबण्डा मिलाउने विषयलाई लिएर उनीहरुबीच तीव्र अविश्वास देखिएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सुरुदेखि नै गठबन्धनको विपक्षमा थिए । तर, पार्टीको केन्द्रीय तहको निर्णयसँगै गठबन्धनको पक्षमा उभिए पनि खुलेर चुनावी तालमेलको प्रक्रिया अगाडि बढाउन रुची देखाएका छैनन् ।

गठबन्धन गर्दा कांग्रेसले धेरै गुमाउनुपर्ने तर्क गर्दै आएका उनी केन्द्रीय तहको निर्णय र निर्देशनसँगै अप्ठेरोमा परेका हुन् । व्यक्तिगत रुपमा उनी अझै पनि गठबन्धनको पक्षमा नरहेको बताउँछन् । नीतिगत रुपमा पार्टीले निर्णय गरेपछि भने त्यसको विरोध गर्दै आफू नहिँडेको पुनले प्रतिक्रिया दिए । गठबन्धन गर्दा व्यवस्थित गरिकाले गर्नुपर्ने तर्क गर्दै उनले भने, ‘गठबन्धनका नाममा गलपासो नगरौं भन्ने हो, त्यस विषयमा मैले आफ्नो फरक मत राखिसके ।’

गठबन्धन गरेर अघि बढ्ने निर्णयसँगै पहिलो पटक सार्वजनिक विज्ञप्तिमा नेकपा एकीकृत समाजवादीको नामनै समावेश नगर्दा त्यसको असर चुनावको अन्तिम दिनसम्म पनि पर्न सक्ने नेताहरु बताउँछन् । उक्त भूललाई सुधार गरी समाजवादीसहितको पाँचवटै दलका प्रतिनिधिको हस्ताक्षरसहित फेरि विज्ञप्ती निकालिए पनि पनि पहिलो विज्ञप्तिमै गठबन्धन दलकै नाम छुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैगरी चैत २७ गते बसेको गठबन्धन दलको बैठकले यस बाहेकका अन्य कुनै पनि दलसँग गठबन्धन नगर्न निर्देशन जारी गरेको छ । उक्त निर्णय कार्यान्वयन गराउनका लागि अनुगमन संयन्त्र नै निर्माण गरी अघि बढ्नुले उनीहरुबीच आपसी विश्वासको कमी भएको देखिएको छ । केन्द्र तथा प्रदेश तहमा दलीय गठबन्धन गरे पनि स्थानीय तहका नेता कार्यकर्ताले गठबन्धनलाई अस्वीकार गर्ने डर नेतृत्वलाई रहेको देखिन्छ ।

गठबन्धन दलमा सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस भित्र नेता कार्यकर्ताहरुको चित्त बुझाउन थप सकस हुने देखिएको छ । कांग्रेसका केही नेताले अनौपचारिक रुपमा गरिने छलफलमा गठबन्धनका कारण आफूहरुले धेरै गुमाउनु पर्ने तथा पार्टी भित्रैबाट अन्तरघातको सम्भावना बढी रहने बताउने गरेका छन् ।

गठबन्धनभित्र मतभेद हुँदा उम्मेदवारको नाम समेत सिफारिस गर्न नसक्नुले लुम्बिनीका चार उपमहानगर पहिलो चुनौतीका रुपमा देखिएको छ । बुटवल उप–महानगरपालिका, घोराही उप–महानगरपालिका, तुल्सीपुर उप–महानगरपालिका र नेपालगञ्ज उप–महानगरपालिकामा गठबन्धनका कुन दललाई प्रमुख पदको उम्मेद्वार बनाउने विषय नै चुनौतीपूर्ण देखिएको हो ।

चार उप–महानगर मध्ये नेकपा माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र नेपाली कांग्रेसले दुई वटा उप–महानगरपालिका पाउनुपर्छ भन्ने मत बलियो छ । यसरी भागबण्डा गर्दा आफ्नो राम्रो जनमत भएको उपमहानगर पनि अन्य दललाई सुम्पिनु पर्ने देखिएपछि काँग्रेसका स्थानीय नेताहरु बीच मत बाझिने सम्भावना पनि देखिएको छ ।

काँग्रेस लुम्बिनी सभापति पुनले विगत निर्वाचनको जनाधार र अहिलेको अवस्थालाई हेर्दा काँग्रेसले नै सबै उपमहानगरमा नेतृत्व पाउनु पर्ने दाबी गरे । विगतमा जुन पार्टीले जितेको र संगठनको अवस्था के छ सोही अनुसार निर्णय हुने बताउँदै उनले चारवटै उपमहानगर आफूहरुले पाउनु पर्ने बताए ।

गठबन्धनमा गत निर्वाचनमा जित दर्ता गरेको आधार तथा मतभारको आधारमा ती दलहरुलाई पहिलो प्राथमिकता दिने यसअघि नै समझदारी भएको छ । यस्तो अवस्था रहेको खण्डमा बुटवलबाट मेयरको टिकट आफूहरुले पाउनु पर्ने एकीकृत समाजवादीको माग छ । पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज बालकृष्ण चापागाईंले गठबन्धनमा आफूहरुलाई सम्मानजन व्यवहार गरिनु पर्ने बताए । लुम्बिनी प्रदेशका चार उपमहानगर मध्ये बुटवलमा आफूहरुले प्रमुख पद पाउनु पर्ने बटमलाइन रहेको उनले स्पष्ट पारे ।

यसैगरी नेपालगञ्ज उप–महानगरपालिका र तुल्सीपुर उप–महानगरपालिकामा समेत कांग्रेसले प्रमुख पद पाउनुपर्ने बताएको छ । हालसम्म नेपालगञ्जमा गठबन्धनका अन्य कुनै पनि दलले दाबी गरेका छैनन् । गठबन्धन दल नेकपा माओवादी कन्द्रले घोराही उपमहानगरमा आफूले प्रमुख पद पाउनु पर्ने माग गरेको छ । नेपालजञ्ज र तुलसीपुर उमहानगरमा गठबन्धनका दलहरुले दाबी नगरको हुँदा काँग्रेसले नै प्रमुख पद पाउने निश्चित प्रायः छ ।

यसरी गठबन्धन मिलाउन काँग्रेसले महत्वपूर्ण मानिएको बुटवल उपमहानगर र घोराही उपमहानगर अन्य दललाई दिनुपर्दा उसको पार्टी पंक्तिभित्र नै ठूलो असन्तुष्टी हुने देखिएको छ । यसैगरी गठबन्धनका दलहरुले प्रमुख पद नपाएको अवस्थामा गठबन्धन नै धरापमा पर्ने सम्भावना पनि छ ।