समाचार | Page 251 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, चार बुँदे घाेषणापत्र जारी

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघहरुले जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो ।

असार ४ गते सम्पन्न राष्ट्रिय भेलाले चार बुँदे घोषणापत्र समेत जारी गरेको छ । नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको अल्टिमेटम दिई सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नको लागि ज्ञापन पत्र दिने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले नेपाल सरकारसँग विभिन्न समयमा भएका सहमति र प्रतिवद्धताको सम्मान गर्दै हाल भइरहेको विरोध एवं आन्दोलनका कार्यक्रमहरु २०८२ असार मसान्तसम्म स्थगित गरी रचानात्मक क्रियाकलाप गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले महासंघले २०८२ असार मसान्त भित्र आफूहरुका माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत् साझा संघर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिनुभयो ।

महासंघले सुनचाँदी, हीरा तथा बहुमूल्य धातुका गहना सम्बन्धि नीति निर्देशिका यथाशिघ्र लागू गराउन निर्णयक पहल गर्ने निर्णय गरेको छ ।

एसईई परीक्षा हटाउने हाेइन, सरल र परिस्कृत बनाऔँ

विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलकै क्रममा छ । समितिमा अहिले माध्यमिक परीक्षा एसईई लिने कि नलिने भन्ने विषयमा पक्ष र विपक्षमा उत्तिकै तर्क प्रस्तुत भइरहेका छन् । शिक्षाविद्, अभिभावक, शिक्षक र शिक्षासेवीले विद्यार्थीमा पठन संस्कृतिको अभ्यास झन् बढाउनु पर्ने आवश्यकता भएको तर्कसहित परीक्षा हटाउन नहुने सुझाव दिएका छन् ।

 

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा लिने कि नलिने भन्ने विषयमा दुईथरी तर्क प्रस्तुत भएका छन् । छलफलका क्रममा सांसदले एसईई परीक्षा हटाउने विषयमा सहमति जनाए । सांसदको सहमतिपछि देशभरि अहिले एसईई परीक्षा हटाउन नहुने तर्कसहितको नागरिक आवाज उठेको छ ।

विद्यार्थीमा एसईईलाई फलामे ढोका र विद्यालय शिक्षाको पहिलो खुट्किलो भनेर भ्रमसँगै हाउगुजी सिर्जना गर्न नहुने, तर बालविकास अर्थात् शिशु कक्षाबाटै परीक्षाको अभ्यास गराउनु पर्ने तर्क शिक्षक, अभिभावक र शिक्षासेवीको छ । सबै खाले परीक्षामा अभ्यास गराउँदा विद्यार्थीमा पठन संस्कृति झन् बढ्ने उनीहरुको तर्क छ । शिक्षाविद् पनि एसईई परीक्षा हटाउन नहुने यसलाई सरल र परिस्कृत बनाउनु पर्ने तर्क गर्दै आएका छन् ।

शिक्षाविद्ले विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको तर शिक्षकहरुले संविधान संशोधन गर्दा विद्यालय शिक्षा प्रदेश तहमा राख्नु पर्ने माग गरे पनि विद्यालय तहदेखिकै शिक्षाको सम्पूर्ण दायित्व खटनपटन नियुक्ति सरुवा बढुवा सबै अधिकार संघीय सरकार मातहतमै राख्नु पर्ने तर्क गर्छन् । स्थानीय र प्रदेशले शिक्षाको मर्मअनुसार सञ्चालन गर्न अहिले पनि नसकेको र भविष्यमा पनि दुबै तहले विद्यालय शिक्षाको दायित्व नधान्ने तर्क गर्छन् ।

शिक्षासेवी र समाजसेवी विद्यार्थीलाई जति धेरै परीक्षा लियो त्यत्तिनै पढ्ने र नयाँ नयाँ विषय जान्ने जिज्ञासा बढाउने भएकाले शिक्षामा परीक्षाको संख्या घटाउने नभइ बढाउनु पर्ने सुझाव दिन्छन् । सबै थरीका तर्क र मर्मका साथै भावना बुझ्दा जस्तो सुकै परीक्षा भए पनि त्यसको सामना गर्न सक्ने पठन संस्कृतिको विकास गर्नैपर्ने आवश्यकता विद्यालय शिक्षामा देखिएको छ । त्यसैले परीक्षा सरल सबैलाई उत्प्रेरणा जगाउने र घटाउने होइन, बरु बढाउनुपर्छ । जसले विद्यार्थीमा आत्मबल बढाउँछ ।

सांसदहरुले सुझबुझका साथ विद्यालय तहको शिक्षा र त्यसको परीक्षा सञ्चालन गर्ने उपकरण, जनशक्ति र विज्ञ समूहको पनि समयसापेक्ष आवश्यकता अनुसारको व्यवस्थापन गर्नसक्ने सामर्थ्य भएको तहमा विद्यालय शिक्षा राख्नु उचित हुन्छ । दश किलोको भारी बोक्न नसक्नेलाई २५ किलो बोकाउने निर्दयी व्यवहार गरिनु हुँदैन ।

अहिले पनि विद्यालयल शिक्षालाई ८० प्रतिशत स्थानीय तहले राम्रोसँग व्यवस्थापन गर्न सकेका छैनन् । विद्यालय नै चलाउन नसकेको अवस्थाका स्थानीय तहले परीक्षा सञ्चालनको काम गर्नै सक्दैनन् । अहिले जसरी एसईई चलेको छ, यसलाई सरल र थप व्यवस्थित बनाएर संघ सरकारले नै एसईई चलाउनु पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायको सुझाव छ ।

इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारकाे ध्यानाकर्षण

काठमाडाैं । राष्ट्रिय सभामा नेकपा (एमाले) की संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद न्याैपानेले इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बताउँदै इजरायलमा लगभग सात हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको बताउनुभयो । उहाँले सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा पहलकदमी र चासो देखाएको बताउँदै श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक समेत बसेको बताउनुभयो ।

उहाँले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको बताउँदै फर्किन चाहने नेपालीलाई फर्काउने र त्यहीँ रहनेहरूको सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद न्याैपानेले मानव स्वास्थ्यलाई ध्यान नदिई मानव पूँजीमा विकास गर्न नसकिने भन्दै नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

संघीयता बलियाे बनाउन स्थानीय र प्रदेशलाई पर्याप्त अधिकार हस्तान्तरण गराैँ : सांसद ढकाल

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले संघीय प्रणाली प्रभावकारी बनाउनका लागि स्थानीय र प्रदेश सरकारलाई पर्याप्त अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद ढकालले अहिले पनि केन्द्रले स्थानीय तथा प्रदेश सरकारलाई अधिकार दिन नसकेको टिप्पणी गर्नुभएको हो ।

सांसद ढकालले राजनीतिक पार्टीहरूमा सत्ता हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गर्ने प्रवृत्तिले पनि समाजमा भ्रम र अस्थिरता फैलाइरहेको बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने प्रवृत्तिको अन्त्य नगरे वर्तमानजस्तै बहस तीन वर्षौसम्म दोहोरिरहने बताउनुभयो ।

सांसद ढकालले सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गर्ने राजनीतिक संस्कारको अन्त्य गर्न जरुरी रहेको समेत बताउनुभयो । उहाँले सत्तामा हुँदा देश र जनताको हितमा काम नगर्ने तर प्रतिपक्षमा गएपछि समाजलाई उत्तेजित बनाउने राजनीतिक रोगको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले सांसदहरु मुलुक र जनताको समस्या समाधान गर्न निर्वाचित भएर आएको स्मरण गराउँदै त्यसको गरिमा राख्न समेत सुझाव दिनुभयो ।

नेतृत्व गर्नेले खुट्टा कमाएर मुलुक बन्दैन : सांसद भण्डारी

काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेतृत्वमा रहेकाहरुले खुट्टा कमाएमा मुलुक बन्न नसक्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरु माथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले विनियोजित विधेयकमाथि सात वटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागेपनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको बताउनुभयाे ।

शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बजेट ल्याउनु आवश्यक नभएको भन्दै बजेटभन्दा पनि आवश्यकतातर्फ गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद भण्डारीले विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर व्यवस्था ल्याएको पनि ३४ वर्ष बितिसकेको भन्दै संसदमा देखिएका असहमतिको समाधानका निमित्त सरकारलाई आग्रह गर्नुभयो ।

सांसद भण्डारीले मुलुक युवाबिहीन बनिरहेकोतर्फ छलफल गर्नुपर्ने अवस्था भएपनि त्यसतर्फ गम्भीर बन्न नसकेको बताउनुभयाे।

विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद् : सांसद शर्मा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरु माथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भएपनि समस्या समाधानतर्फ चिन्ता र चासो नहुनु दुःखद् भएको बताउनुभएको हो ।

सांसद शर्माले बजेट वार्षिक कार्यक्रम भएको र वर्ष भरलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा राख्न नपाएकोप्रति आपत्ति जनाउनुभयो । बजेट बक्तव्यमा हतार गरेर सांसदहरुको अधिकार कटौती हुनेगरी टुंग्याइएकोप्रति दुःख व्यक्त गर्दै सांसद शर्माले मध्यपूर्वमा चर्किरहेको युद्धको मारमा रहेका नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह गर्नुभयो ।

सांसद शर्माले मध्यपूर्वमा रहेका चालिसौँ लाख नेपालीको सुरक्षा, रोजगारी लगायतका विषय गम्भीर भएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

नेपालमा बढ्दै काेराेना संक्रमण, संक्रमितकाे संख्या ३० पुग्याे

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो ।
इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताउनुभयो । उहाँका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् ।
उहाँका अनुसार अहिलेसम्म (पुस १७ गते यता) १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सबैभन्दा बढी वागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा समान तीन/तीन जनामा सङक्रमण देखिएको छ ।
एन्टिजेन पठाइयो
निर्देशक डा झाले कोरोना भाइरसको सङक्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिनुभयो । उहाँका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पाइसकेको छ । उहाँले सङक्रमणको जोखिमलाई ध्यान दिदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका निर्देशक डा युवानिधि बसौलाले फाट्टफुट बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुहुन्छ । “मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन्”, उहाँले भन्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएका कारणले नेपालमा पनि देखिएको बतउानुभयो ।
“भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्”, उहाँले भन्नुभयो, “मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।” मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दिर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिम रहेको बताउनुभयो ।

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तको प्रतिक्षा धेरैले गरेका छन्।

पहिलो खेलमा तेस्रो सुपर ओभर पुग्दासमेत पराजित भएको नेपाल दोस्रो भेटमा नेदरल्यान्ड्ससँग बदला लिने दाउमा छ। तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ।

दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ। पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकाल्यो।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ। नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन्। समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन्। नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल बिहीबार साँझ ७ः४५ बजे शुरु हुनेछ।

तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आज (बिहीबार) का लागि तय भएको बैठक स्थगन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
बुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं बाहिर रहनुभएकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भनिएकाे थियो ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्याे, अदालत गन्हायाे : सांसद सुनार

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताउनुभएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताउनुभयो ।

सांसद सुनुवारले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताउनुभयो । उहाँले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गर्नुभयो । सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गर्नुभयो ।

उहाँले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनुभयो । उहाँले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गर्नुभयो ।

उहाँले सकारात्मक सोचसहित सकारात्मक बाटो जानुपर्नेमा जोड दिँदै सरकार र जनता एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश

काठमाडाैं । प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश भएको छ । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दफावार छलफल गरी भएको सहमतिअनुरुप सर्वसम्मत निर्णय गरी प्रतिवेदन सदनमा पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्दै सभापति खतिवडाले विधेयकलाई समृद्ध बनाउन औपचारिक तथा अनौपचारिक रुपमा महत्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारी, राष्ट्र सेवक, संघीय संसद र सचिवालय बधाइको पात्र भएको बताउनुभयो । कोही पनि नेपाली नागरिक नागरिकताबिहीन नहुन् र नेपाली बाहेकले नेपालको नागरिकता नलिउन् भन्ने मूल मर्मकासाथ विधेयक ल्याइएको सभापति खतिवडाको भनाइ थियो ।

उहाँले विधेयकमा आमाको नामबाट नागरिकता नपाउने परम्पराको अन्त्य गर्दै आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले गैर आवासीय नेपाली संघ र पूर्वगोरखा सैनिकका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता गृहमन्त्रीले समितिमा गर्नुभएको जानकारी दिनुभयो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीबीच चर्काे प्रतिस्पर्धामा

काठमाडाैं । ग्राहक संख्या बढाउन इन्टरनेट कम्पनी चर्को प्रतिष्पर्धामा रहेको तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका आधारमा सरकारी कम्पनीलाई समेत उछिन्दै इन्टरनेट सेवामा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । कम्पनीका इन्टरनेट सेवाका ग्राहक संख्या १० लाख ३ हजार ९ सय ४९ पुगेका छन् ।

घरेलु, साना व्यवसाय, कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै सेवा दिइरहेको वर्ल्डलिंकले दुई वर्षअघि विदेशी लगानी समेत भित्र्याएको थियो । जुन नेपालकै पहिलो विदेशी लगानी भित्र्याउने इन्टरनेट कम्पनी बनेको थियो । सो कम्पनीले ब्रिटिश इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डमार्फत विदेशी लगानी ल्याएको थियो ।

ग्राहक संख्या आक्रामक तवरले बढाइरहेको वर्ल्डलिंकले व्यापार पनि उत्तिकै गरिरहेको छ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा ७.७० प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा ९ अर्ब ३० करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ ।

हाल वर्ल्डलिंकको फाइबर नेटवर्क मुख्यतया शहर केन्द्रित छ । ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्न कम्पनीले थप फाइबर नेटवर्क बिछ्याउने योजना बनाइरहेको छ । सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ग्राहक संख्या ३ लाख ५१ हजार ९ सय १२ छ । नेपाल टेलिकममा सरकारको लगानी पनि छ । सरकारी लगानी भएपनि यो कम्पनी पहिलो बन्न सकेको छैन । नेपाल टेलिकमको वित्तीय अवस्था हेर्ने हो भने सार्वजनिक संस्थानहरूमध्ये धेरै सञ्चित नाफा कमाउनेमा पहिलो स्थानमा देखिन्छ । हालै सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८२ अनुसार नेपाल टेलिकमले ४८ अर्ब तीन करोड २० लाख रुपैयाँ सञ्चित नाफा कमाएको थियो ।

यद्यपि सबैभन्दा बढी सञ्चित नाफा भएको सार्वजनिक संस्थान नेपाल टेलिकमको पनि खुद नाफामा भने पछिल्ला वर्षमा गिरावट आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड एक लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को ७ अर्ब ९२ करोड दुई लाख रुपैयाँको तुलनामा २१.३४ प्रतिशतले कम हो ।

अर्को इन्टरनेट सेवा प्रदायक ग्राहक संख्याका आधारमा तेस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडसँग ३ लाख ५० हजार ४ सय ६ ग्राहक छन् । यस्तै, सुबिसु केबलनेट लिमिटेडको ग्राहक संख्या ३ लाख १० हजार २ सय ९४ छ भने भायानेट कम्युनिकेसन लिमिटेडको ग्राहक २ लाख ४५ हजार ९४५ छन् ।

अर्को इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.को ग्राहक संख्या वैशाख मसान्तसम्म १ लाख ८२ हजार ९ सय ८६ पुगेका छन् । वेबसर्फर नेपाल कम्युनिकेसनले पनि ग्राहक संख्या बढाउँदै लगेको छ । वेबसर्फरका ग्राहक अहिले १ लाख ७६ हजार ६९ छन भने टेकमाइण्ड्स नेटवर्क प्रा.लि.को ग्राहक ८५ हजार ८ सय ९१ रहेका छन् ।

त्यस्तै, चौधरी ग्रुपले सञ्चालन गरिरहेको सीजी कम्युनिकेसन लिमिटेडले पनि ग्राहक संख्या बढाउँदै लगेको छ । सिजिका ग्राहक अहिले ८० हजार ८५४ रहेका छन् भने बजारमा सस्तो नेट दिएको भनेर प्रचार धेरै गर्ने वाइफाइ नेपाल प्रा.लि.ले समेत ७४ हजार २९ ग्राहक बनाइसकेको छ ।

बजेटमा यी १० कम्पनी बाहेक अरुले पनि सेवा दिइरहेका छन् । खासगरी ब्रोडलिंक, फाइबर वर्ल्ड कम्युनिकेशन, सजिलो नेट, कोनेक्ट नेपाल नेटवर्क लगायतले सेवा दिइरहेका छन् । उनीहरुको ग्राहक संख्या धेरै ठूलो छैन तर पनि आफ्नो उपस्थिति जमाएकै छन् ।

बजारमा वर्ल्डलिंक सहितका दर्जनौं कम्पनीहरुले सेवा दिइरहँदा इन्टरनेटको गुणस्तरीयतामाथि बारम्बार प्रश्न उठ्न गरेको छ ।

खासगरी इन्टरनेट स्लो चलेको, भनेको भन्दा कम एमबीपीएस सेवा प्रदायकले दिँदा प्रभावकारी सेवा नपाएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । उपभोक्ताले त्यस्ता गुनासाहरु पटकपटक इन्टरनेट कम्पनीलाई गराउँदा समेत उन चासो नदेखाउने गरेको बताउँदै आएका छन् ।
नियामक दूरसञ्चार प्राधिकरणले ग्राहकलाई हैरानी दिने सेवाप्रदायकमाथि कारबाही गर्न नसकेकोप्रति पटकपटक प्रश्न समेत उठ्ने गरेको छ ।

सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत

काठमाडाैं । नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ऋणको आन्तरिक तथा बह्य ऋण बढ्दै गएको हो ।

कार्यालयका अनुसार सार्वजनिक ऋण २०८२ जेठ मसान्तसम्ममा २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको शुरुवातमा रहेको २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण २ खर्ब बढीले वृद्धि भई २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्त सम्ममा ४ खर्ब १४ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७५ दशमलव ७२ प्रतिशत रहेको छ ।

जसमध्ये आन्तरिक र बह्य ऋण प्राप्तिको प्रगति कमशः १५ दशमलव ४५ र ४५ दशमलव ७२ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमश ७६ दशमलव ९५ र २३ दशमलव ९५ प्रतिशत रहेको छ । सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीतर्फ चालु आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्म ३ खर्ब २९ अर्ब ६९ करोड भुक्तानी भएको छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा ८१ दशमलव ८२ प्रतिशत हो । कुल गाहस्थ उत्पादनको आधारमा जेठ मसान्त सम्ममा कुल ऋण सेवा खर्च ५ दशमलव ४ प्रतिशत रहेको छ । सरकारले आगामी वर्षको बजेटमा विभिन्न ऋण तथा ब्याज तिर्नका निम्ति वित्तीय व्यवस्थाअन्तर्गत ३ खर्ब ५७ अर्ब रुपैयाँ छुट्टयाइएको छ ।

यो करिब विकास बजेट जति हो । आगामी वर्षका लागि कुल बजेट रकममध्ये विकास खर्चमा  ४ खर्ब ७ अर्ब रुपैयाँ छुट्टाएको छ । विदेशी मुद्रामा देखिएको उतारचढावका कारण सार्वजनिक ऋणको दायित्व बढिरहेको ऋण व्यवस्थापनले बताएको छ ।

 

‘कुलिङ पिरियड’ नहटाउन सचिवहरूले धम्की दिएको सांसद पाण्डेकाे दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले संघीय निजामति सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामाको चेतावनी दिँदै सरकारमाथि दबाब दिएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको धम्कीका कारण सरकारले निजामति विधेयक अघि नसारेको दाबी गर्नुभयो । उहाँल खुट्टा नकमाइकन सरकारलाई विधेयक अविलम्व संसदमा प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

गत मंगलबारको कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक सरकारले केही दिन रोक्ने निर्णय गरेको सुनिएको छ ।

निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ । जस अनुसार राजीनामा वा अवकाश पाएपछि सरकारी कर्मचारीले २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्त पाउँदैनन् ।

 

भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरु एकजुट भएर अघि बढ्न अपिल गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विषेशको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको हो ।

प्रमुख सचेतक शाहीले भिजिट भिसा प्रकरणमा अहिलेका गहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताउनुभयो । उहाँले लाखौँ नेपालीहरु विदेशमा भिजिट भिसाको नाममा बेचिएर अलपत्र परेको उल्लेख गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

उहाँले अवरोधका बीच संसद नचलाउन समेत सभामुखसँग आग्रह गर्नुभयो । अवरोधका बीच संसदको कारबाही अगाडि बढाए आजपनि बैठक बहिस्कार गर्ने उहाँको भनाइ छ ।

दैलेखमा एकसय १२ घनमिटर मिथेन ग्यासको विशाल भण्डारण रहेकाे पुष्टि

काठमाडाैं । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । जसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ ।

विसं २०७८ वैशाख २८ गतेदेखि शुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमान अनुसार जलजले क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ ।

याे भण्डारणबाट उत्खनन् गर्दा नेपालमा करिब ५० वर्षसम्म आवश्यक ग्यासकाे माग पूरा गर्नसक्ने सम्भावना देखिएको छ।

खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार नेपाल र चीनबीच २०१९ मा भएको जिटुजी सम्झौतापछि यो काम शुरु गरिएको थियो ।

नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा ४५ रोपनी सरकारी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरेको थियाे ।

हाल प्राप्त भएको प्रतिवेदन प्रारम्भिक भएकाे र ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझ विस्तृत परीक्षण भइरहेको छ । चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ ।

अन्तिम प्रतिवेदन प्राप्त भएपछि डिसेम्बर भित्रै व्यावसायिक उत्पादन परीक्षण शुरु गर्ने सरकारी योजना रहेको बताइएको छ ।