काठमाडौं, १ वैशाख । कोरोना भाइरस (कोभिड-१९)विरुद्ध ‘क्लिनिकल ट्रायल’मा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेटको उत्पादन नेपालमै पर्याप्त हुने गरेको छ। देउराली जनता फर्मास्युटिकल्स, क्युमेड र मारुती फर्माले यो औषधि उत्पादन गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ। विभागका महानिर्देशक नारायण ढकालका अनुसार मारुती फर्माले हालै उत्पादन सुरु गरेको हो। देउराली जनता र क्युमेडले भने लामो समयदेखि उत्पादन गर्दै आएका छन्।
कोरोनाविरुद्ध भारतलगायत मुलुकले क्लिनिकल ट्रायलका रूपमा यसको प्रयोग गर्दै आएको महानिर्देशक ढकालले बताए। ‘यो औषधिको प्रयोग सफल भएको खण्डमा नेपालमै पनि पर्याप्त मात्रामा उत्पादन गर्न सकिन्छ’, उनले भने, ‘कच्चा पदार्थ विदेशबाट ल्याएर स्वदेशमै पर्याप्त औषधि उत्पादन गर्न सकिने देखिएको छ।’
देउराली जनताले आवश्यक परे सरकारलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। सरकारले माग गरेको अवस्थामा १५ हजार जनाको उपचार पुग्ने ४ लाख ट्याब्लेट उत्पादन गरिने देउराली जनताले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले हाइड्रोक्सिक्लोरोक्वाइन स्टक राख्ने काम भइरहेको बताए। ‘तत्कालै ४ लाखभन्दा बढी ट्याब्लेट स्टकमा राख्ने योजनाअनुरुप काम अघि बढेको छ’, उनले भने।
हाइड्रोक्सिक्लोरोक्वाइन उत्पादनका लागि औषधि उत्पादकले भारतबाट कच्चा पदार्थ ल्याउने गरेका छन्। भारतकै तीन कम्पनीबाट उत्पादित हाइड्रोक्सिक्लोरोक्वाइन नेपाली बजारमा बिक्रीवितरणसमेत भइरहेको औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले बताए।
उनका अनुसार इप्का ल्याबरोटरिज प्रालि, एलेम्बिक फर्मा र वालेस फर्माबाट उत्पादित ट्याब्लेट नेपालमा खपत हुने गरेको छ। इप्काको नेपालस्थित आयातकर्ताको गोदाममा २ सय एमजीको ३ लाख ट्याब्लेट सञ्चित छ। त्यस्तै, ४ सय एमजीको ६० हजार ट्याब्लेट, ३ सय एमजीको १२ हजार ट्याब्लेट गोदाममा छ। एलेम्बिक कम्पनीको २ सय एमजीको १३ सय ट्याब्लेट औषधि पनि गोदाममा रहेको जनाइएको छ।
वालेस फर्माको ५० हजारभन्दा बढी ट्याब्लेट औषधि रक्सौल नाकामा रोकिएको महासचिव आचार्यले बताए। मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले नाकामा रोकिएको औषधि तथा औषधिजन्य कच्चा पदार्थ कूटनीतिक माध्यम प्रयोग गरी ल्याइने बताए। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।