काठमाडाैं, २४ चैत । सरकारले १ चैतयता विदेशबाट आएका करिब ६१ हजारजनाको विवरण संकलन गरेको छ । विदेशबाट आएकाहरूको विवरण संकलन गरी क्वारेन्टाइनमा राख्ने जिम्मेवारी सरकारले सम्बन्धित स्थानीय तहलाई दिएको छ ।
‘आइतबारसम्म विदेशबाट आएका ६१ हजारको विवरण संकलन भएको छ, त्यसमध्ये ५८ हजार पाँच सय क्वारेन्टाइनमा बसेको विवरण छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने । धेरैजसो होम क्वारेन्टाइनमा बसेको उनले बताए । मन्त्रालयले सातै प्रदेशका लागि सम्पर्क अधिकृत तोकेर दैनिक सबै स्थानीय तहबाट विवरण संकलन गर्न थालेको छ ।
१ चैतयता भारत तथा तेस्रो मुलुकबाट करिब पाँच लाख भित्रिएको अनुमान गरिएको छ । सुदूरपश्चिममा मात्र डेढ लाख भारतबाट फर्किएका थिए ।
उनीहरूमध्ये धेरै गाउँमा रहेको र गाउँमा लकडाउनको नियम पालना कडाइका साथ नभएकाले जोखिम बढेको मन्त्रालयले जनाएको छ । विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई पत्राचार भइरहेको प्रवक्ता अधिकारीले बताए । नयाँपत्रिका दैनिकले खबर छापेकाे छ ।