काठमाडौं, २३ चैत । ‘घरअगाडि भारत छ। भारतीय प्रहरी सीमामा तैनाथ छन्। घरपछाडि मेची नदी २४ सै घण्टा सुसाएर बग्छ। मेचीपारि नेपालतिर सशस्त्र प्रहरी छन्। नेपाली हौँ तर न नेपाल छिर्न सक्छौँ न भारत जान।’ कोरोनाबारे सुनिराख्दा मेचिपारिका नेपाली भन्छन्, ‘अत्यावश्यक काममा जाँदा नागरिकता देखाएर मात्र नेपाल छिर्न पाइन्छ।’
मेचीपारिका एक मात्र जनप्रतिनिधि अरुण राजवंशी भन्छन्, ‘यो ठाउँ भारतसँग पानी–पधेँरो जोडिएकाले अति संवेदनशील छ। सीमामा बस्ने प्रहरीले भारततिर जान–आउन कडाइ गरे पनि कतिपयले भारतीयले नेपालमा आएर मकै लगाएका छन्। कतिपयले तरकारी खेती गरेका छन्।
भारतीय सीमा प्रहरी (एसएसबी) को आँखा छलेर मकैबारीमा काम गर्न आउने गर्छन्। अरुण भन्छन्, ‘यसले यहाँका बासिन्दामा झन् खतरा छ। न भारतबाट त्यसरी छिर्नेले स्वास्थ्य संवेदनशीलता अपनाएका हुन्छन् न त नेपालबाट भारत जानेले।’
अर्कोतिर मेचीपारिको गाउँमा एउटा पनि क्वारेन्टाइन छैन। भारतबाट आउनेहरू निष्फिक्री डुलिरहेका हुन्छन्। भद्रपुर नगरभित्र सुविधासम्पन्न क्वारेन्टाइन सञ्चालनमा ल्याएको नगरले खुला सीमा जोडिएको नेपाली टापुमा मास्कसम्म पुर्याउन सकेको छैन।
जब देशमा विपद् सुरु हुन्छ तब मेचीपारिको टापु सधैँ एक्लिन्छ। एक सय ६० घरपरिवार रहेको उक्त टापुका कतिपय नेपाली कोरोनाबारे अभैm बेखबर छन्। खेती किसानमा आबद्ध उनीहरू दैनिक खेतबारीमै व्यस्त देखिन्छन्। नेपालतर्फ सयौँ संघसंस्थाले मास्क, स्यानिटाइजर उपलब्ध गराइरहँदा मेचीपारिको उक्त टापुमा भने कसैले केही वितरण गरेका छैनन्।
स्थानीय श्यामलाल गणेश भन्छन्, ‘हामी टुहुरा नेपाली हौँ। वडाध्यक्ष (वडा नं. ३) एकपटक माइकिङ गर्दै आउनुभएको थियो। नत्र यतिका दिनसम्म सरकारका प्रतिनिधि कोही यो टापुमा आएका छैनन्।’
मेचीपारिका सबै बासिन्दा खेती किसानी गर्छन् र आर्थिक हिसाबमा कमजोर छन्।। मजदुरी गर्न हिँड्न नपाएपछि यहाँका अधिकांशमा आर्थिक संकट सुरु भएको छ। खाद्यान्न किन्न जान पनि सजिलो छैन। नेपाल जान पनि समस्या भारत जान झनै समस्या छ। यतिसम्म कि मेचीपारि पुगेका गाईवस्तु लिन जाँदा मेची खोला छेउमा बसेका नेपाली प्रहरीले थर्काउँछन्। राधा खनालले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेकी छिन् ।