सीमा नाका खुलेपनि भारतीय पक्षबाट अवरोध कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सीमा नाका खुलेपनि भारतीय पक्षबाट अवरोध कायमै

जनकपुरधाम । कोरोना महामारी कारण डेढ वर्षदेखि बन्द रहेका सीमानाकाहरू खाेल्ने सरकारले निर्णय गरे पनि प्रदेश २ का जिल्लाका मुख्य नाकाहरू अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

पर्सा र रौतहटमा केही नाकाबाट भारतीय गाडीहरू आउने र जाने गरेपनि सिरहा, सप्तरी, महोत्तरी, धनुषालगायतका जिल्लाको नाकाबाट भारतीय गाडीसमेत आवत–जावत गरेको देखिदैन ।  धनुषाका जटही, महोत्तरीको भिट्ठामोडमा नाकाहरूको भारतीय एसएसबीले नेपालीलाई मोटरसाइकल चढेर पनि भारतीय बजार जान दिएकाे छैन ।

माथिबाटै सवारी साधन आवत–जावत गर्न नदिने निर्देशन आएको जटही नाकामा खटेका एक भारतीय एसएसबीले बताए । उनले भने, ‘नेपाल सरकारले बोर्डर खोलेको छ । तर हामीलाई हाम्रो पक्षबाट नाका खुल्ला गर्न अहिलेसम्म निर्देशन आएको छैन । विहारमा ग्रामपंचायतको निर्वाचन भइरहेकोले पनि सीमामा कडाई गर्न निर्देशन आएको छ ।’ 

धनुषा प्रशासनले भारतीय नागरिकले स्वास्थ्य मापदण्ड अपनाएर आउन सक्ने बताएको छ । तर मापदण्ड पालना गरेर आउनेको संख्या न्यून छ । धनुषाको मुख्य नाका हो जटही । तर अहिले सुनसान छ । न नेपाली सवारीहरू भारत जाने गरेको देखिन्छ, न भारतीय सवारीहरू नेपाल आउँदै गरेको ।

सीमाको अवस्था हेर्दा नेपाल र भारतबीच समन्वयको अभाव देखिन्छ । सिरहाको नाकाहरू पनि पूर्णरुपमा सञ्चालनमा आएको छैन । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले भने, ‘हाम्रो तर्फबाट सीमा नाका खुल्ला छ । तर भारततर्फबाट अवरोध भइरहेको छ । उहाँहरूले कुन कारणले अवरोध गरिरहेको ? यो विषयमा पराराष्ट्र मन्त्रालयले पहल गनुपर्छ ।’

नाकाबाट यात्रुबाहक सवारीहरू आवत–जावत नहुँदा सर्वसधारण समस्यामा परेका छन् । दशैंका बेला एउटा नाकाबाट मात्रै दैनिक हजारौं नेपाली मजदुर फर्किन्छन् । तर गाडी नचल्दा पैदल यात्रा गर्न बाध्य छन् । सवारी नचल्दा व्यवसायीसमेत मर्कामा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);