काठमाडौँ, १२ चैत । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन झापाको बुद्धशान्ति गाउँपालिकाले नेपालभन्दा बाहिरबाट आएका आफ्ना नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई घरघरमै खटाएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टेड इक्युपमेन्ट (पिपीइ) र माक्स लगाएर उनीहरुको स्वास्थ्य परीक्षण गरिरहेको गापा अध्यक्ष रमेश भुजेलले बताउनुभयो । उहाँका अनुसार गापाका विभिन्न वडामा कतार, दुबई, इटाली र बैङ्लोरबाट आएका व्यक्ति छन् ।
“हामीले १० थान पिपीइ काठमाडौँबाट मगाएर सुरक्षित तवरले स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटाएका छौँ”, उहाँले भन्नुभयो, “दुई दिनभित्रमा २० जना विदेशबाट आएका व्यक्ति सम्पर्कमा आएका छन् । उनीहरुको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको छ र बैङ्गलोरबाट आएका छ विद्यार्थीलाई एउटा खाली घरमा क्वारेन्टाइन बनाएर राखेका छौँ ।”
अध्यक्ष भुजेलले सार्वजनिकस्थल तथा सवारी आवागमन हुने स्थानमा क्लोरिन (किटनाषक औषधि) छर्कन आवश्यक रहे पनि औषधि अभावमा छर्न नसकेको बताउनुभयो ।