काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिनको अवसर पारेर जन्मथलो तेह्थुमको आठराई पुग्नु भएको छ । प्रधानमन्त्री ओली आज आफनो जन्मथलो तेह्थुमको आठराई गाउँपालिका–४ इवामा रहेको आफनो जन्मथलो पुग्नु भएको हो ।
आठराई जानुअघि ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान जन्मदिन मनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले आइतबार बिहान बालुवाटारमा केक काटेर आफनो ६९ औं जन्मदिन मनाउनुभएको हो ।
प्रधानमन्त्री ओली आठराइमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्रीको ६९ औं जन्मदिनमा आठराई गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्री ओलीले आठराईको सुकेपोखरीबाट जन्मथलो इवा हुँदै मदन भण्डारीको जन्मस्थान ढुंगेसाँघुबाट ताप्लेजुङको दोभान जोड्ने १ सय किलामिटर दूरीको मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रम छ।
त्यसैगरी ओलीले आठराई क्षेत्रका ७० वर्ष कटेका ४ सय जेष्ठ नागरिकलाई सम्मान गर्ने र गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जनाइएकोछ ।