काठमाडौं, २१ माघ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद निरु देवी पालले सुदूरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौति दिनुभयो ।
उहाँले भन्नुभयो “डलर खेती गर्नेहरुको टाउको दुखाई गर्नु स्वभाविक हो किन भने घरहरु देखाएर आयस्रोत बटुल्ने प्रयास थियो । अरुको टाउको दुखाई हुनु पर्नुको कारण मैले बुझ्न सकेकी छैन । त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाई हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाईदिनुहुन अनुरोध गर्दछु । सुुदुरपश्चिमेली कर्णालीकाहरुले टाउको उठाईरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”
सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबार सम्म सुदुरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ ।
केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गर्नुभएको थियो ।




