काठमाडौ, ३० भदौ । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले शक्ति केन्द्र धाउनेलाई न्यायाधिश नबनाउने चेतावनी दिएका छन् । प्रधानन्यायाधिश पराजुलीले शक्ति केन्द्रबाट परिचालित हुनेलाई आफूले न्यायाधिश बनाउन नसक्ने स्पष्ट पारे ।
शुक्रबार वरिष्ठ न्यायाधिशहरुको प्रमाण पत्र वितरणका लागि काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शक्ति केन्द्रमार्फत् न्यायाधिश हुने लालचा नराख्न पनि सचेत गराए । प्रधानन्यायाधिश पराजुलीले न्यायाधिश नियुक्त हुने आधार शक्ति केन्द्र नभई विधि र प्रद्धति भएको बताए ।
प्रधानन्यायाधिश पराजुलीले न्यायालयलाई बलियो बनाउन विधि र कानुनी मान्यताप्रति समर्पित हुनुपर्ने आवश्यक्तामा जोड दिए । उनले निःश्वार्थ भएर कर्म गरे मात्रै सफलता हात लाग्ने कुरामा आफू सचेत रहेको उल्लेख गरे । प्रधानन्यायाधिश पराजुलीले न्यायालयलाई बलियो बनाउन कानुन व्यवसायीहरुसँग सहकार्य गरेरै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।




