काठमाडौं, १ चैत । माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले न्यायालयलाई बचाउन गम्भीर भएर सोच्न संवैधानिक परिषद, न्यायपरिषद र संघीय संसदको ध्यानाकर्षण गराएका छन् ।
उनले सक्षम, सवल, प्रभावकारी र निष्पक्ष न्यायालय बनाउनुपर्ने दायित्व राज्य संयन्त्रको भएको बताए । बिहीबार नागरिकताको जन्ममिति र शैक्षिक योग्यताको प्रमाण पत्रको विवादमा तानिएका गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधिश पदबाट राजीनामा दिईरहँदा सांसद बिडारीले न्यायालय बचाउनुपर्ने बेला आएको प्रतिक्रिया दिएका हुन्।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद बिडारीले सर्वोच्च अदालतका न्यायाधिशहरु आफैं विवादमा तानिनु न्याय हराउनु सरह भएको बताएका छन् । उनले प्रधानन्यायाधिशमाथि बढि अधिकार भएको होकि भन्ने अनुभूति आफूलाई भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको फैसला मान्ने अवस्था नरहेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले राजनीतिक नियुक्तीको आधारमा न्यायाधिश नियुक्ती गरिएका कारण न्यायालय आफै विवादमा तानिने अवस्था आएको तर्क गरे ।




