एजेन्सी, ५ पुस । भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनमा शुक्रबार थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो ।
प्रहरी धरपकडमा दर्जनौंको संख्यामा घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । नयाँदिल्ली, उत्तरप्रदेशका मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारसलगायतका ठाउँमा प्रदर्शन चर्किएको छ । सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन कायमै छ ।
प्रहरीको निषेधाज्ञा तोड्दै हजारौ नागरिक सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् । राजधानी दिल्लीमा विद्यालय र कलेज बन्द गरेर आज बिहानैदेखि विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।