काठमाडौं, १४ मंसिर । मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने कामलाई ढिलाई गर्न नहुने बताएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनको ३९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा शनिबार मजदुरहरुले सामाजिक सुरक्षा कोषमा तत्काल सहभागी हुनुपर्ने बताएका हुन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि आफुले काम गर्ने संस्थालाई दवाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिफन्ट अनुसन्धान निरीक्षण आयोगका अध्यक्ष विष्णु लम्सालले सामाजिक सुरक्षामा सहभागी भएमा श्रमिकहरुको भविष्य सुरक्षित हुने बताउँदै तत्काल कोषमा आवद्ध हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनका वरिष्ठ उपाध्यक्ष बंशी भट्टराईले श्रमिकहरुले लिंदै आएको उपदानलाई यथावत राख्ने सम्झौता गरेर सामाजिक सुरक्षामा सहभागी हुन आफुहरु तयार रहेको समेत बताउनुभयो ।
होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले सामाजिक सुक्षामा जाने विषयमा श्रमिक र व्यवसायीहरुबीच छलफल गरी समस्या समाधान गर्न सकिने बताउनुभयो ।
मजदुरहरुले होटल सञ्चालकहरुले ऐनमा दोहोरो कर बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै समाजिक सुरक्षा कोषमा नगएको आरोप समेत लगाएका छन् ।