सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय एक महिना थप | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय एक महिना थप

काठमाडौं, ७ कात्तिक । सरकारले योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो ।

ठूलो संख्यामा सूचिकरण हुन बाँकि रहेकाले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनका लागि एक महिना थप गर्ने निर्णय गरिएको कोषका प्रमुख कपिल ज्ञवालीलले जानकारी दिनु भयो ।

सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई सो कोषमा आवद्ध हुने मौका दिएको थियो ।

हालसम्म कोषमा ८ हजार ८१८ जना रोजगारदाताहरु सूचिकृत भएका छन भने सो कोषमा योगदान गर्नेहरुको संख्या १ लाख ९६८ पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकहरुको जीवन स्तरलाई माथि उठाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने निष्कर्षका साथ सरकारले सो कोषको कामलाई अघि बढाएकाले त्यसमा साथ दिन सबैलाई आग्रह गर्नु भयो ।

उहाँले सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेकाले यसबाट सरकार कुनै पनि हालत पछि हट्न नसक्ने पनि स्पष्ट पार्नु भयो । सरकारले गत श्रावण १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

ताजा समाचार